८ वैशाख २०८१ शनिबार
राजनीति

दोलखाका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको एमाले आरोप

दोलखा—तामाकोशी गाउँपालिकाको एमालेका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले मतदानस्थल छोडेका छन्। पालिकाका विभिन्न स्थानमा काँग्रेस र माओवादीले बुथ कब्जा गरेको आरोप लगाउँदै उनले मतदानस्थल छाडेका हुन्।

काँग्रेस र एमाले कार्यकर्ताबीच तामाकोशीको झुले र जफेमा बिहान झडप भएको थियो। पोखरेलले ती दुई ठाउँमा आफ्ना मतदातालाई मतदानस्थलमा आउन अवरोध गरेको एवं बुथ कब्जा गरेको आरोप लगाएका छन्। स्थानीय प्रशासनले दुवै स्थानमा मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा जारी रहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले फिल्डमा बुझ्दा र सुरक्षाकर्मीको रिपोर्टका आधारमा दुवै स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको नागरिकन्युजलाई बताए।

केही व्यक्तिले अर्काको नाममा मत हाल्ने प्रयास गरेपछि भएको विवादमा प्रहरीले तामाकोशी गाउँपालिका वडा नं. ५, सहरेस्थित जनजागृति मावि मतदान केन्द्र फायरिङ खोलेको थियो। अर्काको नाममा मतदान गर्न गएका व्यक्तिले प्रहरी हवल्दारलाई दुव्र्यवहार गरी आक्रमण प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारीले दाबी गरे।

प्रहरीको गोलीबाट मतदान गर्न लाइनमा बसेकी लीला खड्का घाइते भएकी छिन्। उनको तिघ्रामा गोली लागेको छ। घटना लगत्तै सो मतदान केन्द्रमा नेपाली सेनाको टोली पुगेको छ। सेनाको टोलीले गोलीको छर्रा मात्र लागेको जानकारी दियो।

प्रकाशित: ३१ वैशाख २०७४ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App