coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतदाताहरूको माग : रोजगारीदेखि सामाजिक सुरुक्षा

भेरी नगरपालिका ४ गैरीखालीमा गरिएको नमुना मतदानमा मत खसाल्ने अभ्यास गर्दै ७४ वर्षीया ओमकुमारी खत्री । तस्बिर : जनक केसी

जाजरकोट – घरमा  भोट माग्न  आउने सबै दलका  उम्मेदवारहरुसँग त्रिवेणीनलगाड नगरपालिका  १०  औलगुर्ताका  २८ वर्षीय तेजवहादुर विक र भेरी नगरपालिका ४ गैरीखालीकी ७४ वर्षीया ओमकुमारी खत्रीले फरक परक  माग राख्ने गरेका छन् ।  

 स्नातक सम्मको पढाइ पुरा गरेका विकले घरमा जुन पार्टीका उम्मेदवार आएपनि एउटै  प्रश्न सोध्ने गरेका छन्  तपाईलाई भोट हाले मैले रोजगारी पाउँछु कि नाई ? अनि  एकल महिला समेत रहेकी ७४ वर्षीया ओमकुमारीले सोध्छिन् भोट माग्न आउने  सबै उम्मेदवारसँग तपाईलाई भोट हाले मेरो वृद्ध भत्ता कति पुग्छ ? 

बुढेसकालमा जीवन जिउन निकै कठिन भयो तपाईले जिते म जस्तै धेरै वृद्धवृद्धाको सुरक्षा कसरी गर्नु हुन्छ? उनले  सबै उम्मेदवारहरुलाई सोध्ने  गरेकी छिन् ।  सबैले विकासका नाराहरू  आकर्षक ल्याएका छन्  तर  म  जस्तै युवाहरुको लागि  आत्मनिर्भर बन्ने  र विदेश जानै नपर्ने रोजगारीको ग्यारेन्टी गर्ने लाई भोट हाल्ने  हो  औलगुर्ताका तेजबहादुर भन्छन्।

मलाई गाउँको विकास र सम्वृद्धि भन्दा पहिला  जागिर चाहिन्छ विक जस्तै  कुसे  गाउँपालिका अर्छानीकी सरस्वती सिंहले भनिन् । स्नातक तहमा अध्ययन गरिरहेकी उनले  भनिन्  हामी यत्रो उमेर सम्म बेरोजगार भएर पढ्ने मात्र काम गरिरहेका छौं हाम्रो माग जसले पुरा गर्छ भोट पनि उतै  जान्छ  । 

त्यस्तै जुनिचँदे ५ गर्खाकोटका ६७ वर्षीय बेदबहादुर विक पनि  आफू जस्ता बुढाबुढीलाई जसले  राम्रो भत्ता र सुरक्षाको व्यवस्था गर्छ उसैलाइ भोट हाल्ने  बताउँछन् ।

बुढेसकालमा  जसले  हाम्रो राम्रो ख्याल राख्ने  काम गर्छ उसैलाइ भोट हाल्ने हो बाबु उनले घरमा भोट माग्न आउने सबै उम्मेदवारसँग  भन्ने गरेका छन् ।  

तेजबहादुर, सरस्वती, ओमकुमारी र बेदबहादुरले मात्र होइन जिल्लाका सबै  नगरपालिका र गाउँपालिकाका युवा र जेष्ठ नागरिकहरूले अहिले उम्मेदवाहरुसँग आफ्नो आफ्नो उमेर सामाजिक एवम् राजैनितक अवस्था अनुसारका माग राखेर उम्मेदवारहरुसँग प्रतिबद्धता माग्न  थालेका छन् ।

यो पटकको चुनावमा सबै अधिकार गाउँमा आउने भएकोले आफूहरूले  वास्तविक रुपमा भोगिरहेको समस्या हल गर्ने उम्मेदवारलाई भोट हाल्ने विचार गरेको  उनीहरू बताउँछन् ।  ‘सधै भोट माग्छन्  पछि बिर्सन्छन् तर यो पटक  हामी झुक्याउने  नेतालाई भोट हाल्दैनौं, गर्खाकोटकी ६५ वर्षीया शितला शाहले भनिन् ।  मेरो मात्र होइन अहिले सबै जनताले यस्तै भन्छन्’,  उनले भनिन् । 

 गाउँमा  जनताले  पार्टी भन्दा पनि आफुहरुले भोगिरहेका  समस्यालाई तत्काल सम्बोधन गर्न सक्ने नेता र दलको खोजी गरिरहेको  नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । 
युवाहरू रोजगारीका लागि उम्मेदवारसँग गुनासो पोखिरहेको र जेष्ठ नागरिकहरुले आफुहरुको सामाजिक सुरक्षाको प्रबन्ध राम्रोसँग गरिदिन उम्मेदवारहरुसँग  आग्रह गरिरहेको बताए । पहिले जस्तो गाउँका जनताले बिजुली पानी, बाटो  माग्ने  कुरा नगरेको  उनले  बताए ।  

युवा र जेष्ठ नागरिकहरूले राखेका मागहरू आफुहरुले पुरा गर्ने भन्दै उम्मेदवारहरूले पनि  बाचा गरिरहेका छन् । त्रिवेणी नगरपालिकामा  नेकपा माओवादी केन्दबाट मेयर पदका प्रत्यासी टेकबहादुर रावलले आफू निर्वाचित भइसकेपछि पहिलो प्राथमिकता नै युवाको रोजगारी हुने बताए । अब हामीले गरेको वाचा जसरी नि पुरा गर्नुपर्छ उनले भने ।

त्यस्तै भेरी नगरपालिकामा नेपाली काग्रेसबाट मेयर पदमा प्रत्यासी रहेका सनतकुमार कार्कीले पनि  जेष्ठ नागरिकहरूको भत्तामा वृद्धि गर्दै उनीहरुलाई  घरमै पुगेर भत्ता वितरण गर्ने प्रतिबद्धता गरेका छन् । कृषि र उध्योगका पूर्वाधारहरु तयार गरी युवालाई रोजगारी दिने र जेष्ठ नागरिकलाई  उचित सम्मान दिने आफनो  योजना रहेको उनले बताए ।
 
उता एमालेको तर्फबाट छेडागाड नगरपालिकामा मेयरका प्रत्यासी बनेका  लालबहादुर महताराले जेष्ठ नागरिकको सम्मान र युवालाई रोजगारी आफ्नो  सशक्त अजेन्डा रहेको बताए । युवालाई रोजगारीका लागि विदेश जानबाट रोक्ने आफ्नो  योजना रहेको उनले बताए । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा तीन प्रमुख दलहरूका उम्मेदवारहरुकैबीचमा  कडा प्रतिष्पर्धा रहेको छ भने जनताले उम्मेदवारका अजेन्डालाई पनि  भोट दिने आधारको रुपमा लिएका छन् । 

प्रकाशित: २८ वैशाख २०७४ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App