१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीको दाबी : १२-१३ वडामा जित्छौं

काठमाडौं- नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरका केही वडामा पकड जमाउन सकिने विश्लेषण गरेको छ। मेयर र उपमेयरमा कम सम्भावना आकलन गरेको यो पार्टीले पाँचवटा वडामा भने आफ्ना उम्मेदवारले जित्न सक्ने विश्लेषण गरेको छ।

'महानगरपालिकाका केही वडामा हाम्रो जबर्जस्त उपस्थिति हुनेछ,' माओवादीका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले भने। उनका अनुसार कांग्रेस र एमालेसँग नै बढी प्रतिस्पर्धा हुने आकलन छ। कुनै पनि वडामा माओवादीले अन्य दलसँग तालमेल गरेको छैन। माओवादी २, १३, १५, २० र ३२ नम्बर वडामा बढी आशावादी भएको एक  नेताले बताए।

माओवादीले महानगरपालिकाका ३२ वटै वडामा उम्मेदवार खडा गरेको छ। माओवादीका वडाध्यक्षका उम्मेदवारमध्ये तीनजा यसअघि नै एमालेबाट वडाध्यक्षमै विजयी भइसकेका हुन्। २२ वडाका माणिकरत्न स्थापित, २८ का सुवाङ कुमार र २ का रमेशमान डंगोल यसअघि नै एमालेबाट वडाध्यक्ष भइसकेका हुन्। माओवादीले ३ नं. वडामा शर्मिला भण्डारी, ४ मा सुशीला प्रजापति र १९ मा मैया महर्जन गरी तीन महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। १२ नम्बर वडाका राम डंगोल पत्रिका पसले हुन्। ३१ का उम्मेदवार वसन्त श्रेष्ठ स्थानीय समाजसेवी हुन्।

क्षेत्र नम्बर १

वडा नम्बर १०

यस वडाका उम्मेदवार रामप्रसाद आपागाईंले २०५४ सालदेखि नै बानेश्वर, मध्यबानेश्वर, बुद्धनगर क्षेत्रको विकासका लागि काम गरिरहेका छन्। वडा कार्यालयमा नै बसेर जनताको दुःखसुखमा साथ दिने बताउने आपागाईंले सोलार बत्ती, सडक निर्माणलगायतका क्षेत्रमा विकास गर्ने जनाएका छन्। 'मेरा प्रतिस्पर्धी बानेश्वर र बुद्धनगरतिरका छन्, ममात्रै मध्यबानेश्वरतिरको छु, यसकारण पनि मेरो विजय सुनिश्चित छ,' आपागाईंले भने, 'दुईवटा बुथमा आउने मत नै मेरो विजयको आधार हो।' उनले सो क्षेत्रमा कांग्रेससँग प्रतिस्पर्धा हुने बताए।

वडा नम्बर ११

थापाथली जनकल्याण परिवारको उपाध्यक्षसमेत रहेका पुष्प श्रेष्ठलाई माओवादीले उम्मेदवार बनाएको छ। उनी कांग्रेसमा बागी उम्मेदवार उठेकाले आफ्नो विजय सुनिश्चित भएको बताउँछन्। श्रेष्ठ वडाको विकास निर्माणमा अहोरात्र खटने जनाउँछन्। 'समाजमा आइपर्ने काम हिजो पनि गरेको थिएँ, चुनाव जितेपछि पनि गर्नेछु', श्रेष्ठले भने। कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुने उनको आकलन छ।

वडा नम्बर २९

यस वडाका उम्मेदवार रेवती दाहालले घट्टेकुलो अनामनगर क्षेत्रमा रहेको २३ रोपनी जग्गामा जेष्ठ नागरिक भवन, चिल्ड्रेन पार्क बनाउने योजना लिएर चुनावी मैदानमा छन्। एमाले र कांग्रेसभित्र विवाद देखिएकाले पनि आफ्नो जित सुनिश्चित देख्छन् उनी। उनका अनुसार सो वडामा माओवादीका साथै कांग्रेस, एमाले र स्वतन्त्रसहित चौपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

वडा नम्बर ३१

राजनीतिक कम र सामाजिक कार्यकर्ता बढी भएकाले र निरन्तर रुपमा वडामा क्रियाशील भएकाले यहाँ माओवादीले वसन्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ। श्रेष्ठले सो क्षेत्रका विकासमा निकै काम गरेकाले जित्न सक्ने बताउँछन्। 'लामो समयदेखि यस वडामा बसेर काम गरेकाले पनि मेरो जित निश्चित देखिन्छ', श्रेष्ठ भन्छन्। सुकुमवासी वस्ती व्यवस्थित बनाउनेदेखि जेष्ठ नागरिक मैत्री समाज बनाउनेसम्मका दर्जनौं अजेन्डा उनले अगाडि सारेका छन्। माओवादीको प्रतिस्पर्धा सो वडामा एमालेसँग हुने उनको भनाइ छ।

