coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

भोट कसलाई र किन ?

आज भैरहेको मतदानद्वारा नेपाल र नेपाली जनताको समृद्धिको जग निर्माण हुँदैछ । कस्तो नेपाल बनाउने र कसले भन्ने अभियानको प्रारम्भ भएको दिन हो आज । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ भनी संविधानले गरेको व्यवस्थाअनुसार आजको निर्वाचन हुँदैछ । स्थानीय तह भनेको वर्तमान संविधानअन्तर्गत स्थानीय सरकार हो । स्थानीय सरकारले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासम्बन्धी अधिकार प्राप्त गरेको छ । र, यो प्राप्त अधिकार स्थानीय सरकारले आफ्नो गाउँ सभा र नगर सभामार्फत कानुन बनाएर प्रयोगमा ल्याउने छ । अर्थात्, नेपालीहरु अब स्वराजको अभ्यासमा एक कदम अगाडि बढेका छन् । 

स्वराजको अभ्यासबाट अगाडि बढ्ने प्रेरणा नेपालीहरुलाई विगतको केन्द्रिकृत र एकात्मक जातीय शासन पद्धति विरुद्धको आक्रोशबाट आएको हो ।  राज्यको असमावेशी एकात्मक चरित्रमाथि चुनौती दिएर लाखौँ जनता सडकमा आएका कारण आजको दिन सम्भव भएको हो । हजारौँ महिला, दलित र अल्पसंख्यक यस निर्वाचनका माध्यमबाट देशको नीतिनिर्माण तहमा पुग्ने अवसर पाएका छन् । नेपालको ग्रामीण समाजबाट उठेको राजनीतिक र सामाजिक आन्दोलनबाट यो सम्भव भएको हो । तराईबाट उठेको पहिचानको आन्दोलनबाट यो स्थापित भएको हो । अन्यथा, नेपाली समाज कहिले राजतन्त्र, कहिले राणातन्त्र, कहिले ठालुतन्त्र, कहिले पार्टीतन्त्र र कहिले नेतातन्त्रभन्दा माथि उठ्न सकेको थिएन । यी सबै तन्त्रहरुको केन्द्र काठमाडौँ थियो, सिंहदरबार र राजदरबारमा थियो । अब नेपालको गाउँघर र सहर हुनेछन् राज्यसत्ता र शक्तिको अभ्यास केन्द्र । 

 काठमाडौँको सिंहदरबारका खोपीहरुमा हुने देशी–विदेशी सोच र निर्देशनबाट नेपाली शासन पद्धति र विकास रणनीति अगाडि बढेको थियो विगतमा । अहिले पनि त्यो समाप्त भैसकेको छैन । भोलिका दिनमा पनि स्थानीय सरकार र प्रदेशले सिंहदरबारसँग लड्नुपर्ने ठूलो लडाइँ बाँकी नै छ । त्यस्तो लडाइँ लड्न सक्षम र सवल नेतृत्व अहिले मतपत्रको माध्यमबाट नेपाली जनताले छनोट गर्नुपरेको छ । नीति, नियम, निर्णय र कानुन विदेशी कन्सल्टेन्टको सहयोगमा केही सीमित टाठाबाठाहरुले फेरि पनि बनाएर स्थानीय सरकार र प्रदेशलाई निर्देशन दिन सक्छन् । यो रोक्ने राजनीतिक नेतृत्व भावि स्वराज निर्माणको लागि छनोट गर्नुपर्ने अहिले नै हो ।  

आज भैरहेको निर्वाचनले विगतका सबै तन्त्रहरुलाई कमजोर पार्दै नयाँ सोच र दृष्टिकोणबाट देश र जनताको भविष्यलाई दिशानिर्देश गर्ने अवसर आएको छ । प्रत्येक नगरसभा र गाउँसभा आफ्ना लागि नीति, नियम र कानुन आफैँ बनाउने अधिकार आज भइरहेको मतपत्रको शक्तिले स्थानीय सरकारलाई दिनेछ । अर्थात्, स्वराजतर्फ बढेको नेपालमा अब काठमाडौँका शासकसँग अनुनय, विनय र सिंहदरबार धाउने दिन समाप्त हुँदैछ ।  

आजको निर्वाचनले छान्ने जनप्रतिनिधि राजनीतिक नेता मात्र हुँदैनन्, ती नेपालको ग्रामीण समाज र सहरको आर्थिक, सामाजिक र सांस्कृतिक नेता पनि हुनेछन् । तसर्थ मतदान गर्दा कसलाई किन छान्ने भनी प्रत्येक मतदाताले एक पटक आफैँसँग प्रश्न गर्नुपरेको छ– मैलै छान्ने व्यक्ति भविष्यको स्वराजलाई नेतृत्व दिन सक्षम छ कि छैन भनी । यतिखेर राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसम्मले अनेकन् वाचा गरी मतदातासँग भोट मागिरहेका छन् । नेपालको स्थानीय निर्वाचन दलगत रुपमा भएकाले दलहरुले जितहारलाई पार्टीको प्रतिष्ठासँग पनि जोडेको देखिन्छ तर स्थानीय सरकार निर्माणमा पार्टी मात्रको जितहार हेर्ने कि देश र नेपाली जनताको हित केमा छ भनी पनि हेर्ने ? 

