हेटौंडाका मेयर आकांक्षीद्वारा पहिचान पुनःस्थापित गर्ने घोषणा

बिहिबार, २८ बैशाख २०७४, १२ : ०० नागरिक

मणि दाहाल/अशोकसुजन श्रेष्ठ

हेटौंडा- स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा हेटौंडा उपमहानगरपालिकामा मत आफ्नो पक्षमा पार्न राजनीतिक दल अन्तिम चरणको प्रचारमा जुटेका छन्। ७२ घन्टे मौन अवधि सुरु हुनुअघि नै दलहरु मतदातानजिक पुग्न तीव्रताका साथ लागेका छन्।

घरदैलो, कोणसभा, माइकिङ मात्रै नभएर उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ता व्यक्ति सम्पर्कलाई समेत प्रयोग गरेर भोट आफ्नो पक्षमा पार्न व्यस्त छन्। 'उपमहानगरपालिका बनेपछि यसको आकार ठूलो भयो र चुनाव प्रचार गर्ने दिन पनि थोरै भएकाले घरदैलो र व्यक्तिगत रुपमा भोट माग्नेभन्दा कोणसभालाई बढी जोड दिएका छौं', एमालेका मेयर प्रत्याशी हरिबहादुर  महतले भने।

हेटौंडा उपमहानगरपालिकाको मतदाता संख्या ८३ हजार ५ सय ५७ छ। उपमहानगरपालिका मात्रै नभएर पूरै मकवानपुरमा पहिलो संविधानसभाबाहेक अन्य निर्वाचनमा एमालेको वर्चस्व रहँदै आएको छ। तर यसपटक एमालेको वर्चस्व तोडिने कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले दाबी गरेका छन्। कांग्रेस माओवादी केन्द्रसँग गठबन्धन गरी प्रतिस्पर्धामा होमिएको छ। दुवै दलबीच थाहा नगरपालिका र भीमफेदी  गाउँपालिकामा पनि गठबन्धन भएको छ। मकवानपुरमा ८ गाउँपालिका, एक नगर र एक उपमहानगरपालिका छन्। 

पहिलो संविधानसभा चुनावमा नराम्रोसँग पराजित भएको एमालेले दोस्रो संविधानसभामा आइपुग्दा कमब्याक गरेको थियो भने यसै निर्वाचनबाट कांग्रेस पनि जिल्लामा पहिलो पटक खाता खोल्न सफल भएको थियो। यसले कांग्रेसलाई चुनावमा उत्साहित पारेको छ। 'हामी निरन्तर रुपमा बढ्दै गएका शक्ति हौं। प्रत्येक चुनावमा हाम्रो उपस्थिति सुदृढ बन्दै गएको छ', कांग्रेसका उपमहानगरपालिका मेयर उम्मेदवार आनन्दराम पराजुलीले भने, 'नगरवासीले परिवर्तन चाहेका छन् र विकास चाहेका छन्। उनीहरुले विकास गर्ने कांग्रेस हो भन्ने बुझेका छन्।' कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले एमालेसँग प्रतिस्पर्धा रहेको बताए। उनले दोस्रो र तेस्रो स्थानमा एमाले र राप्रपा रहने तर्क गरे।

एमालेका उम्मेदवार महतले विगतमा नगरपालिकामा हुँदा आफूहरुले दृष्टान्त राख्ने गरी काम गरेको कारण जित्ने दाबी गरे। 'डोरमणि पौडेलको नेतृत्वमा हामीले गरेको कामको देशभरका नगरपालिकालाई उदाहरण बन्ने काम भएको छ', दुई पटक उपमेयर बनेका महतले भने, 'संगठनको रुपमा पनि हामी निकै बलिया छौं। कांग्रेस दोस्रो भए पनि हामीभन्दा धेरै पछि छ र राप्रपा तेस्रो नम्बरमा छ।'

बहुमत वडासहित पहिलो बनेर चुनाव जित्ने दाबी गर्दै राप्रपाका मेयर उम्मेदवार मधु अधिकारीले भने, 'हामी ठूलो मतान्तरले अघि छौं। माओवादी गठबन्धन बनेपछि कांग्रेस र एमालेमध्ये को दोस्रो हुन्छ, भन्न सकिँदैन।'