क्षेत्र नम्बर २

वडा नम्बर ९

यस वडामा माओवादीले नारायण लामिछानेलाई वडाध्यक्ष उम्मेदवार बनाएको छ। शान्तिप्रक्रियापछि माओवादी भएका उनी समाजसेवीका साथै होटल व्यवसायी पनि हुन्। बागमती पूर्वबाट बलियो उम्मेदवार भएकाले पनि जित्न सक्ने दाबी उनको छ। 'मेरो कुनै नयाँ योजना छैन, जनताले जेजे योजना माग्नेछन्, त्यही मेरो योजना हो', लामिछानेले भने। उनका अनुसार राप्रपासँग मुख्य प्रतिस्पर्धा हुनेछ।

क्षेत्र नम्बर ३

क्षेत्र नम्बर ४

वडा नम्बर १

यस वडाका उम्मेदवार नक्साल युवा मण्डलको अध्यक्षसमेत भइसकेका पंकज शाह समाजसेवीका रुपमा परिचित छन। आफ्नो वडालाई 'वर्किङ हेरिटेज' का रुपमा विकास गर्ने योजना लिएका उनले युवालाई प्राथमिकता दिएका छन्। ३ हजार ५ सय मतदाता तान्न घरदैलोभन्दा पनि फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जाल र मोबाइल प्रयोग गरेर मत मागिरहेको बताउँछन्। 'युवालाई रोजगारी दिलाउने र वडालाई व्यवस्थित बनाउनेजस्ता योजना छन्', शाहले भने। शाह निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने देख्छन्।

क्षेत्र नम्बर ५

वडा नम्बर २

माओवादी केन्द्रले विजय हुने सुनिश्चितजस्तै देखेको यस वडामा रमेशमान डंगोल उम्मेदवार छन्। उनी २०५४ मा एमालेबाट वडाध्यक्ष भइसकेका हुन्। 'स्वच्छ, सफा, हराभरा र सुरक्षित वडा बनाउने, टुकुचालाई व्यवस्थित बनाउने मेरा योजना छन्', डंगोलले भने। करिब ५ हजार १८ मतदाता रहेको यस वडामा कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुने उनले बताए।

वडा नम्बर ३

शान्ति प्रक्रियापछि माओवादी पार्टीमा आबद्ध सुरेन्द्र केसी यस वडामा उम्मेदवार छन्। 'युवालाई रोजगारी दिनेदेखि वडाका कार्यक्रम व्यवस्थित बनाउनेसम्म मेरो योजना छ', केसी भन्छन्। करिब ६ हजार मतदाता रहेको वडामा एमालेसँग प्रतिस्पर्धा हुने केसी बताउँछन्।

वडा नम्बर ४

यस वडामा शर्मिला भण्डारी उम्मेदवार छिन्। एमालेबाट राजनीति सुरु गरेकी भण्डारीले वडाका करिब १४ हजार मतदाताको विश्वास जित्न घरदैलो कार्यक्रम भ्याइसकेकी छन्। 'भ्रष्टाचारमुक्त वडा र व्यवस्थित खानेपानी, सफा सडक मेरा योजनामा छन्', भण्डारी भन्छिन्, 'शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउनेदेखि सरकारी र निजी स्कुलको शुल्क समान बनाउने योजना छ।' उनले आफ्नो एमालेसँग प्रतिस्पर्धा हुने बताइन्।

वडा नम्बर ५

यो वडामा माओवादीले सुशीला प्रजापतिलाई उम्मेदवार बनाएको छ। जनजाति र महिला पनि भएकाले सो समुदायको मत आउने विश्वास माओवादीको छ। वडामा ५५ सय मतदाता छन्। प्रजापति भन्छिन्, 'हाँडीगाउँलाई पर्यटकीय सहर बनाउने, धोवीखोला किनार आकर्षक बनाउने योजना छन्।' उनका अनुसार कांग्रेससँग प्रतिस्पर्धा हुनेछ।

