७ वैशाख २०८१ शुक्रबार
खेल

आइपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं– राइजिङ पुने सुपरजायन्टले किङ्स–११ पन्जाबलाई ९ विकेटले हराएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । 

प्लेअफमा अब अंकतालिकाको शीर्ष टोली मुम्बईले पुनेसँग खेल्नेछ । त्यस्तै सनराइजर्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । पन्जाबलाई आइतबार पुनेले ७३ रनमा अलआउट गरेको थियो । जुन पन्जाबले आइपिएल क्रिकेटमा बनाएको सर्वाधिक कम स्कोर हो ।

 जबाफमा पुनेका अजिन्क्या रहाने र कप्तान स्टिभ स्मिथले अविजित रहँदै पन्जाबले दिएको झीनो रनको विजयलक्ष्य पूरा गरे । पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई गुमाएको पन्जाबका तर्फबाट कुनै पनि खेलाडीले क्रिजमा आत्मविश्वासका साथ खेल्न सकेनन् । 

२२ रन जोडेका अक्षर पटेल नै पन्जाबका लागि सर्वाधिक रन बनाउने खेलाडी रहे । प्लेयर अफ द म्याच जयदेव अनाडकटले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए । शार्दूल ठाकुरले ३ विकेट, अदाम जाम्पा र डानियल क्रिजटायनले २ विकेट लिए । 

जबाफमा पुनेका ओपनर रहानेले अविजित ३४ रन बनाए । उनले ३४ बलमा १ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर राहुल त्रिपाठीले २८ रन बनाए । त्रिपाठीले २० बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान स्मिथ १८ बलमा १५ रन बनाएर अविजित रहे । पुनेका कप्तान स्मिथले बलरले सानदार रूपमा आफनो जिम्मेवारी पूरा गरेको बताए । ‘आज हाम्रा लागि राम्रो दिन हो । आज टस जित्नु पनि हाम्रा लागि सुखद पक्ष थियो ।  मैले सहजै फिल्डिङ गर्ने निर्णय लिएँ । शार्दूलले आज अविश्वनीय रूपमा राम्रो गरे । 

अनाडकटले फेरि अविश्वनीय रूपमा विकेट लिए,’ स्मिथले भने, ‘हाम्रो टोलीमा नयाँ खेलाडीले राम्रो गरिरहेका छन् । टोलीमा राम्रो समन्वय भएको छ । दोस्रो भएर प्लेअफमा पुग्नु साँच्चिकै खुसीको कुरा हो । हामीसँग स्टोक्सको स्थानमा वैकल्पिक बलर पनि राम्रो पाएको छौं । स्टोक्स प्रभावशाली बलर हुन् । अन्य खेलाडीले राम्रो गर्नु झन् खुसीको कुरा हो ।’

खाता खोल्न नसकेर आउट भएका पन्जाबका कप्तान ग्लेन म्याक्सवेलले टस हार्नुले पनि खेलको नतिजामा असर गरेको बताए । ‘केही दिनयताको वर्षाका कारण विकेट ओसिलो थियो । त्यो अवस्था मात्र हो । तर हामीविरुद्ध धेरै कुरा भएका छन् । जसलाई हामीले रोक्न सकेनौं । हामीले पछिल्ला पाँच खेलमा टस हारेको छौं । टसले धेरै कुराको निर्णय गर्छ,’ म्याक्सवेलले भने, ‘अन्तिममा हामीले खेल जित्न सकेनौं । जुन महत्वपूर्ण थियो । यसबाट सकारात्मक रूपमा पाठ सिक्नुपर्छ । पछिल्ला पाँचमध्ये चारमा हामीले उत्कृष्ट खेलेका छौं । अक्षरले असाधारण रूपमा बल, ब्याट  र फिल्डिङमा प्रदर्शन गरे । समर्थनका लागि दर्शकलाई धन्यवाद दिन चाहन्छु।’ 

प्रकाशित: १ जेष्ठ २०७४ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App