७ वैशाख २०८१ शुक्रबार
समाज

विद्युत अवरुद्ध हुँदा निर्वाचनको परिणाम थाहा पाउन सकस, स्थानीय आक्रोशित

खोटाङ – विद्युत अवरुद्ध हुँदा स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट बञ्चित हुनु परेको भन्दै खोटाङका स्थानीय आक्रोशित बनेका छन् । 

विद्युत अवरुद्ध हुँदा प्रदेश नम्बर ३, ४ र ६ को स्थानीय तहको मत परिणामका विषयमा जानकारी लिन समस्या भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । 

तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा टिभी, मोबाइल, रेडियो लगायतका सञ्चार उपकरण ठप्प हुँदा चुनावको परिणामका विषयमा जानकारी लिन असहज भएको रुपाकोट मझुवागढी नगरपालिका–५ दिक्तेल लुछिमका स्थानीय दिनेश आचार्यले बताए । ‘बीस वर्षपछि भएको निर्वाचन । हामीलाई यस विषयमा सबैलाई चासो छ,’ आचार्यले भने, ‘विद्युत नहुँदा न टिभी चल्छ, न रेडियो ।’ टिभी, एफएम र अनलाइनले अधिकांश मतदानको परिणामका विषयमा ताजा जानकारी गराइरहेको भएपनि हेर्न र देख्न नपाएको स्थानीयको गुनासो छ । मत गणना सुरु भएसँगै सर्वसाधारणमा ‘कुन ठाउँमा कुन पार्टीको जित होला’ भन्ने चासो बढेको छ । 

खोटाङमा तीन दिनदेखि दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइन अवरुद्ध भएको छ । पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता हैरान बनेका छन् । केही दिन विद्युत आउने र केही दिनमै जाने समस्याका कारण विद्युत अवरुद्ध हुँदा जिल्लाका ४० बढी गाविसका स्थानीय मारमा परेका छन् । वैशाख सुरु भए यता हप्ताको अधिकांश समयमा विद्युत अवरुद्ध हुने गरेको उपभोक्ताको गुनासो छ ।  

विद्युत अभावमा जिल्लामा फोन, इन्टरनेट समेत राम्ररी नचल्दा जनजीवन प्रभावित भएको छ । कतिपय विद्युतीय काम जेनेरेटरका भरमा सञ्चालन भइरहेको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईन विस्तार गरिएको ओखलढुंगाका उपभोक्ता समेत मारमा परेका छन् । वैशाखको पहिलो साता र चैत्र अन्तिम साता पनि तीन/चार दिनसम्म विद्युत ठप्प भएको थियो ।

पटक–पटक विद्युत अवरुद्ध हुने समस्य हल गर्नका लागि स्थानीयले वैसाख १९ गते जिल्ला प्रशासन कार्यालय समक्ष माग राखे पनि समस्या दोहोरिन छाडेको छैन । महिना दिन यता लोडसेडिङ बाहेकका समयमा पनि दैनिकजसो विद्युत अवरुद्ध हुँदा जिल्लाको व्यापार व्यवसाय तथा जनजीवनमा असर पुगेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । विद्युत अवरुद्ध हुने बित्तिकै टेलिफोन समेत ठप्प हुने समस्याले स्थानीय आजित छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको गलत नियतका कारण पटक पटक विद्युत अवरुद्ध हुने गरेको स्थानीयको आरोप छ । 
 

प्रकाशित: १ जेष्ठ २०७४ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App