coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेयर, उपमेयरका कार्यालय खडा गर्दै महानगर

काठमाडौं – राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो मत गणना कार्य धमधम भइरहेको थियो । सुस्त गतिमा मत गणना हुँदा स्थानीय चुनाव भएको तीन दिन हुँदा पनि महानगरपालिकाको मेयर र उपमेयर को हुने भनेर टुंगो लाग्न सकेको छैन् ।

जनप्रतिनिधिका रुपमा लामो समयपछि भित्रिन लागेका मेयर र उपमेयरका लागि कार्यालय व्यवस्था गर्न भने महानगरपालिकाका कर्मचारी लागिपरेका छन् । ‘वडा अध्यक्षका लागि कार्यालय व्यवस्थाबारे सबै वडा कार्यालय प्रमुख (कर्मचारी) सँग छलफल भइसकेको छ,’ काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘मेयर र उपमेयरको कार्यालय व्यवस्था गर्न पनि जुटेका छौं ।’

ललितपुर, भरतपुर र पोखरा महानगरपालिकाले मेयर, उपमेयरका लागि कार्यालय खडा गरिसके पनि काठमाडौं महानगरपालिकाले आफ्नै भवन नहुँदा कार्यालय खडा गर्न सकिरहेको छैन् 

काठमाडौं महानगरपालिकाको बागदरबारस्थित कार्यालयमा भूकम्पले क्षति पुगेको छ । अहिले महानगरपालिका बागदरबार छेउमैै रहेको जेडिए कम्प्लेक्समा भाडामा बस्दै आएको छ । ‘महानगरपालिकाको आफ्नै भवन नहुँदा मेयर र उपमेयरलाई कार्यालय व्यवस्था गर्न अलि समस्या भएको छ,’ कार्यकारी प्रमुख पौडेलले भने, ‘तत्कालका लागि हामी बस्दै आएको कार्यालयमै मेयर र उपमेयरलाई राख्ने योजनामा छौं ।’ 

महानगरपालिकाका अनुसार अहिलेका कार्यकारी प्रमुखको कार्यालय मेयरके लागि र प्रशासन प्रमुखको कार्यालय उपमेयरका लागि मिलाउन लागिएको छ । केही समयलाई दुःखसुख गरेर काम चलाउने र चाँडै नै प्रिफ्याबकै भए पनि भवन बनाइने पौडेलले बताए।

त्यसैगरी मेयर र उपमेयरका लागि सवारी साधनको व्यवस्था पनि तत्कालका लागि महानगरपालिकामै रहेका गाडीबाट मिलाइनेछ । ‘अहिलेलाई जे छन् तिनैले काम चलाउँछौं,’ पौडेलले भने, ‘जनप्रतिनिधिहरू आएपछि उहाँहरूकै योजनाअनुसार हामी कार्यान्वयन गर्दै जानेछौं ।’ महानगर स्रोतले भने मेयर र उपमेयरका लागि गाडी खरिद प्रक्रिया अघि बढाइएको जनाएको छ ।

ललितपुरमा चिटिक्क पारियो 
ललितपुर महानगरपालिकाले भने मेयर र उपमेयरका लागि कार्यालय व्यवस्था गरिसकेको जनायो । ‘पहिला मेयर, उपमेयर बस्ने कोठा रङरोगन गरेर सजावट गरेका छौं,’ महानगरपालिकाका प्रवक्ता रुद्र गौतमले भने, ‘वडा अध्यक्षलाई समेत बस्ने कोठा व्यवस्था गरिसकेका छौं ।’ मेयर, उपमेयरदेखि वडाका पदाधिकारीलाई समेत कार्यालयका लागि कुनै समस्या नभएको उनले बताए । 

त्यसैगरी अहिले कार्यकारी प्रमुखले चढ्दै आएको सफारी गाडी मेयरका लागि व्यवस्था गरिएको छ । उपमेयरका लागि टोयटा गाडीको व्यवस्था गरिएको जानकारी गौतमले दिए। 

भरतपुरमा सजावट बाँकी
भरतपुर महानगरपालिकापनि मेयर र उपमेयरको कार्यालय खडा गर्न लागिपरेको छ । ‘पहिला मेयर, उपमेयर बसेको कोठामै नयाँ मेयर र उपमेयरलाई राख्ने विचारमा छौं,’ महानगरपालिकाका प्रमुख कार्याकारी अधिकृत पे्रमराज जोशीले भने, ‘कोठा तयारी नै छ, मिलाउन मात्रै बाँकी हो ।’ मेयर, उपमेयरका लागि गाडी पनि छन् । ‘मेयरलाई पहिलाकै गाडी छ,’ जोशीले भने, ‘उपमेयरलाई चाहिँ म आफैंले चढिरहेको गाडी छोडिदिनुपर्ला ।’ उनका अनुसार महानगरपालिकासँग टोयटा, प्राडो, टाटा सुमोलगायतका गाडी छन् । तत्कालका लागि तिनै गाडी मेयर र उपमेयरले  प्रयोग गर्ने उनले बताए ।

लेखनाथपोखरामा कार्यालय खडा
पोखरा लेखनाथ महानगरपालिकाले पनि मेयर र उपमेयर बस्ने कोठाको व्यवस्था गरिसकेको छ । ‘मेयर र उपमेयरका लागि कार्यालय व्यवस्था गरिसक्यौं,’ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले भने, ‘वडाध्यक्षलाई पनि मुख्य कार्यालयमै संयुक्त कार्यालय व्यवस्था गरेका छौं ।’ उनका अनुसार वडाध्यक्षलाई वडामा पनि कार्यालय व्यवस्था गरिएको छ । 

मेयर र उपमेयरका लागि एक/एकजना निजी सचिवको समेत व्यवस्था गरिसकेको पौडेलले जानकारी दिए । त्यस्तै मेयर र उपमेयरका लागि महानगरपालिकासँग रहेका गाडीबाट काम चलाइने छ । तर, कुन गाडी कसले प्रयोग गर्ने भनेर तोकिनसकेको उनले बताए ।

प्रकाशित: ३ जेष्ठ २०७४ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App