लन्डन – एलेक्स सान्चेजले उत्कृष्ट प्रदर्शन गरेको दिन शनिबार आर्सनलले स्टोक सिटीमाथि ४–१ को सहज नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा रहेर अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवित राखेको छ ।
४२औं मिनेटमा ओलिभर जिरौडले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । उनले हेक्टर बेलेरिनको पासलाई पोस्टको दिशा दिएका थिए । ५५औं मिनेटमा सान्चेजको पासमा मेसुट ओजिलले आर्सनलको अग्रता दोब्बर पारे ।
६७औं मिनेटमा पिटर क्राउचले मार्को अर्नाटोभिचको पासमा गोल गर्दै स्टोकलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर हातलाई छुँदै बलले जाली चुमेपछि उक्त गोल विवादास्पद बनेको थियो ।
७६औं मिनेटमा बेलेरिनको पासमा गोल गर्दै सान्चेजले आर्सनलको अग्रता बढाए । प्रिमियर लिगमा सान्चेजको यो ५०औं गोल हो । तर तिघ्रामा सम्स्या देखिएपछि दोस्रो हाफमा उनी मैदान छाड्न बाध्य भएका थिए ।
त्यसको ४ मिनेटपछि नै जिरौडले गोल गर्दै आर्सनलका लागि महत्वपूर्ण तीन अंक पक्का गरे । उनले एरोन सामसेको पासलाई गोलमा परिणत गरेका थिए ।
यस जितपछि ३६ खेलको समाप्तिमा ८९ अंक जोडेको आर्सेन वेंगरको टोली पाँचाैं स्थानमा यथावत् छ । जुन समान खेल खेलेको चौथो स्थानको लिभरपुलभन्दा मात्र १ अंक कम हो भने तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंक कम हो।
आर्सनलले मंगलबार रेलिगेसनमा परिसकेको सन्डरल्यान्ड र अन्तिम खेल घरेलु मैदानमा एभर्टनविरुद्ध खेल्दै छ ।
‘स्टोकजस्तो टोलीको भ्रमणमा निस्कँदा खेलको कुनै समय दबाबमा पर्नु स्वाभाविक हो । त्यस्तो बेला सम्पूर्ण टोली एक हुन आवश्यक छ । आज हामीले त्यही गर्याैं’ आर्सनलका प्रशिक्षक वेंगरले भने, ‘फिजियोथेरापिस्टले मलाई एलेक्स सान्चेज मैदानबाहिर आउन चाहेको कुरा बताएका थिए । उनलाई के भएको मलाई थाहा थिएन तर, उनी एक निडर खेलाडी हुन् त्यसैले उनले गोलका लागि अवसर सिर्जना गर्नुका साथै एक उत्कृष्ट गोलसमेत गरे ।’
यता फर्नान्डो लोरेन्टे र केली नगटनको गोलपे्ररित स्वान्सी सिटीले सन्डरल्यान्डमाथि २–० को नतिजा निकाल्दै रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ ।
नवौं मिनेटमा लोरेन्टेको गोलमा स्वान्सीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा नगटनले गोल गर्दै स्वान्सीको अग्रता दोब्बर पारेका थिए । ३७ खेलको समाप्तिमा ३८ अंक जोडेको स्वान्सी रेलिगेसन क्षेत्रभन्दा ४ अंक माथि छ ।
‘यो हाम्रो लागि धेरै महत्वपूर्ण नतिजा हो,’ स्वान्सीका प्रशिक्षक पाउल क्लेमेन्टले भने, ‘हामीले आफूलाई बलियो स्थानमा उभ्याएका छौं तर सिजन सकिएको छैन ।’
स्वान्सीले अन्तिम खेलमा सिजनको अन्तिम दिन वेस्ट ब्रोमसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबारै सम्पन्न अर्को खेलमा साउथह्यामटनले मिडल्सब्रोलाई २–१ ले पराजित गर्दा बर्नामाउथले बर्नलीलाई २–१ ले पराजित गर्याे ।
प्रकाशित: १ जेष्ठ २०७४ ०२:२४ सोमबार