क्षेत्र नम्बर ६

वडा नम्बर २७

भोटाहिटी, कमलाक्षीलगायतका ४ हजार ९ सय ९६ मतदातालाई प्रभावमा पार्न खटिरहेका यस वडाका उम्मेदवार गोपाल महर्जन ढलनिकासलाई व्यवस्थित गर्ने आफ्नो मुख्य अजेन्डा रहेको बताउँछन्। 'ढलनिकास र वडाका काम पारदर्शी रुपमा गराउने मेरो योजना छ', महर्जन भन्छन। उनले वडामा एमालेलाई बढी प्रतिस्पर्धी देखेका छन्।

वडा नम्बर २८

यस वडाका उम्मेदवार झापा पुर्ख्यौली घर भएका कवीन्द्रराज कँडेल लामो समयदेखि वामपन्थी आन्दोलनमा छन्। माले, एमाले, माले हुँदै २०६२/६३ पछि माओवादी भएका कँडेलले राजधानीको मुटु मानिने बागबजार, रत्नपार्क, प्रदर्शनीमार्ग, कमलादीमा मत माग्न भ्याइसकेका छन्। 'जसको नीति उसैको नेतृत्व भन्ने नारा स्थापित गर्न पार्टीले मलाई जिम्मेवारी दिएको छ,' कँडेलले भने, 'खानेपानी, ढलनिकास, सडक व्यवस्थित गर्नेछु।' उनले कांग्रेसलाई प्रतिस्पर्धी देखेका छन्।

क्षेत्र नम्बर ७

वडा नम्बर १६

यो वडाका उम्मेदवार दिलीप वन्त जसको नीति उसैको नेतृत्व भन्ने नारासहित चुनावी मैदानमा छन्। 'वृद्धघरदेखि विकास निर्माणसम्म मेरा योजनामा छन्', वन्त भन्छन्। उनले सो वडामा आफ्नो प्रतिस्पर्धी एमालेलाई देखेका छन्।

वडा नम्बर १७

यस वडाका उम्मेदवार नीलकण्ठ माली युद्धकालदेखि नै माओवादीमा आबद्ध हुन्। वडामा समाजसेवीका रुपमा पनि उनी परिचित छन्। 'भ्रष्टाचारमुक्त वडा, पारदर्शिता र विकास मेरा अजेन्डा हुन।'  ७ हजार ५ सय ९३ मत रहेको सो वडामा आफ्नो कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुने उनी देख्छन्।

वडा नम्बर १८

यहाँका उम्मेदवार विजयकुमार शर्मा भूकम्पका बेला १८ नम्बर वडामा निकै नै काम गरेकाले आफू विजयी  हुने बताउँछन्। नेपाल युवा विकास समाजसेवी संघमा समेत आबद्ध शर्मा भन्छन्, 'भूकम्पपीडितको पक्षमा मैले धेरै काम गरेको छु र यहाँका जनताको सहयोगी भएकाले जित्छु भन्ने लाग्छ', शर्माले भने। जातीय मतले प्रभाव नपारे आफ्नो जित सुनिश्चित देख्ने शर्मा कांग्रेस र एमालेलाई प्रतिस्पर्धी ठान्छन्।

क्षेत्र नम्बर ८

वडा नम्बर १३

यस वडाका उम्मेदवार रामशरण डंगोल सडक विस्तार पीडितलाई उचित मुअब्जा दिनेदेखि दैनिक १२ घन्टासम्म वडा कार्यालय खोल्ने अजेन्डा लिएर चुनावी मैदानमा होमिएका छन्। 'जेष्ठ नागरिक क्लब बनाउनेदेखि नक्सा पास नभएका घर र संरचनालाई व्यवस्थित बनाउने काम गर्नेछु', डंगोलले भने। उनका अनुसार सो क्षेत्रमा कांग्रेससँग बढी र एमालेसँग कम प्रतिस्पर्धा हुनेछ।

वडा नम्बर १५

यस वडाका उम्मेदवार सुरेन्द्रमान शाक्यले घरदैलो लगभग भ्याइसकेको बताए। उनी बौद्धिक सभा गरेर स्थानीय विकासका कार्यक्रम बनाउने योजनासहित चुनावी मैदानमा छन्। १२ हजार १ सय ७२ मतदाता रहेको उक्त क्षेत्रमा एमालेसँग प्रतिस्पर्धा हुने शाक्य बताउँछन्। 'निष्कलंक भएर उम्मेदवारी दिएको छु, जितेपछि पनि निष्कलंक हुने प्रतिबद्धता मेरो छ' शाक्यले भने ।

