coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतदातालाई गाउँ फर्कन भ्याईनभ्याई

धादिङ- झार्लाङकी फुलमायाँ तामाङ भोट हाल्न गाउँ फर्किएकी छन्। अहिलेसम्म उनले न कुनै उम्मेदवार चिनेकी छन् न त भोट हाल्न जानेकी छन्। तर बल्लबल्ल आएको अवसर छोड्न हुन्न भनेर छिमेकीले फोनमा भनेपछि उनी ताम्लोकुम्लो बोकेर गाउँको घर फर्किएकी हुन्। उनले भनिन् ‘छिमेकीले फोन गरेर गाडी रिजर्भ छ त्यहि गाडीमा आउनुस् भन्यो, भोट हाल्न गाउँ जान लाग्या ।’ रिजर्भ गाडी कुरेर बसपार्क चौतारामा बस्दै गर्दा उनी भेटिएकी थिईन् ।

                भूकम्पपछि गाउँ बस्न नसकेर निलकण्ठ स्थित दामगाडे शिविरमा बस्दै आएका रिगाउँका चैवा तामाङ पनि टहरामा बालबच्चा मात्रै छोडेर भोट हाल्न गाउँ लागेका छन् । उत्तरी धादिङको दुर्गममा पर्ने गाउँजान सार्वजनिक यातायात नपाएपछि उनी लगायत गाउँलेहरुले स्वराज ट्रक नै रिजर्भ गरेर गाउँ हिडेका हुन् । ‘२० वर्षपछि पाएको अधिकार त छुटाउन भएन, यहाँ बच्चाहरु छोडेर गाउँ जाँदैछु’ उनले भने।

                रोजगारीको शिलशिलामा होस् या अन्य कारण सहर बजारमा बसोबास गर्दै आएका मतदातालाई अहिले आफ्नो मतदान केन्द्र भएको गाउँ फर्कन भ्याई नभई नै छ। कोही गाडी नै रिजर्भ गरेर गाउँ हिडेका छन् भने न्युन आय भएकाहरु पैदल हिँडेरै आफुले भोट हाल्ने गाउँ फर्किएका छन्। भुकम्पपछि सदरमुकाम आसपास बस्दै आएका मतदाताहरुलाई आफ्नो समर्थक उम्मेदवारहरुले नै गाडी रिजर्भ गरेर लगेका छन्। धन्सारपाखा शिविरमा बस्दै आएका बिम्बा तामाङले भने ‘यहाँको सबैलाई गाउँकै उम्मेदवारले गाडीमा लग्यो, म भोली जाने तयारीमा छु ।’ दुई वर्ष अघि भूकम्पले बस्ती नै जोखिममा परेपछि धादिङ सदरमुकाम आसपास बस्दै आइरहेका पीडितहरु आफ्नै मान्छेलाई जिताउन गाउँ फर्किएका छन्।

                नेता तथा कार्यकर्ता चुनावको लागि भनेर गाउँको कुनाकुना पुगेका छन् । भूकम्पले ढलेका घर उठाउने, विस्थापितलाई पुनर्वास गर्ने लगायतका प्रतिबद्धता लिएर विस्थापित शिविरमा जिल्लामा क्रियाशिल रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ताहरु शिविरमा नै पुगेका छन् । आफ्नै गाउँको आफ्नै मान्छेलाई प्रतिनिधि जिताउन पाए आफ्नो समस्या समाधान हुन्छ भन्ने विश्वास भूकम्प पीडितमा छ।

                वैदेशिक रोजगारीबाट विदा मागेर स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन आउने मतदाताको संख्या पनि कम छैन । पढाई या रोजगारीको शिलशिलामा काठमाडौं, पोखरा, नारायणगढ लगायतका सहरमा बस्दै आएकाहरु पनि अहिले गाउँमै फर्किएका छन् । ‘बच्चाहरुको विद्यालय पनि बिदा भयो, गाउँको अवस्था पनि हेर्नुछ, फेरी पहिलो पटक निर्वाचनमा भोट हाल्न लागेको मनमा उत्साह छ’ खनियावास गाउँपालिकाका कुमारी तामाङले भनिन् ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २९ वैशाख २०७४ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App