७ वैशाख २०८१ शुक्रबार
राजनीति

गाउँ फर्कंदै मतदाता

चुनावमा भोट हाल्न गाउँ जाने क्रममा पुदारबजारस्थित बसपार्कमा गाडी कुरेर बसेका मतदाता । तस्बिर : शंकर श्रेष्ठ

धादिङ – झार्लाङकी फूलमाया तामाङ भोट हाल्न गाउँ फर्किएकी छन् । अहिलेसम्म उनले न कुनै उम्मेदवार चिनेकी छन् न त भोट हाल्न जानेकी छन् । तर बल्लबल्ल आएको अवसर छोड्न हुन्न भनेर छिमेकीले फोनमा भनेपछि उनी ताम्लोकुम्लो बोकेर गाउँ फर्किएकी हुन् । उनले भनिन्, ‘छिमेकीले फोन गरेर गाडी रिजर्भ छ त्यही गाडीमा आउनुस् भने, भोट हाल्न गाउँ जान लाग्या ।’

भूकम्पपछि गाउँ बस्न नसकेर नीलकण्ठस्थित दामगाडे शिविरमा बस्दै आएका रिगाउँका चैवा तामाङ पनि टहरामा बालबच्चा मात्रै छोडेर गाउँ हिँडेका छन् । उत्तरी धादिङको दुर्गममा पर्ने गाउँ जान सार्वजनिक यातायात नपाएपछि उनीलगायत गाउँलेले ट्रक रिजर्भ गरेका छन् । ‘२० वर्षपछि पाएको अधिकार छुटाउन भएन, बालबच्चा यहीं छोडेर गाउँ हिँडे,’ उनले भने ।

रोजगारीका सिलसिलामा होस् या अन्य कारण सहरबजारमा बसोबास गर्दै आएका मतदातालाई अहिले आफ्नो मतदान केन्द्र भएको गाउँ फर्कने चटारो छ । कोही गाडी  रिजर्भ गरेर गाउँतर्फ लागेका छन् भने होही हिँडेरै गाउँ फर्किएका छन् । भूकम्पपछि सदरमुकाम आसपास बस्दै आएका मतदातालाई आफ्ना समर्थक उम्मेदवारले नै गाडी रिजर्भ गरेर लगेका छन् । धन्सारपाखा शिविरमा बस्दै आएका बिम्बा तामाङले भने, ‘यहाँका सबैलाई गाउँकै उम्मेदवारले गाडीमा लग्यो, म भोलि जाने तयारीमा छु ।’ दुई वर्षअघि भूकम्पले बस्ती जोखिममा परेपछि धादिङ सदरमुकाम आसपास बस्दै आएका पीडितहरू आफ्नै मान्छेलाई जिताउन गाउँ फर्किएका छन् । 

नेताकार्यकर्ता चुनावका लागि भनेर गाउँको कुनाकुना पुगेका छन् । भूकम्पले ढलेका घर उठाउने, विस्थापितलाई पुनर्वास गर्नेलगायतका प्रतिबद्धता लिएर विस्थापित शिविरमा जिल्लामा क्रियाशील दलका नेता कार्यकर्ता शिविरमै पुगेका छन् । आफ्नै गाउँको मान्छेलाई प्रतिनिधि जिताउन पाए समस्या समाधान हुने विश्वासभूकम्प पीडितमा छ । 

वैदेशिक रोजगारीबाट बिदा मागेर स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन आउने मतदाताको संख्या पनि कम छैन । पढाइ र रोजगारीका सिलसिलामा काठमाडांै, पोखरा, नारायणगढलगायतका सहरमा बस्दै आएका गाउँले पनि घर फर्किएका छन् । ‘बालबच्चाको विद्यालय पनि बिदा भयो, गाउँको अवस्था पनि हेर्नु छ, फेरि पहिलोपटक निर्वाचनमा भोट हाल्न लागेकाले मनमा उत्साह छ’, खनियावास गाउँपालिकाकी कुमारी तामाङले भनिन् । 

सदरमुकाममा चहलपहल घट्यो
मतदाता गाउँ फर्किएपछि सदरमुकाम धादिङबेसीमा चहलपहल घटेको छ ।  अध्ययन, रोजगारी र विभिन्न व्यवसाय गरेर सदरमुकाममा बसेकाहरू गाउँ फर्किएपछि सदरमुकामको चहलपहल सुनसानजस्तै बनेको छ । 
    

प्रकाशित: ३० वैशाख २०७४ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App