८ वैशाख २०८१ शनिबार
राजनीति

निगम कार्यकारीमा मन्त्रीको ठाडो प्रस्ताव

काठमाडौं- सरकार आफैं धरमरको स्थितिबाट गुजि्ररहेका बेला पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वमहाप्रबन्धक मदन खरेललाई नियुक्त गर्न मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेका छन्।

निगम सञ्चालक समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने अभ्यास छ। पर्यटनसचिव प्रेमकुमार राई हाल देशबाहिर छन्। मन्त्रिपरिषद्मा सचिवले प्रस्ताव लैजाने प्रावधान भए पनि मन्त्री पोखरेलले उनी नभएको मौकामा गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ठाडो प्रस्ताव लगेका थिए।

मन्त्री पोखरेलले प्रस्ताव लिएर जाँदा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार पनि देशबाहिर थिए। उनी बेलायतमा आयोजना भएको 'फार्नबोरो इन्टरनेसनल एयर सो' मा सहभागी हुन त्यहाँ पुगेका थिए।

'पर्यटनमन्त्री पोखरेलले निगमकै पूर्वमहाप्रबन्धक खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेका छन्,' पर्यटन मन्त्रालय उच्चस्रोतले आइतबार नागरिकसँग भन्यो, 'उनको प्रस्तावप्रति मन्त्रिपरिषद्का केही सदस्यले आपत्ति जनाएका थिए। त्यसपछि थाँती रहेको उक्त प्रस्तावलाई मन्त्री पोखरेलले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पुनः लबिङ गर्दै छन्।'

निगम कार्यकारी अध्यक्षमा खरेललाई नियुक्त गर्ने प्रस्ताव तयार गर्न मन्त्री पोखरेलले सचिव राईलाई निर्देशन दिए पनि उनले अस्वीकार गर्दै आएको सम्बद्ध स्रोतले बतायो। त्यसपछि मन्त्री पोखरेल आफैं ठाडो प्रस्ताव लिएर मन्त्रिपरिषद् पुगेका थिए। 

स्रोतका अनुसार पोखरेल पर्यटनमन्त्री भएर आएको दिनदेखि नै महाप्रबन्धक कंसाकारलाई हटाउने दाउमा थिए। कंसाकारलाई सुशील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ १४ गते चार वर्षका लागि निगम महाप्रबन्धक नियुक्त गरेको थियो। त्यसअघि पनि उनले महाप्रबन्धक र कार्यकारी अध्यक्ष भएर निगमको नेतृत्व गरेका थिए।

उनकै कार्यकालमा युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग एकथान 'ए३२०–२००' न्यारो बडी र एक थान 'ए३३०–२००' वाइड बडी जहाज खरिद गर्ने निर्णय भई एयरबसलाई बैनासमेत पठाइएको थियो। यसमा भ्रष्टाचार भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले निर्णय खारेज गराउन सरकारलाई निर्देशन दिएपछि जहाज खरिद प्रक्रिया तुहिएको थियो।

त्यसपछि कंसाकारसहित ६ उच्च अधिकारी जेलसमेत जानुपरेको थियो। तर, त्यसको सात वर्षपछि खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि महाप्रबन्धक नियुक्त भएका खरेलले कंसाकारकै पालामा भएको जहाज खरिद प्रक्रियालाई निरन्तरता दिँदै एयरबससँग दुई थान ए३२० जहाज खरिद सम्झौता गरेका थिए।

त्यसपछि २०७१ माघ २५ मा पहिलो ए३२० जहाज काठमाडौं आएको थियो। जहाज आएर उडान थालेको १०औं दिन 'ग्राउन्डेड' हुन पुगेको थियो। पाइलट अभाव, प्राविधिकलगायत कारण जहाज थन्किन पुगेको थियो।

मन्त्री पोखरेलले कार्यकारी अध्यक्ष नियुक्त गर्न प्रस्ताव गरेका खरेल २०४२ सालतिर निगम प्रवेश गरेका हुन्। उनी महाप्रबन्धक हुनुअघि कमर्सियल डाइरेक्टर (१० तह) मा कार्यरत थिए। सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने भएपछि उनी कमर्सियल डाइरेक्टरबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका थिए।

२०६९ मंसिर दोस्रो साता प्रतिस्पर्धाबाट चार वर्षका लागि निगमको महाप्रबन्धक छानिएर आएका खरेलले काम सुरु गरेको २७ महिनामै राजीनामा दिएका थिए। खरेलले २०७१ चैत १ गते निगम सञ्चालक समिति र पर्यटन मन्त्रालयमा बुझाएको राजीनामापत्रमा 'स्वास्थ्यका कारण एक महिनाका लागि बिदा बस्ने र त्यसपछि लागू हुने गरी राजीनामा दिएको' उल्लेख छ।  

वर्तमान महाप्रबन्धक कंसाकार सात वर्षअघि महाप्रबन्धक हुँदा खरेल आठ तहमा कार्यरत थिए। सरकारको माथिल्लो तहबाट बिनाव्यवधान काम गर्ने 'वातावरण बिगारिनु' र निरन्तर राजनीतिक हस्तक्षेप बढेपछि बाध्य भएर राजीनामा दिनुपरेको त्यस बेला खरेलले निकटस्थलाई बताएका थिए। राजीनामा दिनु केही महिनाअघि निगम सञ्चालक समिति अध्यक्षमा सरकारले शिवशरण न्यौपानेलाई नियुक्त गरेपछि खरेल थप असन्तुष्ट थिए।

'त्यस बेला आफूभन्दा माथि अर्को व्यक्ति नियुक्त गरिनु र सरकारको माथिल्लो निकायबाट काम गर्ने वातावरण बिगारी निरन्तर हस्तक्षेप भएको गुनासो गरेका खरेल अहिले आफैं कार्यकारी अध्यक्ष हुन दौडधुप गर्नु लज्जास्पद हो,' निगमका एक उच्च अधिकारीले भने, 'निगम अहिले २५ अर्ब रुपैयाँ हाराहारीमा दुई थान ए३३० वाइड बडी जहाज खरिद गर्ने प्रक्रियामा छ। खरेल र मन्त्री पोखरेलले यही मौकामा चौका हान्न खोजेको हाम्रो बुझाइ छ। यो भनेको ठाडो राजनीतिक हस्तक्षेपको नमुना हो, बिस्तारै सुधि्रँदै गएको संस्था धराशायी बनाउने खेल हो।'

प्रकाशित: ३ श्रावण २०७३ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App