७ वैशाख २०८१ शुक्रबार
खेल

रियाल च्याम्पियन्स लिग उपाधि नजिक

मड्रिड- पछिल्ला वर्षहरुको नतिजालाई निरन्तरता दिँदै रियाल मड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लगाएको छ। सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती २–१ ले पराजित भए पनि रियाल समग्रमा ४–२ को नतिजा निकाल्दै फाइलनमा स्थान सुरक्षित गर्न सफल भयो।

साउल निगुइजको सशक्त हेड गोल र एन्टोनियो ग्रिजम्यानको पेनाल्टी गोलसँगै १६ मिनेटभित्र २–० को अग्रता लिँदै एट्लेटिकोले पुनरागमन जनाउने संकेत गरेको थियो। तथापी मध्यान्तर हुनुअघि इस्कोले अवे गोल गरेपछि रियाल लयमा फर्कियो भने एट्लेटिकोमाथिको दबाब थप चुलियो। अन्तत एट्लेटिको च्याम्पियन्स लिगमा चौथो पटक रियालसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरियो। 

पहिलो लेगमा क्रिष्टियानो रोनाल्डोले गरेको ह्याटि्रक निर्णायक बन्दा रियाल च्याम्पियन्स लिग इतिहासमा उपाधि जोगाउने पहिलो टोली बन्ने अभियानबाट एक कदम पछी छ। रियालले मे ३ मा कार्डिफमा हुने फाइनलमा इटालियन क्लब युभेन्ट्सविरुद्ध खेल्नेछ।

‘टोलीले धेरै वर्ष देखि यो स्तरमा आफूलाई कठिन प्रतिद्वन्द्वीका रुपमा उभ्याएको छ र त्यो छबीलाई आज पनि कायमै राख्यो,’ २०१४ र १६ को फाइनलसहित यसअघि तीन पटक रियालसँग पराजत हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले भने, ‘पहिलो हाफको शुरुका ती २०, २५ मिनेट क्लबको इतिहास बन्नेछ। भिसेन्टे काल्डेरोनमा आज देखिएको त्यो वातावरण यस्तो जादुमय क्षण हो जुन मानिसको मानसपटलमा सधै रहिरहनेछ।’

एट्लेटिकोका मिडफिल्डर कोकेले नजिकैबाट गरेको प्रहारलाई रियालका गोलकिपर केलर नाभासले बचाएका थिए। लगत्तै फर्नान्डो टोरेसको हेड पोस्ट माथिबाट बाहिरिदा एट्लेटिकोले अग्रता लिने मौका गुमायो। त्यस्तै अर्को पोष्टमा घरेलु टोलीका गोलकिपर यान ओब्लाकले कासेमिरोको हेडलाई उत्कृष्ट बचाउ गरे।

अन्तत एट्लेटिकोले १२औं मिनेटमा अग्रता लिन सफल भयो। कोकेको कर्नरमा निगुइजको सशक्त हेड प्रहार गोलमा परिणत भएको थियो। जारी सिजनको च्याम्पियन्स लिगमा उनको यो चौथो गोल हो।

त्यसको ४ मिनेट नबित्दै फरवार्ड एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै एट्लेटिको अग्रता दोब्बर पारे। राफेल भरानेले फर्नान्डो टोरेसमाथि खराब फाउल गरेपछि एट्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो। ग्रिजम्यानले यसअघि रियालविरुद्धको भेटमा २ पटक पेनाल्टीको अवसर खेर फालेका थिए। जसमध्ये गत वर्ष फाइनलमा गुमाएको पेनाल्टी पनि पर्छ।

यद्धपी रियालका इस्कोले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा गोल गर्दै अन्तर घटाएपछि एट्लेटिको च्याम्पियन्स लिगको फाइनल पुग्ने सम्भावना न्युन बन्दै गएको थियो। टोनी क्रुसको प्रहार विपक्षी गोलकिपर ओब्लाकले बचाउँदा रिबाउन्डमा प्राप्त बललाई इस्कोले जाली चुमाएका थिए ।

‘फाइनलमा प्रवेश गर्न पाउदाँ म धेरै हर्षित छु,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘यहाँ सम्म पुग्न धेरै लामो यात्रा पार गरेका छौं। लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा सम्पूर्ण टोलीलाई बधाई दिनै पर्छ।’

एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगका पछिल्लो ३  भेटमा गोल गरेका रोनाल्डो यस खेलमा भने गोल गर्न असफल भए। दोस्रो हाफको सुरुमै रोनाल्डोको फ्रि–किक ओब्लाकले रोकेका थिए। यससँगै रोनाल्डो एट्ललेटिकोविरुद्ध कीर्तिमानी २१ गोल गर्नबाट चुके। त्यस्तै नाभासले यानिक कारास्को र केभिन गामेरियोको प्रहार विफल पारेपछि एट्लेटिकोले खेलमा फर्कने मौका गुमाएको थियो।

प्रकाशित: २९ वैशाख २०७४ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App