coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'सबै घरमा पुग्न सम्भव भएन'

काठमाडौं- बूढानीलकण्ठ–१०, कपन बस्दै आएका डिल्लीप्रसाद सापकोटा (७९) स्थानीय तहको चुनावमा मतदान गर्न गृहजिल्ला सिन्धुपाल्चोक जाने तयारीमा छन्। २०१५ सालदेखिका चुनावमा निरन्तर मतदान गर्दै आएको भए पनि यस पटकको चुनावमा कसरी मतदान गर्ने भन्ने अन्योल रहेको उनले नागरिकसँग बताए। सापकोटा भन्छन्, 'सात ठाउँमा छाप लगाउनुपर्छ भन्ने सुनेको छु। तर कसरी कहाँ–कहाँ छाप लगाउने भन्ने बुझेको छैन।'

'हामी घरघरमा पुगेर पनि मतदातालाई सिकायौं। तर छोटो समय भएकाले सबै घरमा पुग्न सकिएन।'

बूढानीलकण्ठ–१० कै मतदाता देवी घिमिरेले पनि मतदान गर्ने तरिका थाहा नभएको बताइन्। उनले भनिन्, 'पहिलोपटक भोट हाल्न लागेकी हुँ। कसरी कति जनालाई भोट हाल्ने थाहै छैन।'

सापकोटा र घिमिरे त प्रतिनिधि पात्र मात्र हुन्। स्थानीय तहको निर्वाचनमा मतदान गर्न तीन दिनमात्र बाँकी हुँदा अधिकांश मतदाता कसरी मतदान गर्ने भन्ने अन्योलमा देखिएका छन्। मतदाता शिक्षा सबै मतदातासम्म नपुगेका कारण वैशाख ३१ मा हुने निर्वाचनमा बदर मतको संख्या बढ्ने आशंका सरोकारवालाले व्यक्त गरेका छन्।

निर्वाचन आयोगले मतदातालाई शिक्षित गर्न मतदाता शिक्षा स्वयंसेवक खटाए पनि सबै मतदातासम्म उनीहरू पुगेका छैनन्। समय अभावका कारण घरघरमा पुग्न नसिकएको स्वयंसेवकको भनाइ छ।

'स्थानीय संघसंस्था र दलका प्रतिनिधिलाई मतदान गर्ने तरिकाबारे जानकारी दियौं। उनीहरूले नै मतदातालाई शिक्षित गर्दै आएका छन्,' बूढानीलकण्ठ–१० मा आयोगबाट खटिएकी स्वयंसेवक नमुना दाहालले भनिन्, 'हामी घरघरमा पुगेर पनि मतदातालाई सिकायौं। तर छोटो समय भएकाले सबै घरमा पुग्न सम्भव भएन।'

आयोगले नमुना मतपत्र नदिएकाले पनि मतदातालाई शिक्षित गर्न समस्या भएको उनले बताइन्। 'एक महिनासम्म एउटा मतपत्रको भरमा मतदातालाई बुझाउनुपर्‍यो। अहिलेसम्म पनि आयोगले थप नमुना मतपत्र उपलब्ध गराएको छैन,' दाहालले भनिन्। ६ वटा मतपत्र एउटैमा भएकाले मतदाता अलमलिने सम्भावना बढी रहेको उनले बताइन्। खुला सदस्यलाई मतदान गर्न अझ बढी अलमलिने उनको भनाइ छ।

दलहरूले भने आफू निकट मतदातालाई मतदानको तरिकाबारे जानकारी गराउँदै आएको देखिन्छ। कपनस्थित बाल उद्धार मावि मतदान केन्द्रमा भेटिएकी एमाले प्रतिनिधि बिन्दा गौतमले पार्टीका तर्फबाट मतदातालाई जानकारी गराउँदै आएको बताइन्। 'अहिलेको मतपत्रमा मतदान गर्न जानेबुझेका पनि अलमलिने देखिन्छ। वृद्धवृद्धाका धेरै मत बदर हुने सम्भावना छ,' उनले भनिन्, 'पार्टीका तर्फबाट मतदातालाई जानकारी दिइरहेका छौं। समय छोटो भएकाले पार्टीले पनि प्रभावकारी रूपमा मतदाताई शिक्षित गराउन सम्भव भएन।'

बिहीबारदेखि मतदाता परिचय वितरण सुरु गरेको आयोगले परिचयपत्रसँगै मतदाता शिक्षा पनि दिने बताएको छ। परिचयपत्र वितरण मै बढी चाप परेकाले मतदाता शिक्षा दिन सम्भव नभएको उक्त केन्द्रका मतदान अधिकृत लेखनाथ भट्टराईले बताए। उनले भने, 'परिचयपत्र वितरण नै भ्याइनभ्याइ भएको छ। मतदाता शिक्षा स्वयंसेवक पनि चार जना मात्र छन्। उनीहरूले मतदातालाई सामान्य जानकारी दिएर पठाउने काम भइरहेको छ।'

मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाताले आफूले चाहेको उम्मेदवारलाई मत दिनसमेत कठिन हुने अवस्था देखिएको बूढानीलकण्ठ–१२ का मतदाता विष्णु धिताल बताउँछन्। उनी भन्छन्, 'मतदान गर्ने तरिका र कति जनालाई मत हाल्ने भन्ने धेरैलाई थाहा छैन। आफूले चाहेको उम्मेदवारलाई मत हाल्नै नसक्ने देखिन्छ।' मत माग्न घरदैलो अभियानमा आएका दलका प्रतिनिधिले दिएको सामान्य जानकारीकै भरमा मतदान गर्नुपर्ने अवस्था देखिएको उनले बताए।

प्रकाशित: २९ वैशाख २०७४ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App