८ वैशाख २०८१ शनिबार
समाज

माग पुरा नभए औषधि आयात ठप्प पार्ने  आयातकर्ता संघको चेतावनी

काठमाडौँ – नेपाल औषधि आयातकर्ता सङ्घले यही जेठ ८ गतेसम्म आफ्ना १५ बुँदे माग पूरा नभए औषधि आयात ठप्प पार्ने जनाएको छ । 

सङ्घले स्वदेशमा उत्पादित औषधिभन्दा सस्तो र गुणस्तरका औषधि आयात गरिरहेको जनाउँदै सरकारले औषधिको मूल्य निर्धारण नगरी आयातमा प्रतिबन्ध नलगाउन सरकारसित आग्रहसमेत गरेको छ । गत वैशाख २६ गतेको मन्त्रिपरिषद्ले ३५ प्रकारका औषधि आयात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सङ्घले औषधि व्यवस्था विभागसमक्ष राखेका मागमा औषधि आयातमा सहजीकरण गर्नुपर्ने, औषधिको मूल्य निर्धारण नगरी औषधि आयातमा प्रतिबन्ध लगाउन नहुने, औषधिको दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्नेलगायत छन् । 

सङ्घका महासचिव पवन आचार्यका अनुसार सङ्घले १५० देखि २०० प्रकारका औषधि विभिन्न देशबाट आयात गर्छ । तीमध्ये ९० प्रकारका औषधि नेपाली बजारमा बढी खपत हुने गर्छ । 

सङ्घले विश्व स्वास्थ्य सङ्गठनका मापदण्ड तथा अमेरिकाको एमएचआरए, बेलायतको एफडिए तथा युरोपेली सङ्घको जिएमपीअनुसार नै गुणस्तरीय औषधि आयात गरिरहेको जिकिर गरेको छ । “स्वदेशी उद्योगबाट उत्पादन नभएका नयाँ नयाँ औषधि आयात गर्न प्रतिबन्ध लगाउँदा बिरामी र बिरामीका आफन्तले कहाँबाट औषधि ल्याउने ?” उनले प्रश्न गरे । 

यसैबीच सङ्घले मंगलबार औषधि व्यवस्था विभागमा आफ्ना माग पूरा गर्न विभाग अगाडि दुई घन्टा कालोपट्टी बाँधी धर्ना दिएको छ । रासस 

प्रकाशित: २ जेष्ठ २०७४ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App