काठमाडौं- स्थानीय तह निर्वाचनका क्रममा भएको झडमा एक जनाको मृत्यु भएको छ भने दुई उम्मेदवार अपहरणमा परेका छन्। तीन प्रदेशको ३४ जिल्लाका लागि सुरु भएको चुनाव प्रचारका क्रममा ६ जिल्लामा प्रतिस्पर्धी दलका समर्थकबीच झडप भएका छन्। झडपमा दलका धेरै कार्यकर्ता घाइते भएका छन्।
भरतपुर, पोखरालगायतका स्थानमा सत्ताधारी दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताबीच दोस्ती भए पनि जिल्लामा यी दुई दलका कार्यकर्ताबीच बढी कुस्ती भएको देखियो। गोरखा, रुकुममा सत्ताधारी दलका कार्यकर्ता भिड्दा प्रहरीले हवाई फायरै गर्नुपर्यो।
पहिलो चरणको निर्वाचन सुरक्षामा सेनासहित नेपाल प्रहरी, सशस्त्र र म्यादी गरी एक लाख सुरक्षाकर्मी परिचालित छन्।
गृह मन्त्रालयको तथ्यांकअनुसार तीन उम्मेदवार अपहरणमा परेको भनिए पनि एक जनाको अपहरण नक्कली रहेको खुल्यो। दुई जना उम्मेदवार प्रहरी सहयोगमा अपहरणमुक्त भएका छन्। काठमाडौंमा अपहरणमा परेका भनिएका नयाँ शक्ति नेपालका वडा अध्यक्षका उम्मेदवार मदन गिरीको अपहरण नक्कली भएको खुलेको थियो।
वैशाख २१ मा अपहरणमा परेका भनिएका उनी २३ गते बिहान सम्पर्कमा आएका थिए। अनुसन्धानमा पार्टीले सात लाख चुनावी खर्च मागेकाले उनी आफैंले अपहरणको नाटक गरेर साथीको घरमा गएर सुतेको खुलेको थियो।
म्याग्दीका कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुन अपहरणमा परेका थिए। दुधेखोलाबाट अपहरणमा परेका उनलाई प्रहरीले २४ घन्टापछि मंगला गाउँपालिका–३ को अर्जेखोलामा फेला पारेको थियो। उनको अपहरण निर्वाचनको विपक्षमा रहेको नेकपाले गरेको गृह प्रवक्ता बालकृष्ण पन्थीले बताए।
वैशाख १८ मा सल्यानका एमाले उम्मेदवार खड्क आचार्य अपहरणमा परेका थिए। बेलुका सल्यानको कुमाखमालिका गाउँपालिका ४ का उनी एमालेका वडा सदस्यको उम्मेदवार हुन्। उनलाई प्रहरीले राति १ बजे माल्लिका खोलाखेतबाट उद्धार गरेको थियो।
गोरखामा प्रहरीले १४ वटा सकेट बम फेला पारेको थियो। महोत्तरीमा टाइम बम बनाउन मिल्ने तार, डेटोनेटर, ६ वटा कुकर बमलगायतका विस्फोटक पदार्थसहित तीन जना पक्राउ परेका थिए। पक्राउ परेका सबै नेकपाका कार्यकर्ता रहेको प्रहरीले जानकारी दिएको छ। बिहीबार लहानको अञ्चल प्रहरी कार्यालय भवनमा बम विस्फोट भएको थियो।
गृह प्रवक्ता पन्थीले छिटफुट घटना भए पनि अधिकांश स्थानको अवस्था शान्तिपूर्ण रहेको बताए।
'केही स्थानमा झडप भए पनि सुरक्षा निकायको सजगताका कारण ठूलो घटना हुन पाएको छैन,' पन्थीले भने, 'आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा अवस्था बलियो बनाएका छौं।'
गोरखामा धेरै झडप
गृहको तथ्यांकअनुसार स्थानीय तह निर्वाचन प्रचार सुरु भएपछि दाङ, गोरखा, रुकुम, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भए। झडपका क्रममा दोलखामा एक जनाको मृत्यु भएको छ।
गृहका अनुसार रुकुम र गोरखामा सत्ताधारी दल माओवादी र कांग्रेसका समर्थकबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो।
२७ गते गोरखाको गण्डकी नगरपालिका खस्टारमा कांग्रेस र माओवादी केन्द्रका समर्थकबीच झडप भएको थियो। गाविस भवनमा चुनाव प्रचार गरिरहेका दुवै दलका कार्यकर्ताले एक अर्कामाथि ढुंगा हानाहान सुरु गरेपछि सुरक्षाकर्मीले दुई राउन्ड हवाई फायर गरेको थियो।
गोरखाकै लक्ष्मीबजारमा नयाँ शक्ति नेपाल र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। गोरखाको बगुवामा कांग्रेस र एमालेबीच झडप भएको थियो।
२६ गते रुकुमको सानोभेरी गाउँपालिकाको चुनावी कार्यक्रममा हिँडेका कांग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेपछि दुवै पक्ष झडपमा उत्रिएका थिए। झडपका क्रममा दुवैतर्फका चार कार्यकर्ता घाइते भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको थियो।
दाङको मुसिकोट नगरपालिकामा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका थिए। नुवाकोटको शिवपुरी गाउँपालिकामा एमाले र कांग्रेसबीच झडप भएको थियो।
दोलखाको जुगुमा एमाले र माओवादी केन्द्रका समर्थकबीचको झडपमा गौरीशंकर गाउँपालिका २ का वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङको मृत्यु भयो। घटनामा चार जना घाइते भएका थिए।
धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र एमालेका समर्थकबीच झडप भएको थियो।
घरदैलो कार्यक्रमका क्रममा दुवै दलका कार्यकर्ताबीच जम्काभेट हुँदा भएको झडपमा चारजना घाइते भएका थिए। झडप बढ्न नदिन स्थानीय प्रशासनले गाउँमा सशस्त्र प्रहरी खटाउनुपरेको थियो।
डोल्पामा उम्मेदवारी दाबीविरोधमा विवाद हुँदा वैशाख २० मा कांग्रेस र एमालेका कार्यकर्ताबीच निर्वाचन कार्यालयअगाडि झडप भएको थियो। नुवाकोटमा कांग्रेसका गाउँपालिका उम्मेदवार रामकृष्ण थापाको चुनावमा प्रयोग भएको गाडीमा आगो लगाइएको थियो।
धादिङको दार्खामा एमाले उम्मेदवारको गाडीमा आगो लगाइएको थियो।
यस्तै भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार रेणु दाहालको प्रचारमा प्रयोग भएको गाडी जलाइएको थियो।
गृह मन्त्रालयका अनुसार निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको अभियोगमा दुई सय तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २ सय ५९ नेकपाका कार्यकर्ता छन् भने ४४ जना आपराधिक पृष्ठभूमि भएका छन्।
प्रकाशित: २९ वैशाख २०७४ ०३:५७ शुक्रबार