४ वैशाख २०८१ मंगलबार
राजनीति

उमङ्गका साथ मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आह्वान गरेकी छिन्। स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा शनिबार सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफल बनाउन पनि आग्रह गरेकी हुन्।

 ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गते भित्र सम्पन्न हुनुपर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुट्किलो भएकोले यसको आफ्नै महत्व रहेको छ,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराइ स्थायित्व र आर्थिक सम्बृद्धिको ढोका खोल्ने छ भन्ने मलाइ विश्वास छ।’

लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै उत्साह र उमङ्गका साथ सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्नपनि आग्रह गरेकी छिन् ।

 त्यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको भन्दै आइतबार हुने पहिलो चरणको निर्वाचनमा सहभागि हुन आह्वान गरेका छन् ।

‘नागरिकको अधिकार नागरिककै तहमा पु¥याउने यो निर्वाचनको ऐतिहासिक महत्व छ,’ देउवाले शनिबार जारी गरेको अपीलमा भनिएको छ,‘संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने यो पहिलो खुड्किला हो। तसर्थ यो निर्वाचनलाई आम नेपाली नागरिकले उल्लासमय पर्वका रुपमा लिएर शान्तिपूर्ण रुपमा सफल बनाउन हार्दिक आह्वान गर्दछु ।’

निर्भयका साथ मतदान गर्ने पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै देउवाले नेपाली नागरिक आफैंले लेखेको संविधानलाई पूर्णता दिने अभियानका रुपमा बुझ्नु पनि आग्रह गरेका छन् । ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संघीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो,’ देउवाको अपीलमा भनिएको छ, ‘सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोशेढुंगा सावित हुनेछ।’ 

प्रकाशित: ३० वैशाख २०७४ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App