८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावकाे तयारी पूरा

काठमाडौं – स्थानीय तह पहिलो चरणको निर्वाचन तयारी पूरा भएको छ । मतदान गर्न हुन दुई दिन बाँकी छ । प्रदेश ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका १३ हजार ५ सय ५६ पदका लागि आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । पहिलो चरणको चुनावमा ४९ हजार ३ सय ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

शुक्रबार बिहानदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा चहलपहल सुरु भएको छ, जहाँ जिल्ला निर्वाचन कार्यालय खडा गरिएको छ । विभिन्न मतदान केन्द्र र स्थलका लागि तोकिएका कर्मचारी कोही मतपेटिका त कोही मतपत्र बुझ्न पालो कुर्दै थिए । परिसरमा मतपेटिका र मतदानस्थल बार्ने सामान छरपस्ट थिए । सभागृहको पश्चिमतिर कुनाको सानो घरमा निर्वाचनका लागि आवश्यक सामग्री वितरणको व्यवस्था मिलाइएको थियो । काठमाडौं महानगरपालिकाका ३२ वडा र दस  नगरपालिकाका मतदान केन्द्र र स्थलका लागि निर्वाचन सामग्री वितरण हुँदैथियो । चार सय मतदाताका लागि एउटा मतपेटिका, आवश्यकताअनुसार मतपत्र र अन्य सामग्री उपलब्ध गराइएको छ । मतदान सामग्री ढुवानी खर्च  सरकारले नै उपलब्ध गराएको छ ।

महानगरपालिका वडा नम्बर ३२ का लागि मतपत्र लिन आएका थिए शुरेश शर्मा र गोविन्द शर्मा । जुन वडामा एक हजार ३ सय १० मतदाता छन् । ‘चार मतपेटिका र मतपत्र लियौं,’ गोविन्दले भने । 

महानगरपालिकाको ३१ नम्बर वडामा भने  पाँच सय मतदाता छन् । त्यहाँका लागि दुई मतपेटिका दिइएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका लागि लेखनाथ निरौला निर्वाचन सामग्री लिन आएका थिए । सो नगरपालिकामा ३२ सय मतदाता छन् । मतदानका लागि चार वटा केन्द्र तोकिएको छ । चार मतदान केन्द्रका लागि आठवटा मतपेटिका र अन्य सामग्री बुझ्न निरौला मध्य दिनसम्म पालो कुरेका थिए  ।
  
कीर्तिपुर नगरपालिकाका १० वडाका लागि महेश काफ्लेलगायतले मध्य दिनपछिमात्र सामग्री पाए । नागार्जुन नगरपालिकाका नौ वडाका ‘क’ र ‘ख’ मतदान केन्द्रका लागि मतदान अधिकृत दीपक खनाल र आनन्दराज पोखरेल निर्वाचन सामग्री बुझ्न आएका थिए । ‘सामान लगेपछि मतदानको तयारी सुुरु हुन्छ,’ पोखरेलले भने, ‘कसरी लाम लाउने, मतपेटिका कहाँ राख्ने भन्ने योजना भइसकेको छ ।’ 

निर्वाचन सामग्री लिन आउनेको लाम दिनभर नै लाग्यो । उनीहरूलाई सामग्री दिन निर्वाचन आयोगका कर्मचारीलाई हम्मेहम्मे थियो । कर्मचारी ललितबाबु शाक्य टोखा नगरपालिकामा केन्द्र भएका मतपत्रका बोरा खोज्दै चाङ लगाउँदै थिए । ‘मतपत्रका बोरा यता खोज्यो, उता खोज्यो, बोरा उचाल्यो, राख्यो, आज त पूरै एक्सरसाइज नै भयो,’ उनले असिनपसिन हुँदै भने, मतदान अघिको निवर्चान त हामीलाई पो लाग्यो बढी ।’ उनीजस्तै कर्मचारी सुमन देव, सरला थापा र दीपक सापकोटा पनि मतपेटिकासहित सामग्री हस्तान्तरण गर्न चर्को घामा  व्यस्त थिए । 

निर्वाचन आयोगको कान्तिपथस्थित मुख्यालयमा भने चुनावमा सवारी साधन सञ्चालन अनुमतिपत्र लिनेको भीड थियो । आयोगको कल सेन्टरमा  मतदाताले फोन गरेर आफ्नो मतदान केन्द्र सोध्न छाडेका छैनन् । ‘फोन अत्यधिक आइरहेको छ,’ उपसचिव विसकसेन ढकालले  भने । मतदाताको नाम अद्यावधिक भए पनि बसाइसराइँमा परेकाले मतदाताले समस्या भोगिरहेका छन् । ‘भित्रको काम लगभग सकियो,’ सूचना केन्द्रका नारद गौतमले भने, ‘अब मतदानको तयारीका लागि काम चल्दैछ ।’ 

उमेदवार, राजनीतिक दल, पर्यवेक्षक, पत्रकार र निर्वाचन प्रक्रियामा संलग्न कर्मचारीका लागि फरक फरक तरिकाले गाडी सञ्चालन अनुमतिपत्र उपलब्ध गराइएको आयोगले जनाएको छ । 

‘काठमाडौंमा मात्र हैन जिल्लाजिल्लामा पनि निर्वाचन सामग्री पुगिसक्यो,’ आयोगका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले भने, ‘पहिलो चारणको निर्वाचन सुरु गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ । अब बाकसमा मत थाप्नमात्र बाँकी छ, त्यसका लागि समय पर्खेर बसेका छौं ।’
उनका अनुसार शनिबार सबै मतदानकेन्द्र तयार हुन्छन् ।  शनिबार नै सर्वदलीय सहमति गरेर चुनावको कार्य सम्पादन गर्ने निर्णय हुने उनले जनाए ।  मतादाता परिचयपत्र चुनाव अघिसम्म लगातार बाडिने उनले बताए । 

प्रकाशित: ३० वैशाख २०७४ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App