६ वैशाख २०८१ बिहीबार
राजनीति

हिसांकाबीच दोलखामा चुनाव

पवटीमा प्रहरीको गोली लागेर घाईते। तस्बिर: रमेश

दोलखा- एक जनाको ज्यान जाने गरी भएको घटना सहित केही स्थानमा झडप र हिंसाबीच दोलखामा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ।

२ नगर र ७ गाउँपालिकाका ७४ वडा मध्ये ७ वडामा प्रहरीले गोली चलाउनुका साथै दलका कार्यकर्ताबीच बिहानै देखी झडपका घटना भए। अन्य वडा र गाउँपालिकाहरुमा शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न भएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले जनाएका छन्। 

दक्षिणी गाउँको एउटा मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ। जिल्लाका दुई स्थानमा प्रहरीको गोली लागेर १२ जना घाईते भएका छन भने दलका कार्यकर्ताबीच भएको झडपमा परी १० जना घाईते छन्। १४ जनालाई हेलीकप्टरबाट राजधानी लगिएको छ।

प्रहरीको गोली लागेर मेलुङ गाउँपालिकाको १, स्थित पवटीमा एक जना कांग्रेस कार्यकर्ताको ज्यान गएपछि त्यहाँको चुनाव स्थगित भएको छ।

आईतबार दिउँसो मतदानको समयमा पवटी स्थित सत्येश्वर उच्च मावि मतदान केन्द्रमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते छन्। घाईतेहरुलाई उपचारका लागी राजधानी लगिएको छ।

दिउँसो मतदान चलिरहेको बेला करिब ३:३० बजे कांग्रेस कार्यकर्ता र मतदानमा खटिएका कर्मचारी साथै सुरक्षाकर्मीबीच २ सय ओटा मतपत्रमा एकै पटक हस्ताक्षर गरेर मतदान अधिकृतले त्यहाँ पुगेका ‘मोबाईल’ टोलीका सुरक्षा कमाण्डर प्रहरी ईन्सपेक्टरको प्रभावमा एमाले मार्फत मतदान केन्द्र  कब्जा गराउन खोजेको आरोपमा चुलिएको विवाद हिंसामा परिणत भएको थियो। विवाद बढ्दै गएपछि कांग्रेसका कार्यकर्ताले मतदान स्थल र मतपेटिका तोडफोड गरेका थिए ।

गोली लागेर कांग्रेस कार्यकर्ता नकुल भनिने डम्बरबहादुर भुजेलको ज्यान गएको छ। टाउकोमा गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाईते भएका ११ जनालाई राजधानी लगिएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले घटना बारे छानविन भईरहेको बताए। ‘कर्मचारी र सुरक्षाकर्मीहरुको प्रारम्भीक रिपोर्टका आधारमा कांग्रेस कार्यकर्ताले एउटा बिषयमा बढेको विवादपछि मतपेटिका माथी आक्रमण गर्न थालेका कारण सुरक्षाकर्मी र कर्मचारीले मतपेटिका जोगाउन खोज्दा उक्त घटना भएको देखिन्छ’ उनले भने – ‘थप अनुसन्धान गरिरहेका छौं’।

उता शहरेमा दिउँसो अशक्त र बृद्ध बृद्धालाई भोट हाल्न सहयोगी पठाउने बिषयमा भएको विवाद पछि प्रहरी माथी दुर्व्यवहार र हातपात गर्न खोज्दा प्रहरीले चलाएको गोली लागेर भोट हाल्न गएकी लिलामाया न्यौपाने घाईते भएकी छिन्। उनको किर्ने अस्पतालमा उपचार भईरहेको छ । त्यहाँ प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो । करिब २ घण्टा रोकिएको चुनाव राजधानीबाट हेलिकप्टर मार्फत ३ दर्जन प्रहरी फोर्स उतारिएपछि सुचारु गराईएको थियो।

गैरीमुदीमा आईतबार बिहान ४ बजेदेखी एमाले र कांग्रेसका कार्यकर्ता बिचको झडपमा परी ३ जना घाईते भएका छन् । उता कांग्रेस र एमालेका कार्यकर्ताबीचको झडपमा जफेमा २ र झुलेमा ५ जना घाईते भए। दुई दलबीचको झडपमा आलम्पुमा स्थानिय मैया थामी र क्षेत्रपामा भीमबहादुर श्रेष्ठ घाईते भए । दुवैलाई हेलिकप्टरबाट राजधानी लगिएको छ।

पवटी गोली काण्ड बाहेक अन्य स्थानमा मात्र जिल्लाभर करिब ४० राउण्ड फायर खोलिएको रेकर्ड प्रहरीले उतारेको छ । ‘पवटीमा कति गोली चल्यो, रेकर्ड यकिन भएको छैन’ जिल्ला प्रहरी स्रोतले भन्यो – ‘अन्य ६ स्थानमा ४० राउण्ड खोलियो’ । पवटी काण्डमा सर्ट गन प्रयोग भएको प्रहरीले जनाएको छ।

उता कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएका स्थानहरुमा एकले अर्कालाई बुथ कब्जा गरिएको आरोप लगाएका छन् । वैत्येश्वर गाउँपालिकाको गैरीमुदी स्थित १, २  साथै नाम्दु स्थित ६ मा कांग्रेस कार्यकर्ता र सोही गाउँपालिकाको काब्रे स्थित ३, ४ र नाम्दु स्थित ५ नम्बर वडामा एमाले कार्यकर्ताले बुथ कब्जा गरेको आरोप कांग्रेस र माओवादीका कार्यकर्ताले लगाएका छन् । उता वैत्येश्वरकै क्षेत्रपामा कांग्रेस र माओवादीले आफुहरुलाई मत हाल्न नदिएको आरोप एमाले कार्यकर्ताले लगाएका छन्। यस्तै तामाकोशी गाउँपालिकाको झुले र जफेको एउटा मतदान केन्द्रमा कांग्रेसले र शहरेमा एमालेले मत हाल्न नदिएको आरोप कांग्रेस माओवादी केन्द्रका कार्यकर्ताले लगाएका छन्।

आईतबार राती ९ बजे सम्म अधिकांश स्थानका मतपेटिकाहरु मतगणस्थलमा आईसकेको जानकारी जिल्ला स्थित सुरक्षा अधिकारीहरुले दिएका छन्।

 

 

 

 

 

प्रकाशित: ३१ वैशाख २०७४ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App