हेटौंडा उपमहानगरपालिकामा गाभिएका हर्नामाडी, हटिया क्षेत्र नम्बर १ अन्तर्गतका गाविस हुन्। त्यसमा तुलनात्मक रुपमा कांग्रेस सशक्त मानिन्छ। दोस्रो संविधानसभामा मकवानपुर–१ मा कांग्रेसका इन्› बानियाँले एमालेका उम्मेदवारलाई राम्रो मतान्तरले हराए, समानुपातिकतर्फ पनि सोही दलले बढी मत ल्यायो। यी दुवै गाविसमा तुलनात्मक रुपमा कांग्रेस एमाले र राप्रपाभन्दा मजबुत मानिन्छ।

क्षेत्र नम्बर ४ अन्तर्गतको बसामाडी अन्य दलको तुलनामा एमालेको पकड मजुबत छ भने क्षेत्र नम्बर ३ मा पर्ने पदमपोखरीमा एमाले र राप्रपा बराबरीको अवस्थामा मानिन्छ। क्षेत्र नम्बर ३ भित्र पर्ने चुरियामाईमा एमाले मजबुत मानिन्छ। साविकको हेटौंडा नगरपालिका, पदमपोखरी र चुरियामाई गाविस रहेको क्षेत्र नम्बर ३ मा गत संविधानसभा चुनावमा प्रत्यक्षतर्फ एमालेका अनन्त पौडेलले चुनाव जिते पनि तत्कालीन राप्रपा नेपालले समानुपातिकतर्फ बढी मत ल्याएको थियो। राप्रपाले त्यो मत फेरि दोहोरिने अपेक्षा गरेको छ। क्षेत्र नम्बर ३ मा समानुपातिकतर्फ कांग्रेस र माओवादी २ सय मत अन्तरमा क्रमशः तेस्रो र चौथो स्थानमा थिए।

राप्रपाले अपेक्षा गरिएका दीपक सिंहको साटो मधु अधिकारीलाई मेयरको प्रत्याशी बनाएको छ। राप्रपाका केन्›ीय सदस्य रहेका सिंह अघि भएका तीन निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी भएर पराजित भएका थिए। 

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले पहिलो जस्तो आक्रामक प्रचार शैली नभई भित्रभित्रै कार्यक्रम आयोजना गरेर चुनाव सञ्चालन भइरहेको बताए। 'यसअघिको संविधानसभा चुनावमा अन्तिम दिन विशाल र्‍याली गर्‍यौं। अब राप्रपाले जित्छ भनेर अपवित्र गठजोड भएर हराउने काम गरे', बर्तौलाले भने, 'हामी चुनावी प्रचारको तडकभडक देखाउनेभन्दा पनि मत परिणाम परिवर्तन गर्ने पक्षामा छौं।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको गृह जिल्ला भएकाले उनीहरुले हेटौंडाको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन्। सोमबारदेखि नै थापा गृह जिल्लामा बसेर चुनाव प्रचार गरिरहेका छन्। 'प्रचारको अवधिसम्म अध्यक्ष यतै हुनुहुनेछ', सहमहामन्त्री बर्तौलाले भने, 'बजार क्षेत्रमा अध्यक्षले भोट माग्नुभयो भने त्यसले धेरै मतलाई तलमाथि पार्नेछ।'

२०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि, २०५६ को आमनिर्वाचन मात्रै नभएर २०४९ र २०५४ सालको स्थानीय चुनावमा समेत हेटौंडासहित मकवानपुर जिल्लामा एमालेको वर्चस्व रह्यो। २०५१ सालको मध्यावधि चुनावमा राप्रपाका थापाले मकवानपुर–१ बाट चुनाव जितेका थिए। पहिलो संविधानसभा चुनावको समयमा चारवटै क्षेत्रमा नेकपा माओवादीले जिते पनि त्यसलाई निरन्तरता दिन सकेन।

दुई दशकपछि स्थानीय चुनाव गर्दा धेरै पक्ष परिवर्तन भएको छ। पहिलो मधेस आन्दोलनपछि तराईबाट बसाइँ सर्नेमध्ये धेरैको गन्तव्य हेटौंडा बन्यो। उनीहरु हेटौंडाको तीन, चार, पाँच, छ र सात नम्बर वडामा छरिएर बसेका छन्। यस्ता मतदाता १० प्रतिशतको हाराहारीमा रहेको अनुमान मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले गरे। 'पहिलेको तुलनामा अहिले बसाइँ सरेर आउनेको संख्या घटेको छ। बसाइँ सरेर आउनेले प्रमुख दलहरुलाई नै मत हालेको देखिन्छ', न्यौपानेले भने, 'अहिलेको चुनावी परिणामलाई यसले पनि प्रभावित पार्न सक्छ।'

