coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपभोक्ताका भान्छामा घातक पानी

काठमाडौं- राजधानी उपत्यकाका झन्डै २५ प्रतिशत खानेपानी ट्यांकरले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने दूषित पानी बाँडिरहेको पाइएको छ। उपभोक्ताले वैकल्पिक स्रोतका रूपमा उपभोग गर्दै आएको ट्यांकरको पानीमा हानिकारक तत्व एमोनिया र आइरनको मात्रा उच्च भेटिएको हो।

उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैशाखमा उपत्यकाका चोक–चोक पर्खेर पानी बोकेका ट्यांकर तथा विभिन्न प्रशोधन केन्द्रबाट नमुना संकलन गरी परीक्षण गरेको थियो। ट्यांकरले बोकेको पानी र स्रोत दुवैका नमुनामा एमोनिया र आइरनको मात्रा धेरै पाइएको बोर्डले जनाएको छ। 'हामीले ९० नमुना परीक्षण गरेका छौं,' बोर्डका अनुमति तथा अनुगमन शाखा इन्जिनियर बोधराज दाहालले भने, 'झन्डै २५ प्रतिशत ट्यांकरले बोकेको पानीमा आवश्यकभन्दा बढी एमोनिया भेटिएको छ।'

बोर्डले उपत्यकाका विभिन्न चोकबाट खानेपानी ट्यांकरका ४० वटा नमुना संकलन गरेको थियो। सिधै ट्यांकरबाट संकलित नमुना परीक्षण गर्दा प्रतिलिटर १४ मिलिग्रामसम्म एमोनिया भेटिएको दाहालले बताए। विश्व स्वास्थ्य संगठनको मापदण्ड र सरकारकै ऐनअनुसार बढीमा प्रतिलिटर १.५ मिलिग्राम एमोनिया हुनुपर्छ। उपत्यकामा पानी वितरण गर्ने ट्यांकर व्यवसायीले भने अत्यधिक एमोनियायुक्त पानी खुलेआम बेचिरहेको परीक्षणबाट खुलेको छ।

उपत्यकाका ६ वटा नाकाबाट पानीका नमुना संकलन गरिएको थियो। रिङरोडबाट भित्री सहर छिर्ने नाका (बल्खु, कलंकी, बालाजु, महाराजगन्ज, चावहिल र सातदोबाटो) मा भेटिएका पानी ट्यांकरबाट नमुना लिइएको थियो।

बोर्ड नेतृत्वको टोलीले ती ट्यांकरले पानी ल्याउने स्रोतबाट पनि नमुना संकलन गरेको थियो। स्रोतबाट संकलित नमुनामा पनि एमोनियासँगै आइरनको मात्रा धेरै पाइएको प्रतिवेदनले आंैल्याएको छ। '१४ वटा स्रोतमा बढी मात्रामा एमोनिया भेटिएको छ,' दाहालले भने, 'ती स्रोतमा प्रतिलिटर १८ मिलिग्रामसम्म एमोनिया भेटिएको छ।' बोर्डले ६७ व्यवसायीका पानी प्रशोधन केन्द्रको नमुना परीक्षण गरेको थियो। 

चोभार, ठूलोभर्‍याङ, मूलपानी, बल्खु, बालाजु, मनमैजु, सीतापाइला क्षेत्रका स्रोतमा बढी मात्रामा एमोनिया भेटिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ। चोभारमा रहेको चक्रवर्थ, जलविनायक, मूलपानीको भैरव पानी सप्लायर्स, मनमैजुको बेत्रावती, ठूलो भर्‍याङको ठूलो भर्‍याङ वाटर सप्लायर्सको पानीमा एमोनिया परिमाण उच्च देखिएको छ। 

यी स्रोतमा मानव स्वास्थ्यलाई हानि गर्ने आइरन मात्रा पनि धेरै देखिएको छ। नमुना परीक्षण गरिएका पानीका स्रोतमध्ये ११ वटामा आइरनको मात्रा धेरै देखिएको दाहालले बताए। बढीमा ०.३ मिलिग्रामसम्म आइरनयुक्त पानी मात्र पिउन योग्य हुन्छ तर यी स्रोतमा प्रतिलिटर ५ मिलिग्रामसम्म भेटिएको छ।