स्थानीय सरकार स्थायी प्रकृतिको छ । नेपालको संविधानले कुनै कुराको सुनौलो कल्पना गरेको छ भने त्यो हो– स्थायी स्थानीय सरकार । यसको निर्वाचन प्रत्यक्ष मतदानद्वारा हुँदैछ । यस्तो अवसर चाँडै हुने  प्रदेश र केन्द्रको सरकार चयनमा हुनेछैन । प्रदेश र केन्द्रमा स्थायी सरकारको सम्भावना न्यून छ । प्रदेश र केन्द्रमा सधैँ अस्थिर र साँठगाँठको सरकार बन्ने सम्भावनाले पनि अहिले भैरहेको निर्वाचक प्रतिनिधिहरुले भावि नेपालको विकासलाई ‘ड्राइभ’ गर्नुपर्ने हुन्छ । तसर्थ, पाँच वर्षका लागि छान्ने स्थायी सरकार छान्दा देशभरिको मतदाताले एकपटक आफ्नो र आफ्ना सन्तानको भविष्य त्यहीँ जोडिएको छ भनी हेक्का राख्ने र आफ्नो मतदानको विवेकपूर्ण प्रयोग गर्ने अवसर अहिले हो । 

आचरणमा शुद्धता, सोचमा दूरदृष्टि, सेवा प्रदायमा प्रभावकारिता र निष्पक्षता, वित्तीय क्षेत्रमा पारदर्शिता र जीवन शैलीमा मतदातासरह रहने अठोट भएको व्यक्तिले नै भावि नेतृत्व पाउँदा अहिले मतदानमा लामबद्ध लाखौँ जनता भोलिको दिनमा पछुताउनु पर्ने छैन । भ्रष्ट, असक्षम, ठालु र जनताभन्दा पार्टी नेताप्रति उत्तरदायीलाई अहिले जिताएर पठाउँदा पाँच वर्षसम्म पछुताउनु र आफूलाई दास बनाउनेबाहेक अरु केही हुनेछैन ।
 
 नेपालमा अधिकांश जनप्रतिनिधि निर्वाचनका माध्यमबाट पद प्राप्तिपछि आफ्नो हैसियत बढाउन लाग्छन र आफ्नो मतदाताभन्दा आफूलाई उच्च सामाजिक र आर्थिक हैसियतको बनाउन रुचाउँछन् । तसर्थ, नेपालको स्वराजलाई भावि दिनमा कतैबाट खतरा छ भने मतदाताले आफ्नो मतदान गर्दा विवेक पु¥याउन नसक्दा हुनेछ । अधिकांश नेपाली देश बिग्रियो भनी गनगन गर्न तम्सिन्छन् । दशकौँदेखि यो भैरहेको छ नेपालमा तर देश बिग्रन्छ कसरी भनी एकछिन घोत्लिएर सोच्ने समय भने यही हो सबै नेपालीका लागि । अहिले निर्वाचनमा जनप्रतिनिधि छान्दा हामी भावनामा बग्छौँ र प्रतिनिधि छान्छौँ । देश र जनतालाई समृद्धशाली बनाउने हो र स्वराजतर्फ अगाडि बढ्ने हो भने भावनामा होइन, मतपत्रको विवेकपूर्ण प्रयोग गर्दा मात्र यो संभव छ ।  

सात दशक अगाडि भारत स्वतन्त्र भएपछि अनेकन् राज्यहरु निर्माण भए त्यहाँ । तीमध्ये सबैभन्दा गरिब, भ्रष्ट, अपराधी र असुरक्षित राज्य बिहार र उत्तर प्रदेश भनी चिनिन्छ विश्वभरि । यी दुवै राज्य नेपालको दक्षिण सीमासँग जोडिएकाले भारत प्रतिको दृटिष्कोण आम नेपालीको पनि यिनै दुई राज्यको अनुहारबाट प्रतिविम्बित भएको छ । तर भारतका पश्चिम र दक्षिणका राज्यहरु महाराष्ट्र, गोवा, गुजरात, केरला, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु, अनि उत्तर–पश्चिमका पनि कैयन् राज्यहरु विहार र उत्तर प्रदेशभन्दा सम्पन्न छन् र विकासमा धेरै अगाडि पनि ।

विहारी र उत्तर प्रदेश राज्यका भैयाहरु करोडौँको संख्यामा आफ्नो राज्यबाट रोजगारी र शान्ति सुरक्षाको खोजीमा भारतको अन्य राज्य जान बाध्य भए दशकौँ अगाडिदेखि । लाखौँ नेपालीहरु पनि केरलादेखि पन्जाबसम्म रोजगारीको लागि जान्छन् । यस्तो अवस्था आउनुमा मतदाताले भारत स्वतन्त्र भएदेखि नै स्थानीय सरकार निर्माणमा विवेक पु¥याउन नसकेकाले हो भन्ने निष्कर्ष अध्येताहरुको छ । आफ्नो सरकार छान्दा ‘एकछाके’ भएर आफ्नो मताधिकारलाई बन्धकमा राखे भनी ती आरोपित पनि भए विगतमा । त्यसो गर्दा आफ्नो सन्ततीको भविष्य अन्धकार पारेर प्रान्तकै नाम पनि लज्जास्पद बनाए ।

 विहार र उत्तर प्रदेशमा दशकौँ बिग्रेको राजनीति यतिखेर सुधारोन्मुख छ किनभने त्यहाँ अहिले मतपत्रबाट सक्षम र योग्य व्यक्तिलाई आफ्ना प्रतिनिधि छान्ने चेत जनतामा आएको छ । हाम्रा लागि छिमेकबाट शिक्षा लिने अवसर यही हो र स्थानीय निर्वाचनमा जनप्रतिनिधि छान्दा विवेकको प्रयोग आजको लागि अग्निपरीक्षा हो– प्रदेश नम्बर तीन, चार र छका मतदाताका लागि ।   

प्रकाशित: ३१ वैशाख २०७४ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App