coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मौन अवधि सुरु, प्रचारप्रसार बन्द

काठमाडौं- देशका दुई सय ८३ वटा स्थानीय तहमा आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार बन्द भएको छ।

३४ जिल्लाका ४९ लाख ५६ हजार नौ सय २५ मतदाता स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधि चुन्न मतदानको प्रतीक्षामा छन्।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले मौन अवधि सुरु भएकाले अब मतदानको काम पूरा नभएसम्म कसैले कुनै उम्मेदवारको पक्ष या विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्नगराउन निषेध गरिएको बताए। 'बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ, स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ,' आयुक्त दाहालले नागरिकसँग भने, 'कसैले आचारसंहिता उल्लंघन गरे कसुर हेरेर एक वर्ष कैद, एक लाख रुपैयाँ जरिबाना र उम्मेदवारले उल्लंघन गरे उम्मेदवारी रद्दसम्मका कारबाही हुन सक्नेछ।' आयुक्त दाहालले आचारसंहिता उम्मेदवारलाई मात्रै नभई मतदाता, कर्मचारी, सञ्चारमाध्यमलगायतका सबैलाई लागू हुने बताए।

निर्वाचन मिति घोषणा भएसँगै आचारसंहिता लाग्ने भए पनि मौन अवधिमा भने विशेष संयमता अपनाउनुपर्ने हुन्छ। स्थानीय तह निर्वाचन निर्देशिकामा मौन अवधिमा प्रचारप्रसार गर्न वा शान्ति भंग गर्न निषेध गरिएको छ।

निर्वाचन आयुक्त दाहालका अनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री सम्बन्धित दल वा उम्मेदवारले हटाएको हुनुपर्छ।

यस्तै अब एसएमएस, फेसबुक, भाइबरलगायतका विद्युतीय माध्यमबाट प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, टाटुजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पाइनेछैन। कसैले गराएको पाइएमा निर्वाचन आयोग,  सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा प्रहरीलाई उजुरी गर्न सकिनेछ। त्यसैगरी मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलका पक्षमा समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्नसमेत पाइनेछैन। कानुनअनुसार निर्वाचनको ४८ घन्टाअघि मौन अवधि सुरु हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। मतदाताले मतपत्रमा आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई आफ्नो स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्य चुन्नेछन्।

तयारी पूरा

निर्वाचन आयोगले आइतबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन आयुक्त दाहालले ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहअन्तर्गतका ६ हजार ६ सय ४२ वटै मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पुगिसकेको बताए। 'कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुगेर काम सुरु भइसकेको छ,' दाहालले भने, 'अब कर्मचारी मतदान गराउन र मतदाता मतदान गर्न प्रतीक्षामा छन्।'

परिचयपत्र वितरण सुरु

मतदानका लागि निर्वाचन आयोगले बिहीबारदेखि ६ हजार ६ सय ४२ मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण थालेको छ। स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई बिहीबार, शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण गर्ने भएको हो। जसअनुसार अधिकांश मतदाताले बिहीबार आआफ्नो मतदान केन्द्रमा पुगेर मतदाता परिचयपत्र लिए। आयोगले ४९ लाख ५६ हजार नौ सय २५ मतदाताको परिचयपत्र मतदान केन्द्रमा पठाइसकेको छ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले यसपालिको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य हुनेछ। यसअघि दोस्रो संविधानसभा निर्वाचनका बेला मतदाता परिचयपत्र लिएका मतदाताले पनि पुनः मतदान केन्द्र पुगेर आफ्नो नयाँ मतदाता परिचयपत्र लिनुपर्नेछ।

'यसपालिको निर्वाचनमा मतदाता परिचयपत्र नभए मतदान गर्न पाइँदैन, बिहीबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भइसकेको छ,' उनले भने, 'शनिबारसम्म मतदान केन्द्र पुगेर आफ्नो परिचय खुल्ने कागजात देखाएर परिचयपत्र लिन सकिनेछ।'

आफ्नो मतदाता परिचयपत्र लिन परिचय खुल्ने कागजात लिएर मतदाता स्वयं मतदान केन्द्र/स्थल पुग्नुपर्नेछ। आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यलाई मञ्जुरीनामा पठाएर लिन सकिनेछ। पहिलो चरणमा प्रदेश ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुने स्थानीय तह निर्वाचनमा १३ हजार पाँच सय ५६ पदका लागि ४९ हजार तीन सय ३७ उम्मेदवारले चुनावमा अन्तिम प्रतिस्पर्धा गर्दैछन्। पहिलो चरणमा चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिकामा निर्वाचन हुँदैछ।

आयोगले दोलखा घटना छानबिन गर्ने

दोलखामा मंगलबार राति भएको घटना छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। दोलखामा मंगलबार राति झडपका क्रममा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा एक एमाले कार्यकर्ताको ज्यान गएपछि आयोगले उक्त घटना छानबिन गर्ने भएको हो। यसअघि बुधबार एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले आयोगलाई उक्त घटनाबारे ध्यानाकर्षण गराएका थिए। आयोगका अनुसार आयुक्त शाह र अर्की आयुक्त इला शर्मालगायतको टोली शुक्रबार दोलखा गई घटना छानबिन गर्ने भएको छ। 'आयोगको टोली दोलखा जाँदैछ,' आयुक्त दाहालले भने, 'छानबिनपछि आयोगले दोषीमाथि आवश्यक कारबाही अघि बढाउनेछ।'

प्रकाशित: २९ वैशाख २०७४ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App