पानी परीक्षण गर्दा स्यालो ट्युबवेलभन्दा डिप ट्युबवेल पानीमा धेरै मात्रामा एमोनिया भेटिएको दाहालले बताए। स्यालो र सतहको पानीका स्रोतमा एमोनियाको मात्रा धेरै नभएको प्रतिवेदनले देखाएको छ। डिप ट्युबवेेलबाट निकालिएको पानीभन्दा गोदावरी क्षेत्रमा सतहमा जम्मा भएको पानी तुलनात्मक रूपमा स्वस्थकर देखिएको छ।

उपत्यकाका विभिन्न सात (बालाजु, गोठाटार, चोभार, स्वयम्भू–सीतापाइला, जोरपाटी, गोदावरी र मातातीर्थ) क्षेत्रमा ती स्रोत छन्।

उपत्यकाका ट्यांकरले खानेपानी भनेर वितरण गर्ने पानी अस्वस्थ्य रहेको गुनासो आएपछि बोर्डले पानी ट्यांकर र स्रोतको स्थलगत अनुगमनसहित नमुना परीक्षण गरेको थियो।  

उपत्यकामा हाल लगभग २ सय व्यवसायीले ६ सय १० वटा खानेपानी ट्यांकर सञ्चालन गरिरहेका छन्। उनीहरूले उपत्यकाका विभिन्न ६५ स्रोतबाट पानी भरेर उपभोक्तालाई वितरण गरिरहेका छन्। उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघको तथ्यांक अनुसार यी ट्यांकरबाट दैनिक ४ करोड ८० लाख लिटर पानी वितरण भइरहेको छ।

पानीमा विभिन्न खालका तत्व हुने भएकाले डब्लुएचओ र नेपाल खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार शरीरलाई हानि गर्ने २७ वटा तत्व मापदण्डभन्दा बढी हुनुहुँदैन। पिउन हुने भनेर वितरण गरिएको पानीमा ती तत्व बढी मात्रामा भेटिए कारबाही हुन्छ।   

के हो एमोनिया?

पानी गुणस्तर विशेषज्ञ भोलानाथ पौडलेका अनुसार एमोनिया पानीमा हुने एक प्रकारको तत्व हो जुन बढी भए स्वास्थ्यलाई हानि गर्छ। एमोनियाले तत्कालै असर नदेखाए पनि निरन्तर पिइरहे १०–१५ वर्षपछि शरीरमा विभिन्न रोग देखिन्छ। विज्ञहरू एमोनिया भएको पानी पिउन नहुने बताउँछन्। एमोनिया भएको पानी पिए रगतमा अक्सिजन 'डिफिसेन्सी' गराउँदा रगतमा निलोपन ल्याउने, बालबालिका, गर्भवती महिला, शल्यक्रिया गरेका बिरामीलाई छिटो असर गर्ने पौडेलले बताए।

उपत्यकामा केही पानी ट्यांकरले राम्रो पानी वितरण गरिरहे पनि धेरैजसोले राम्रोसँग प्रशोधन नगरेको पानीविज्ञको भनाइ छ। पौडेलका अनुसार उपत्यकामा उपलब्ध कुनै पनि प्रशोधन प्रविधिबाट एमोनिया हटाउन सकिँदैन। धेरै महँगो पर्ने भए पनि प्रशोधन गरेर मात्र पिउनुपर्ने उनले बताए। काठमाडौंका स्यालो र डिप ट्युबवेलबाट निकालिएको सबै पानी पिउनयोग्य नभएको विज्ञको भनाइ छ। 'टि्रटमेन्ट' नगरिएको पानी ज्यादै खतरनाक भएकाले घरमा पनि राम्ररी शुद्धीकरण गरेर मात्र पिउनुपर्ने सुझाव विज्ञले दिएका छन्।

प्रकाशित: ३ श्रावण २०७३ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App