नागरिक समाजका धेरैले व्यक्तिगत आधारमा मतदान हुन सक्नेतर्फ पनि औंल्याएका छन्। चलचित्र निर्माता नरेन्› महर्जनले पार्टी र व्यक्तिबीचको सम्बन्ध खुकुलो हुँदै गएकाले व्यक्ति हेरेर मत दिने सम्भवना धेरै रहेको औंल्याए। 'पहिले जस्तो पार्टीगत कट्टरता अहिले कम छ। त्यसैले व्यक्ति हेरेर पनि मतदान हुन्छ। यही पार्टी भनेर मानिस बाँधिएर बस्ने अवस्था अहिले छैन', उनले भने।

हेटौंडाको पहिचान पुनर्स्थापित गर्ने घोषणा

राजनीतिक दलहरूले हेटांैडाको औद्योगिक नगरीका रूपमा रहेको पहिचानलाई पुनर्स्थापित गर्ने घोषणा गरेका छन्। प्रमुख राजनीतिक दलहरूले चक्रपथ निर्माण, हेटौंडा–कुलेखानी सुरुङ मार्ग, काठमाडौं–निजगढ फास्ट ट्र्याकमा लिंक रोड ठूलो विकासका परियोजनालाई आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्।

सरकारले सात प्रदेशमा एकएक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाअनुरुप हेटौंडा उपमहानगरपालिकाको मयुरधापमा तीन सय बिघा क्षेत्रफलमा नयाँ औद्योगिक क्षेत्रमा कसरी उद्योग आकर्षित गर्ने भन्ने चुनौती सरकारसँग रहेको छ। 

क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द तथा स्थानान्तरण भएर अन्यत्र गएका छन्। हेटांैडा कपडा उद्योग, विराट लेदर, शान्ति वनस्पति घिउ, मासु प्रशोधन, बोरा उत्पादनलगायतका ठूलो उद्योग बन्द भए। हेटौंडा कपडा उद्योगमा मात्रै एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए। सो कपडा उद्योग पुनः सञ्चालनका विषय केन्›मा पनि राजनीतिक मुद्दा बन्दै आएको छ। 

उम्मेदवारहरू आफूले जिते व्यवस्थापक र मजदुरबीच सम्बन्ध सुधारका लागि पहल गर्ने बताउँछन्। एमालेतर्फबाट मेयरका पदमा प्रत्यासी हरिबहादुर महतले उद्यमीको लगानी नडुब्ने र मजदुरको न्यायोचित सुविधाका लागि नयाँ नेतृत्वले भूमिका निर्वाह गर्ने बताए। दुई पटक हेटांैडा नगरपालिकामा उपमेयर बनेका महतले काठमाडौंको विकल्प सहरकारूपमा हेटौंडाको विकास गर्ने बताए। 'हेटौंडालाई काठमाडांैपछिको दोस्रो ठूलो सहरकारूपमा विकास गराउने लक्ष्य छ', महतले भने, 'यहाँ बेरोजगारीको समस्या निकै छ। त्यसका लागि नयाँ उद्योगलाई करलगायत विषयमा छुट दिएर रोजगारी सिर्जना गर्न सकिन्छ।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका प्रत्यासी मधु अधिकारीले जग्गामा रहेको सिन्डिकेट तोड्न कदम चाल्ने बताएका छन्। उनले रोजगारी सिर्जना गर्ने उद्योग खोल्न प्राथमिकता दिने बताए। '२५ जनाभन्दा बढी रोजगारी दिने नयाँ उद्योगलाई १० वर्षसम्म स्थानीय कर नलिने व्यवस्था हुन्छ', अधिकारीले भने, 'हेटांैडा औद्योगिक क्षेत्रको जग्गामा रहेको सिन्डिकेट तोड्न आवश्यक छ।' सबै राजनीतिक दलले बेरोजगारी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेपाली कांग्रेसका मेयरका उम्मेदवार आनन्दराम पराजुलीले १० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 'दुवै औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई आकर्षित गर्दै वैदेशिक रोजगारीमा जाने अवस्था घटाउनेछौं', पराजुलीले भने।

प्रमुख राजनीतिक दलले हेटौंडालाई औद्योगिक नगरीको प्रतिष्ठालाई पुनस्थार्पित गर्ने बताएका छन्। हेटौंडा औद्योगिक क्षेत्रभित्र कुनै समय एक सय ३० वटा कारखाना सञ्चालनमा थिए। अहिले ८३ वटा मात्रै कारखाना सञ्चालनमा छन्। औद्योगिक क्षेत्रभित्र सिन्डिकेट छ। कतिपय व्यक्तिले महँगोमा जग्गा बिक्री गर्न ओगटेर राखेका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...