coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई दिन लगाएर अघिल्लो दिन केन्द्रमा पुगे दुर्गमका मतदाता

भोट हाल्न शनिबारनै मतदान केन्द्र आईपुगेर केन्द्र नजिकै बासको व्यवस्था मिलाउँदै धादिङको दुर्गम गाउँ नेवेरका मतदाताहरु। तस्बिर सौजन्य: तिसमान तामाङ

धादिङ- धादिङको दुर्गम गाउँका मतदाता शनिबार नै मतदान केन्द्र आइपुगेका छन्। रुवीभ्याली गाउँपालिकाका वडा नं. ५ नेवेरका मतदाता एक दिन हिँडेर शनिबार दिउँसो मतदान केन्द्र आइपुगेका हुन्।

                ‘गाउँ भन्दा मतदान केन्द्र धेरै टाढा छ। भोट हाल्न भ्याउँदिन की भनेर पहिल्यै आएँ’ नेवेरकी मंगलीमायाँ तामाङले भनिन्। मंगलीमायाँ उमेरले ७८ लागिन् । नेवेरबाट दुई दिन लगाएर भोट हाल्न कै लागि सदाचेत स्थित लापा माविको केन्द्रमा आईपुगेकी हुन्।

                २८ गते भात खाएर हिँडेको थिए । २९ गते कपुरगाउँ आएर बसेँ । ३० गते त यहि आइपुगेँ। मंगलीमायाँले भनिन् ‘आफन्त नै उठेको छ रे, जसरी नी जानु पर्छ भन्यो त्यसैले सकिनसकी आएँ, भोली भोट हालेर हिँडिहाल्छु ।’ २९ गते हिँडेका उनका हितैसीहरु बाटोमा आउँदै गरेको उनले बताईन्।

                नेवेरका उर्गेन तामाङ पनि स्थानीय तह निर्वाचनमा भोट हाल्न शनिबार नै मतदान केन्द्र आइपुगेका छन् । ‘०४६ सालदेखि सबै चुनावमा भोट हालेको छु, ढिलो भयो भने यसपाली छुट्छु की भनेर विहानै भोट हाल्न आजै आए’ उनले सुनाए।

                उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ५ नेवेर गाउँ पहाडको बीचमा छ । गाउँबाट मतदान केन्द्र भएको स्थान सदाचेत आइपुग्न भीरको बाटो करिब एक दिन लाग्छ । बृद्धबृद्धाहरु एक दिनमा आइपुग्न नसक्ने स्थानीय तिसमान तामाङले बताए।

                 ठिटाठिटीहरु अलि चाँडै पुग्छन् । बुढापाका हिड्न सक्दैन, बास बसेरै आउनु पर्छ। नेवेरका घनबहादुर तामाङले भने ‘गाविस हट्यो हाम्रो समस्या हटेन, अहिले जितेर आउने प्रतिनिधिले हाम्रो समस्या बुझिदेला की भन्ने आशा छ ।’ यस अघिका निर्वाचनहरुमा पनि अघिल्लो दिन नै केन्द्रमा पुगेर भोलीपल्ट मात्रै घर आइपुगेको उनको अनुभव छ ।

                ६३ घरधुरी रहेको नेवेर गाउँमा भुकम्पपछि पनि ४६ घरधुरी बसिरहेका छन् । बाँकी घरपरिवार सदरमुकाम आसपासका शिविर, सल्यानटार र ढोलाको शिविरमा बसिरहेकाहरु पनि मतदान केन्द्र पुगिसकेका छन् । अघिल्ला निर्वाचनहरुमा पनि नेवेरबासीले लापाको कपुरगाउँसम्म भएपनि मतदान केन्द्र नजिक पारिदिन आग्रह गरेका थिए।

                नेवेर मात्रै होइन लापाको तेन्चेत, तिङ्चेत, कचेत, छुम्राङ, चपाङचेत लगायत वस्तीका मतदाता पनि शनिबार नै मतदान केन्द्र पुगेका छन् । स्थानीयहरुका अनुसार यी वस्तीहरुबाट मतदान केन्द्र पुग्न ३ देखि ७ घण्टा लाग्छ । आइतबार हुने मतदानको लागि शनिबार नै पुगेर आफन्तहरुको घरमा बास बसेको तेन्चेतका अमन तामाङले जानकारी दिए ।

                साविकको लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलाएर रुवीभ्याली गाउँपालिका बनेको छ । यो गाउँपालिका धादिङको सबैभन्दा दुर्गममा पर्ने गाउँपालिका हो । रुविभ्याली गाउँपालिका अन्तर्गत ८ वटा मतदान केन्द्रहरु रहेका छन् । प्राय सबै केन्द्रका मतदाता शनिबार नै मतदान केन्द्र आसपासमा आफ्ना आफन्तकोमा पुगेर बास बसेको सामाजिक अगुवा शिलास तामाङले जानकारी दिए । केन्द्र जति नै टाढा भएपनि दुई दशक पछि आएको स्थानीय निर्वाचनले सबैलाई उत्साह ल्याएको छ’ तामाङले भने ।

                जिल्ला निर्वाचन कार्यलयले भने सवैलाइ पायक पर्ने ठाउँमा मतदान केन्द्र बनाइएको दावी गर्दै आएको छ । जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख निर्वाचन अधिकृत इश्वर सिंखडा भन्छन् ‘सिफारिस समितिको सिफारिस अनुसार केन्द्र निर्धारण गरिएको हो ।’

 

 

प्रकाशित: ३० वैशाख २०७४ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App