८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसलाई भलिबल 'सुन्दरी'को साथ

पोखरा- स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाका कांग्रेस उम्मेदवार रामजी कुँवर (मेयर) र सरस्वती गुरुङ (उपमेयर)को प्रचारप्रसारमा दुई भलिबल 'सुन्दरी'ले साथ दिएका छन्।

भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र सिपोरा गुरुङ उनीहरूसँगै प्रचारप्रसारमा खटिएका छन्। उपमेयरकी उम्मेदवार सरस्वतीसगँको लामो संगतले कांग्रेसले प्रचारप्रसारमा भलिबल सुन्दरीद्वयको साथ पाएको हो। कांग्रेस भन्दा पनि सरस्वती गुरुङसँगको निकटताले निर्वाचनमा खटिएको खेलाडीद्वय बताउँछन्।

भलिबल खेलाडी तथा अभिनेत्री सिपोरा सरस्वतीको उम्मेदवारीसँगै प्रचारप्रसारमा खटिएकी छिन्। 'चुनावमा हिँडेको पहिलोपटक हो। घरमा बसेर फेसबुक हेरेर कुनै राजनीतिक दलको नकारात्मक रूपमा टिप्पणी गर्नुभन्दा यथार्थ बु‰न मैदानमा झरेकी हुँ,' सिपोराले भनिन्, 'अधिक युवाको राजनीतिमा चासो छैन। तर, राजनीतिलाई सधैं बेवास्ता गरेर हुँदैन। त्यही भएर प्रचारमा खटिएकी छु।'

निर्वाचन प्रचारमा हिँड्दा सिपोराले राजनीतिक दलका नेतालाई गाली गरेर मात्र हुने रहेनछ भन्ने बुझेकी छिन्। 'राजनीतिक दलमा सबै नराम्रा छैनन्। एक नराम्रो भयो भन्दैमा सबैलाई गाली गर्नु उपयुक्त होइन,' सिपोरा भन्छिन्, 'आफू सहभागी नहुने तर, घरमा बसेर दल र नेतालाई गाली गर्ने चलन अब तोड्नुपर्छ।'

पोखराको विकासका लागि उत्कृष्ट उम्मेदवारका रूपमा सरस्वतीलाई देखेर प्रचारप्रसारमा सघाएको उनले बताइन्। 'पोखरामा जन्मे, हुर्केको भएर होला, पोखराको समृद्धि मेरो मनले चाहन्छ। मनबाटै नै पोखरा राम्रो होस् भन्ने चाहन्छु,' उनले भनिन्, 'त्यसमा सरस्वती दिदी उपयुक्त उम्मेदवार ठानेकी छु। त्यही भएर हामीले सघाएका हौं।'

भलिबल खेलाडी भएकोले सिपोराले पोखराको खेलकुदको क्षेत्रमा धेरै नै काम गर्न बाँकी रहेको ठानेकी छिन्। र, महानगर हाँक्ने अबका पदाधिकारीले ती पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछिन्। 'हामी पोखरालाई खेलकुदको राजधानी भन्छौ, तर पूर्वाधार छैनन्। पोखराका रंगशाला जतिको भीड राजधानीमा कुनै प्रतियोगितामा हुँदैन,' उनी भन्छिन्, 'सबैखाले खेलकुदका लागि पोखरामा धेरै काम गर्नुछ। खेलकुदको राजधानी नाममा मात्र सीमित राख्नु हुँदैन। अब खेलाडी उत्पादन र पूर्वाधारमा ध्यान दिनुपर्छ।'

उम्मेदवारसँग हिँड्दा आफूहरूको खेल हेरेका दर्शकको साथ पाउने सिपोराको विश्वास छ। 'जसले हाम्रो खेल हेरेको छ। उनीहरूले हामीलाई सम्झेर हाम्रो साथ पाएका उम्मेदवारलाई सघाउनेछन्,' उनले भनिन्।

भलिबलकी अर्की खेलाडी मञ्जु पनि दलभन्दा व्यक्तिलाई सघाएको बताउँछिन्। 'हामीले कुनै दललाई साथ दिएका होइनौं। हामीलाई माया गर्ने सरस्वती दिदीलाई जिताउन खटिएका हौं,' मञ्जुले भनिन्, 'असल उम्मेदवार ठानेर हामी उहाँको प्रचारमा छौ।' वित्तीय संस्थामा काम गर्ने मञ्जु बिदाको दिनमा मात्र प्रचारप्रसारमा खट्ने गर्छिन्।

उनको पनि निर्वाचन प्रचारप्रसारमा हिँडेको पहिलो अनुभव हो। यसअघिका कुनै निर्वाचनमा खेलाडीद्वयले भोट हालेका छैनन्। वर्ष खेलाडीका रूपमा केही वर्षअघि आफ्नै लागि भोट मागेकोबाहेक दलका उम्मेदवारसँग निकट भएर हिँडेको पहिलो अनुभव भएको मञ्जुुले बताइन्। 'केही वर्षअघि मलाई एसएमएस गर्नु भन्दै भोट मागेकी थिएँ। अहिले सरस्वती दिदीलाई भोट माग्न हिँडेकी छु। त्यो बेला एसएमएस र अहिले भोट माग्नुमा निकै फरक छ,' उनले भनिन्, 'उत्कृष्ट उम्मेदवार लागेकैले सरस्वतीलाई सघाएकी हुँ।'

भलिबलमा चिनिएकाले प्रचारप्रसारमा हिँड्दा उम्मेदवारले थप मत पाउने मञ्जुको विश्वास छ। 'हामी साथमा हुँदा दर्शकको मन जित्न सकिने रहेछ,' उनले भनिन्, 'खेलाडी पनि साथमा रहेछन् भन्ने मतदातालाई पर्दाेरहेछ।' मञ्जुले पनि पोखराको खेलकुदमा केही गर्नसक्ने क्षमतावान उम्मेदवारको रूपमा सरस्वतीलाई देखेरै सघाएको बताइन्। 'खेलाडी भएकोले पनि होला, मलाई पोखराको खेलकुद क्षेत्रमा धेरै काम गर्नुपर्नेछ। हामीले खेलाडीको नजरबाट हेर्ने हो,' उनले भनिन्, 'अबका उम्मेदवारले पनि जितपछि पोखराको खेल क्षेत्रको विकासमा सघाउनुपर्छ।'

उपमेयरकी उम्मेदवार सरस्वती भलिबल खेलाडीद्वयको सहयोगले प्रचारप्रसार थप प्रभावकारी भएको बताउँछिन्। 'परिचित भलिबल खेलाडी प्रचारप्रसारमा हिँड्दा मतदाता रिझाउन सहज हुने रहेछ,' उनले भनिन्, 'खेलाडी बहिनीको सहभागिताले प्रचारप्रसार प्रभावकारी बनाउन सहज भएको छ।'

 

कांग्रेसबाट पोखरा–लेखनाथ महानगरको उपमेयरमा उम्मेदवार बनेकी सरस्वति गुरुङको प्रचारप्रसारमा हिँडेका खेलाडीद्वय सिपोरा (क्याप) र मञ्जु गुरुङ (दायाँ)। तस्बिर सौजन्य :  सुदर्शन रञ्जित

प्रकाशित: २८ वैशाख २०७४ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App