८ वैशाख २०८१ शनिबार
राजनीति

भोट हाल्न सात मिनेट

पोखरा – आकारमा ठूलो, पट्याउन झन्झटिलो र धेरैठाउँमा मत दिनुपर्ने नयाँ व्यवस्था सहितको मतपत्रले मतदातालाई केही अन्योल बनाएको छ । अघिल्ला निर्वाचनमा मत हालेका पाका मतदातालाई यो पटक मतदान गर्न निर्धारित भन्दा बढी समय लागेको हो । 

निर्वाचन गराउन विभिन्न मतदानस्थलमा खटिएका अधिकृतहरूका अनुसार पाका मतदातालाई मतदान गर्न सात मिनेटसम्म समय लागेको छ । धेरैलाई मत दिनुपर्ने हुँदा बुढ्यौली लागिसकेका, कम पढेका तथा निरक्षर मतदातालाई मतदानमा बढी समय लागेको उनीहरूले बताएका छन् । ग्रामिण भेगका मतदातालाई निर्धारित भन्दा बढी समय लागेको त्यहाँस्थित कर्मचारीले बताएका छन् । 

कास्कीको मादी गाउँपालिकाको हिमालय माविमा मतदानस्थलमा खटिएका मतदान अधिकृत राजेश रेग्मीले पाका मतदातालाई मत दिन सात मिनेट सम्म समय लागेको बताए । ‘गाउँका बुढाबुढीले सात मिनेटसम्म लगाएर मतदान गरे,’ उनले भने, ‘धेरैलाई मत दिनुपर्ने अहिलेको व्यवस्थाले पाका मतदातालाई समय बढी लगाएको हो ।’ ‘मतपत्र लिएर मतदान गर्न अघि बढेका मतदातालाई हामीले हतार गर भन्न मिलेन,’ उनले भने ।  युवायुवती र पढेलेखेका मतदातालाई समेत दुईमिनेट समय लागेको उनले बताए । त्यस्तै मतदानपछि पट्यार मतपेटिकामा खसाल्दा पनि मतदाता बढी अन्योलमा परेको उनले बताए । 

पोखरा–लेखनाथ महानगरपालिका–८ जनप्रिय माविमा खटिएका मतदान अधिकृत प्रदीपकुमार रेग्मी पनि बुढ्यौली टेकिसकेका मतदाताले पाँचमिनेटसम्म लगाएर मतदान गरेका छन् । युवालाई समेत कम्तिमा ३ मिनेट लागेको उनले बताए । ‘समय बढी लागेपछि मतदानका लागि मतपत्र लिएर तयारी अवस्थामा पालो कुरेको मतदाताले थप समय पर्खिनुपरेको थियो,’ उनले भने, ‘नयाँ संरचना अनुसार भएकोले पनि मतदातालाई बढी समय लागेको हो ।’

शिक्षित युवायुवतीलाई समेत नयाँ मतपत्रले केहीबेर भुलाएको उनले बताए । ‘धेरै मतदाताका लागि अहिलेको मतदानको अनुभव पहिलो हो,’ रेग्मीले भने, ‘त्यही भएर मतदाता पनि झुक्किएका छन् । त्यसमा मतदाता शिक्षाको पनि कम भएको हो ।’ अघिल्ला निर्वाचनमा भन्दा केही ठूलो आकारको मतपत्रमा मतदान गर्नुपर्दा पनि मतदाताले बढी समय लिएको उनले बताए । ‘एउटै पार्टीलाई मत दिने मतदाताले धेरै समय खर्चेका छैनन् । तर, चिन्ह खोजेर मत दिँदा केहीबेर खोज्नै लागेको छ,’ उनले भने, ‘बुढेसकालका मतदातालाई अहिलेको मतपत्रले केही अन्योल बनाएको छ ।’ 

मतदाताहरू पनि यो पटक नयाँ संरचना अनुसार मतदान गर्दा केहीबेर अन्योल भएको बताउँछन् । ‘अघिल्ला पटक त एक–दुई ठाउँमा भोट हाले पुग्थ्यो । अहिले सात ठाउँमा छाप (स्वस्तीक चिन्ह) लगाउनुपर्ने रहेछ,’ पोखराका ९४ वर्षीय मतदाता दीलबहादुर गुरुङले भने, ‘छाप लगाउँदा मसी नै सकिएला भन्ने डर रहेछ ।’ एउटै राजनीतिक दललाई मत दिँदा समय कम लागेपनि उम्मेदवार अनुसार निर्वाचन चिन्ह खोजेर मत दिँदा केही बेर समय लाग्ने उनले बताए ।

 

प्रकाशित: ३१ वैशाख २०७४ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App