coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नवराज पाठक हत्या प्रकरण : परिवार विचल्लीमा

नवराजकी ८५ वर्षीया फुपु र आफन्तजनको पीडा

बनेपा – शनिबार राती सशस्त्र प्रहरीको गोलीबाट मारिएका नवराज पाठकको घरपरिवारमात्रै नभई नमोबुद्ध–४, सिद्धिविनायक बस्ती नै शोकमा डुबेको छ ।

‘मेरो दाइको गल्ती के थियो र ? ज्यान नै लिनु पर्ने अवस्था आयो ? यसको जवाफ राज्यले दिनैपर्छ’, नवराजका भाइ युवराजले भने ।

प्रहरीको गोलीबाट छोराको मृत्यु भएको खबर सुनेलगत्तै बेहोस भएकी आमाको मेथिनकोट अस्पतालमा उपचार भइरहेको छ । युवराज आमाको हेरचाहमा व्यस्त छन्।

आइतबार बिहान सिद्धिविनायकस्थित घरमा पुग्दा नवराजकी ८५ वर्षीया फुपू बालकुमारी सिलवाल शोकमा थिइन् । रुँदा रुँदा उनका आँसु सुकेका थिए । घरि आँखा चिम्लिनथिइन्, घरि यताउति आँखा डुलाउँथिन् ।‘पोहोरमात्रै मेरो चौरासी पूजा गरायो । अब मलाई कसले हेर्छ’, भक्कानिँदै सिलवालले भनिन् ।

नवराजका बाबु भवनाथ काभ्रेकै सस्र्युंखर्कबाट दिदी बालकुमारी सिल्वालको मेथिनकोटस्थित सिद्धिविनायक बस्तीस्थित दिदी(बालकुमारी)को घरमा ३० वर्ष अगाडि बसाइँ सरेर आएका थिए । उनै दिदीको स्याहारसुसार र परिवारको हेरचाह गर्दै आएका भवनाथको तीन वर्ष अघि निधन भएको थियो ।

बुवाको निधनलगत्तै नवराजको काँधमा घर व्यवहारका साथै फुपू, आमा, एक भाइ र तीन दिदी बहिनीको स्याहारसुसराका तथा शिक्षादीक्षाको जिम्मेवारी आयो । भान्जा भान्जीलाई पनि घरमै राखेर पढाउँदै आएका थिए ।

उनी आफू खेती किसान गर्थे । ट्रयाक्टर जोत्ने र वाटर पम्प सञ्चालन गर्दै खेती किसानीका लागि गाउँलेलाई सघाउँथे ।

एक वर्ष अघिमात्रै नुवाकोटकी बिन्दासँग विवाह गरेका नवराजको हालैमात्र पहिलो सन्तान भएको थियो । घटना हुँदा नवराजकी पत्नी घरमा थिइनन् । सुत्केरी बस्न माइती गएकी थिइन् ।

‘बुबाकोसमेत माया दिएर हामीलाई हुर्काउनु भएको दाइको निधनपछि ४० दिनको भतिजो टुहुरो भएको छ । सुत्केरी बस्न जानु भएको भाउजुलाई अब कसरी सम्झाउनु, एकातिर आमा अझै बेहोस हुनुहुन्छ’, भाइ युवराजले भने ।

भूकम्पले भत्किएको घरमा गुजारा गर्दै आएका उनीहरू यो वर्ष घर बनाउने योजनामा थिए । भाइ युवराजले सुनाए, ‘सबै कुरा दाईसँगै गयो । अब कसरी घर बनाउने ? कसरी परिवार चलाउने ?’, युवराजले थपे ।

कुनै बिराम नगरेको मान्छेले अकालमै ज्यान गुमाउनु पर्दा सारा गाउँ रोएको छ । नौला मान्छे गाउँमा आए कि सबै सुँक्सुकाउन थाल्छन् । ‘भगवानले चुँडेर लगेको भए सबैको चित्त बुझ्थ्यो । राज्य नै हत्यारो बन्यो । सारा गाउँ रोएको छ । कसैको आँसु थामिएको छैन,’ छिमेकी भीमप्रसाद चिमौरियाले भने ।

यसैबीच गृह मन्त्रालयले नमोबुद्धका राजनीतिक दलहरूले राखेका मागका सम्बोधन गरी जानकारी पठाएको काभ्रेका प्रजिअ शिवप्रसाद सिंखडाले जानकारी दिए ।

‘घटनाको छानविन समिति गठन, क्षतिपूर्तिवापत नजिकको हकदारलाई १० लाख रुपैयाँ, मृतककी पत्नीलाई रोजगारी र शिशुको निःशुल्क अध्ययनलगायतमा राज्यले सहयोग गर्ने र मन्त्री परिषद्बाट अनुमोदन गराउने भनि गृहबाट निर्णय भइआएको छ’, उनले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले नमोबुद्ध–४ को जनक मावि केन्द्रमा स्थगित रहेको निर्वाचन कार्य सम्पन्न गराउनका लागि सरोकारवालासँग विभिन्न चरणमा छलफल भइरहेको जनाएको छ ।
 

प्रकाशित: २ जेष्ठ २०७४ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App