८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा सबैभन्दा बढी, नारफुमा कम मतदाता

काठमाडौं – आइतबार हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी तथा मनाङको नारफु गाउँपालिकामा सबैभन्दा कम मतदाताले मतदान गर्दैछन् । 

कुल ४९ लाख ५६ हजार ९ सय २५ मतदातामध्ये काठमाडौं महानगरपालिकामा २ लाख ७९ हजार ३ सय ५ जना छन् । नारफु गाउँपालिकामा ३ सय ६२ मात्र मतदाता छन् ।

त्यसैगरी जिल्लागत रुपमा पनि सबैभन्दा बढी मतदाता काठमाडौं र कम मतदाता मनाङमा छन् । काठमाडौंमा कुल मतदाता ५ लाख ५९ हजार ४ सय र मनाङमा ५ हजार ९४ छन् । काठमाडौंपछि नवलपरासी ३ लाख ६९ हजार ८ सय ९४ र चितवन ३ लाख १३ हजार दुईसहित क्रमशः दोस्रो र तेस्रोमा छन् । त्यस्तै कम मतदाता भएको जिल्लामा मनाङपछि मुस्ताङ र डोल्पा छन् । ती जिल्लामा क्रमशः ८ हजार २ सय ६३ र १६ हजार ७ सय ३ मतदाता छन् ।

पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा मतदान हुँदैछ । यसमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका, १ सय ८६ गाउँपालिका तथा ती सबैका २ हजार ५ सय ९८ वडा समेटिएका छन् । 

यो निर्वाचनबाट २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसका लागि विभिन्न दल र स्वतन्त्र गरी ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

आइतबार मतदान हुनेमा काठमाडौंसहित चार महानगरपालिका परेका छन् । काठमाडौंपछि बढी मतदाता पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६८ मतदाता छन् । ललितपुर महानगरपालिकामा १ लाख १२ हजार ९ सय २३ र भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ रहेका छन् । त्यसैगरी हेटौंडा उपमहानगरपालिकाको मतदाता संख्या ८३ हजार ५ सय ९७ रहेको छ । 

नगरपालिका : भक्तपुरमा बढी, ठूली भेरीमा कम

नगरपालिकातर्फ भक्तपुर नगरपालिकामा सबैभन्दा बढी ५२ हजार ९ सय ३० मतदाता छन् । भक्तपुरपछि ललितपुरको गोदावरी नगरपालिकामा ४७ हजार ४६, चितवनको रत्ननगर नगरपालिकामा ४३ हजार १ सय ५४, काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा ४० हजार २ सय १० र नवलपरासीको कावासोती नगरपालिकामा ३८ हजार ९ सय २९ मतदाता छन् ।

त्यसैगरी सबैभन्दा कम मतदाता रहेको डोल्पाको ठूली भेरी नगरपालिकामा ३ हजार ५ सय ४४ मतदाता छन् । डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकामा ४ हजार ७ सय ७३, मुगुको छायानाथ रारा नगरपालिकामा ९ हजार २ सय ७१ र जुम्लाको चन्दननाथ नगरपालिकामा ९ हजार ६ सय ७२ मतदाता छन् । 

गाउँपालिका : थाँक्रेमा बढी, नारफुमा कम

गाउँपालिकातर्फ बढी मतदाता हुनेमा धादिङको थाँक्रे गाउँपालिका परेको छ । थाक्रेमा २० हजार ८ सय मतदाता छन् । थाक्रेपछि सिन्धुलीको तीन पाटन गाउँपालिकामा २० हजार ६ सय ८८, मकवानपुरको बकैया गाउँपालिकामा २० हजार ९ र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा १९ हजार ९ सय २८ मतदाता छन् । 

कम मतदाता हुने गाउँपालिका मनाङ र डोल्पाका छन् । मनाङको नारफु गाउँपालिकामा ३ सय ६२ र चामे गाउँपालिकामा ५ सय ११ मतदाता छन् । त्यस्तै, डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ७ सय ४२, डोल्पो बुद्ध गाउँपालिकामा १ हजार ३३ र जगदुल्ला गाउँपालिकामा १ हजार १ सय ८५ मतदाता रहेका छन् ।

प्रकाशित: ३१ वैशाख २०७४ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App