६ वैशाख २०८१ बिहीबार
राजनीति

३९ प्रतिशत महिला उम्मेदवार

काठमाडौं – पहिलो चरणमा आइतबार हुन गइरहेको चुनावमा लागि ४९ हजार ३ सय ३७ उम्मेदवार मैदानमा उत्रिएका छन् । त्यसमध्ये १३ हजार ५ सय ५६ जना निर्वाचित हुनेछन् । 

तीन प्रदेशमा हुन लागेको चुनावका लागि २९ हजार ८ सय ९१ पुरुष र १९ हजार ३ सय ४५ महिला उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । प्रतिशतको आधारमा ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । 

आइतबारको मतदानबाट ३४ जिल्लाका २ सय ८३ स्थानीय एकाइमा जनप्रतिनिधि छनोट हुँदैछन् । वडाप्रमुख देखि गाउँपालिका, नगरपालिका, महानगरपालिकाका प्रमुखमा पुरुष प्रतिस्पर्धी धेरै देखिन्छन् । गाउँपालिका र नगरपालिकाकाको प्रमुख पदका लागि १ हजार ७ सय २९ पुरुष र १ सय ५३ जना महिला प्रतिस्पर्धामा उत्रेका छन् ।

कानुनअनुसार प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्थाका कारण उपप्रमुखमा भने महिलाको संख्या बढी छ । उपप्रमुखमा १ हजार १ सय २२ जना महिला र २ सय ६६ जना पुरुष उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । 

वडाध्यक्षमा १० हजार २ सय ५९ जना पुरुष र ४ सय ६८ जना महिला चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । वडाध्यक्षमा २ हजार ५ सय ९८ जना निर्वाचित भएर आउनेछन् । वडाध्यक्षमा सबैभन्दा कम महिला देखिएका छन् । वडाध्यक्षमा जम्मा चार प्रतिशत महिलालाई उम्मेदार बनाइएको छ । 

स्थानीय तहमा महिलालाई उपप्रमुख, महिला सदस्य र दलित महिला सदस्यमा मात्र आरक्षण गरिएकाले वडाध्यक्षमा पनि पुरुषको बाहुल्य देखिएको हो । वडा सदस्यका लागि १७ हजार ६ सय ३७ जना पुरुष उम्मेदवार छन् । खुला सदस्यमा १ हजार ३४ जना महिला उम्मेदवारले चुनावमा भाग लिएका छन् । वडा सदस्यमा ५ हजार १ सय ९६ जना निर्वाचित हुनेछन् ।

  
वडाको महिला सदस्यमा ९ हजार ५५ जनाले प्रतिस्पर्धा गर्दैछन् । तीमध्येबाट २ हजार ५ सय ९८ महिला जनप्रतिनिधि बन्न सफल हुनेछन् । 

दलित महिला वडा सदस्यमा ७ हजार ५ सय १३ जना प्रतिस्पर्धामा छन्, जसमध्ये २ हजार ५ सय ९८ जना निर्वाचित भएर आउनेछन् । तर, चुनाव हुन लागेका सबै स्थानमा दलित महिला उम्मेदवार नभएकाले आरक्षणभन्दा कम निर्वाचित हुने देखिन्छ । 

संविधानमा स्थानीय तहमा महिलालाई ४० प्रतिशत आरक्षण दिइएको छ । तर, महिला उम्मेदवारको संख्या जम्मा ३९ प्रतिशत छ जसले विजयी भएर आउने महिलाको संख्या चालीस प्रतिशत नपुग्ने देखिन्छ । 

प्रकाशित: ३१ वैशाख २०७४ ००:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App