coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदान गर्न उत्साहित महिला

काठमाडौं – काठमाडौंकी सरस्वती तुलाधर (७६) ले स्थानीय चुनावमा धेरैपटक मतदान गरेकी छिन् । तर यो पटकको चुनावी रौनक उनलाई छुट्टै लागेको छ । काठमाडौं महानगरपालिका २७ नम्बर वडाकी मतदाता उनी मतदान गर्न आतुर छिन् । 

‘सोह्र वर्षमा बिहे भयो त्यसपछि भएका हरेक चुनावमा मैले भोट हालेकी छु’, तुलाधरले हाँस्दै भनिन्, ‘आफ्नो अधिकारका लागि मात्र होइन, सबैको अधिकारका लागि भोट हाल्ने हो ।’ ६ सन्तानको स्याहार र घरव्यवहारको तनाव उनले नभोगेकी हैनन् । तर पनि उनले कुनै पनि चुनावमा मतदान गर्न छुटाएकी छैनन् । २०१४ सालमा भएको नगरपालिका निर्वाचनमा  ५०.१८ प्रतिशत मत खसेको थियो । जसमा तुलाधरले पनि मतदान गरेकी थिइन् । ‘मेरी सासू नै एकदम सजग हुनुहुन्थ्यो हामी सबैलाई भोट हाल्न आफैं लानुहुन्थ्यो’, उनले सुनाइन् । नगर पञ्चायत चुनाव २०१९, स्थानीय निर्वाचन २०४९ र २०५४, २०६४ र २०७० को संविधानसभा चुनाव हुँदै अहिले २०७४ को स्थानीय तह चुनावको अनभुव उनले संगाल्दै छिन्। 

उनीजस्तै ६२ वर्षकी रेणु मानन्धर पनि सोही वडाबाट मतदाता छिन् । मतदान गर्ने दिन नजिकिँदै आउँदा उनी पनि मतदान गर्न तयार छिन् । ‘पुराना धेरै कुरा बिर्सिसकें,’ उनी सुनाउँछिन्, ‘तर मैले भोट धेरै पहिलेदेखि हाल्दै आएकी छु ।’ उतिबेलाका चुनावमा महिलाको अवस्थाबारे पनि उनी जानकार छन् । ‘महिला उम्मेदवार खोजेर पनि पाइँदैनथ्यो,’ उनी भन्छिन्, ‘भोट हाल्न पनि निकै कम पुग्थे ।’ भोट हाल्ने अधिकार सबै महिलाले प्रयोग गर्नैपर्ने उनको भनाइ छ । सो वडामा ४ हजार ९ सय ४६ मतदातामध्ये ५२ प्रतिशत महिला मतदाता छन् । 

थापाथलीस्थित प्रसूतिगृहकी वरिष्ठ नर्स आशालक्ष्मी प्रजापति पनि आफ्नो मत दिने अधिकारप्रति सचेत छिन् । ‘कामको व्यस्तता त छँदैछ,’ प्रजापति भन्छिन्, ‘तर आफ्नो हक र अधिकारमा पर्ने मतदान गर्न छुटाउँदिनँ, समय मिलाएर भोट हाल्छु ।’ 

शुक्रबार नै महिला आयोगको स्थानीय तह निर्वाचन लैंगिक अनुगमन राष्ट्रिय समितिको सचिवालयमा महिलाले नमुना मतदान गरे । नमुना मतदानमा सुधा यादव र कल्पना सुनार मेयरका उम्मेदवार थिए । अनुजा शर्मा र आदित्य सेढाईं उपमेयर बने । वडाध्यक्ष र सदस्य पदमा पनि नमुना मतदान भयो । 

सचिवालयका ३२ जनाले मतदान गरे । मतगणना भयो । यादवले मेयरको चुनाव जितिन् । उममेयरमा शर्माले विजय प्राप्त गरिन् । सचिवालय संयोजक जीवन शर्माले भने, ‘आज नमुना मतदानको अभ्यास गर्यौं ।’ उनका अनुसार शिक्षित सहभागी नमुना मदतानमा सात मत बदर भयो । ग्रामीण र अशिक्षित महिलाको मत बदर हुन नदिन मतदाता शिक्षा दिइनुपर्ने उनले बताइन् ।  

पहिलो चरणमा हुने स्थानीय चुनावमा मतदाता संख्या ४९ लाख ५६ हजार छ ।  २८३ तहमा  १३ हजार ५ सय ५६ पदका लागि चुनाव हुँदैछ ।  

प्रकाशित: ३१ वैशाख २०७४ ००:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App