८ वैशाख २०८१ शनिबार
राजनीति

भोट हाल्न गाउँ फर्किनेको लर्को

हिमाल/खिलक/शिवहरि

काठमाडौं- कैली कार्की राजधानीको असनमा कपडा पसल गर्छिन्। सधैं पसलमा ग्राहक पर्खेर बस्ने उनी बिहीबार भने घर जाने तयारीमा थिइन्। उनको स्थायी घर सिन्धुपाल्चोकमा पर्छ। उनी सिन्धुपाल्चोक २० वर्षपछि आएको अवसर उपयोग गर्न फर्किन लागेकी हुन्। ‘चुनावमा भोट हाल्न घर जान लागेकी हुँ,’ कार्कीले सुनाइन्, ‘२० वर्षपछि आएको स्थानीय तहको नेतृत्व चयन गर्ने अवसर छुटाउनु भएन नि।’

पछिल्ला दिनमा नागढुंगा नाका हुँदै दैनिक ८–९ सय बस यात्रु बोकेर बाहिरिने गरेका छन्

स्थानीय चुनावमा व्यक्ति हेरेर मत दिने उनले बताइन्। भोट हाल्न जानुको खास कारण पनि उनले खुलाइन्। भूकम्पपछि तातोपानी नाका बन्द छ। सोही नाका हुँदै आएको सामान उनले असनमा बेच्ने गर्थिन्। सिन्धुपाल्चोकमा पनि उनको घर नाका आसपासमै पर्छ। ‘राम्रो व्यक्तिलाई जिताउन पाए नाका खुलाऊ भनेर भन्न पाइन्छ,’ उनले सुनाइन्, ‘त्यसैले त पसल बन्दै गरेर भोट हाल्न जान लागेकी।’ कार्की मत परिणाम आएपछि मात्रै फर्किने सोचमा छिन्।

कार्की जस्तै हरिकला जिसी पनि पुरानो घर सुर्खेतमा फर्किने तयारीमा छिन्। ‘शुक्रबार बिहानै जाने सोचमा छु,’ जिसीले सुनाइन्, ‘भोट दिन पाउनु अवसर हो, त्यसैले जान लागेकी हुँ।’ उम्मेदवारले चुनाव जितेर गएपछि प्रतिबद्धता पूरा गर्लान्/नगर्लान्, उनलाई त्यति चासो छैन किनकि उनी काठमाडौैंमै बसोवास गर्छिन्। केही परेको खण्डमा भने नेता नै चाहिने हुँदा भोट हाल्न जान लागेको उनले सुनाइन्। ‘काठमाडौंमा बस्दा पनि विभिन्न समस्या आइरहन्छन्,’ उनले भनिन्, ‘अहिले भोट हाल्न गएपछि त्यस्ता समस्या आएको खण्डमा नेताज्यू भोट चाहिने बेला मात्रै कि अघिपछि पनि हामीलाई सम्झनुहुन्छ भनी सोध्न पाइन्छ।’ गाउँका धेरै व्यक्ति सँगै जान लागेकाले गाडी नै रिजर्भ गरेको उनले सुनाइन्।

धादिङका सुरज दाहालचाहिँ शनिबार गाउँ फर्कने तयारीमा छन्। ‘गाउँका साथीले आइज भनेर बारम्बार फोन गरिरहेका छन्,’ दाहालले सुनाए, ‘शनिबार गाउँ जाने तयारीमा छु।’ उनले पहिलो पटक स्थानीय चुनावमा भोट हाल्न लागेका हुन्। साथीहरुको करसँगै दाहाललाई पनि भोट हाल्ने रहर लागेको छ। ‘स्थानीय नेता चुन्ने रहर छ,’ उनले भने।

करिब २० वर्षपछि आइतबार हुन लागेको पहिलो चरणको स्थानीय चुनावमा भोट खसाल्न कार्की, जिसी, दाहालजस्तै लाखौं सर्वसाधारण राजधानीबाट गाउँ फर्किंदैछन्। ट्राफिक प्रहरीका अनुसार दुईचार दिनयता उपत्यकाबाट बाहिरिने यात्रुवाहक सवारीसाधनको संख्या पनि बढ्दो छ। पछिल्ला दिनमा नागढुंगा नाका हुँदै दैनिक ८–९ सय बस यात्रु बोकेर बाहिरिने गरेका छन्।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका अनुसार साताभरि नै उपत्यकाबाट यो साता सुरु भएदेखि नै उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या उच्च छ। 'अन्य दिनको तुलनामा दुईचार दिन यता यात्रुवाहक सवारीसाधनको चाप क्रमशः बढ्दो छ,’ नागढुंगा नाकामा खटिएका प्रहरी नायब निरीक्षक अनुप राउतले भने, 'स्थानीय तहको चुनावको लागि मतदाता गाउँ फर्किने क्रम बढेसँगै सवारीसाधनको चाप पनि बढेको हुनुपर्छ।’

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक भगीरथ रेग्मीले कोटेश्वर सडक खण्ड हुँदै बाहिने सवारीसाधनको संख्या पनि उल्लेख्य बढेको बताए। 'निर्वाचनका लागि आफ्नो  गाउँघर फर्किेने मतदाताको घुइँचो देखिन्छ,' प्रहरी निरीक्षक रेग्मीले भने, 'बिहान र बेलुका काठमाडौंबाट बाहिरिने सवारीसाधनको भीड बढी देखिन्छ।' ट्राफिक प्रहरीका  अनुसार निर्वाचनकै लागि रिजर्भ गरेका गाउँघर फर्किने सवारीसाधनको संख्या पनि उच्च छ। काठमाडौं भित्रिने र बाहिरिने मालवाहक सवारीसाधनको संख्या भने क्रमशः घटिरहेको प्रहरीले जनाएको छ। प्रहरी नायब निरीक्षक राउतका अनुसार ट्रक, टि्रपर तथा अन्य मालवाहक सवारीसाधन निर्वाचनकै कारण गुड्न कम भएको छ।

आइतबार पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ। हुम्ला, मुगु, सुर्खेत, दैलेख, जाजरकोट सल्यान, रुकुम, डोल्पा, कास्की, पर्वत, तनहुँ, म्यादी, बाग्लुङ, स्याङ्जा, लमजुङ, गोरखा, चितवन धादिङ, मकवानपुर, रसुवालगायतका जिल्लाका २ सय ८३ स्थानीय एकाइमा आइतबार मतदान हुने कार्यक्रम छ।

प्रकाशित: २९ वैशाख २०७४ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App