वडा नम्बर १९

खानेपानीको समस्या भोग्दै आएको याो वडामा उम्मेदवार बनेकी मैया महर्जनले पनि सोही समस्यालाई प्राथमिकतामा राखेकी छन्। 'खानेपानीको उचित व्यवस्थापन गर्नेछु, टोल सरसफाइ र पर्यटकीय आकर्षण बनाउने मेरा योजना छ', महर्जनले भनिन्। करिब १६ हजार मतदाता रहेको सो वडामा एमालेसँग प्रतिस्पर्धा हुने उनले बताइन्।

वडा नम्बर २३

यहाँका उम्मेदवार स्थानीय समाजसेवी श्याम मानन्धर २०६४ सालदेखि माओवादीमा आबद्ध छन्। होमस्टेदेखि वृद्धाश्रम बनाउने योजनासहित चुनावी मैदानमा उत्रिएका मानन्धरले भ्रष्टचारमुक्त वडा बनाउने लक्ष्य लिएका छन्। ४ हजार १ सय ३८ मतदाता रहेको सो वडाका ओमबहाललगायतका क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उनको योजना छ। एमालेसँग बढी प्रतिस्पर्धा देख्ने मानन्धरले भने, 'काठमाडौंमा होमस्टे अवधारणा लागू गराउँछु।'

वडा नम्बर २४

विश्व सम्पदा सूचीमा संलग्न हनुमानढोकासमेत रहेको यस वडामा माओवादीबाट सुरेश सिल्पकार चुनावी मैदानमा छन्। 'व्यापारिक क्षेत्र भएकाले पार्किङ स्थल बनाउने र खुला क्षेत्र बनाउने योजना छन्' शिल्पकार भन्छन। उनी आफनो वडामा एमालेलाई बढी प्रतिस्पर्धी देख्छन्।

क्षेत्र नम्बर ९

वडा नम्बर १२

यस वडाका उम्मेदवार राम डंगोल घरदैलोमा व्यस्त छन्। २०६१ देखि पार्टीमा आबद्ध डंगोल खानेपानी र टेकुको फोहोर व्यवस्थापन आधुनिक बनाउनेसम्मका योजना लिएर चुनावी मैदानमा छन्। 'पार्टीको र व्यक्तिगत तर्फबाट यो क्षेत्रका जनताको दुःखसुुखमा साथ रहेकाले पनि म आफ्नो विजयमा विश्वस्त छु', डंगोलले भने। उनले उक्त क्षेत्रमा कांग्रेस र एमालेसँग त्रिपक्षीय प्रतिस्पर्धा हुने बताए।

वडा नम्बर १४

यस वडामा माओवादीले आदेश्वर बुढाथोकीलाई उम्मेदवार बनाएको छ। २०५४ सालदेखि कंलकीलगायतका क्षेत्रमा समाजसेवाको काम गर्दै आएको र अन्य दलका उम्मेदवार नयाँ भएकाले आफूलाई मत आउने उनको विश्लेषण छ। वडा भवन बनाउनेदेखि मठमन्दिर संरक्षणसहित बाटोघाटो व्यवस्थित बनाउने उनका योजना छन्। कांग्रेससँग प्रतिस्पर्धा हुने जनाउने बुढाथोकीले विजयी भएपछि वडामा आमूल परिवर्तन गराउने वाचा गरेका छन्।

वडा नम्बर २१

यस वडाका उम्मेदवार कल्याणकार रञ्जितले जैसीदेवल, लगन क्षेत्रका भूकम्पपीडितका लागि विशेष कार्यक्रम गर्नेदेखि वडाबाट नै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउने योजना बनाएका छन्। आफनै वडा भवन बनाउने प्रतिबद्धता जनाएका रञ्जित राजनीतिक कार्यकर्ताभन्दा बढी सामाजिक कार्यकर्ता हुन्। 'यो क्षेत्रमा लामो समयसम्म समाजसेवाको काम गरें, त्यसैले मैले जित्नेछु', रञ्जितले भने। एमालेसँग प्रतिस्पर्धा हुने उनको भनाइ छ।

वडा नम्बर २२

यहाँका उम्मेदवार माणिकरत्न स्थापित एमालेबाट वडाध्यक्ष भइसकेका व्यक्ति हुन्। शाहीकालमा पनि वडाध्यक्ष भएपछि उनी एमालेबाट निष्कासनमा परेका थिए। त्यसपछि उनी माओवादीमा आबद्ध हुन पुगे। स्थापित भन्छन्, 'अहिले माओवादीवाट चुनाव लडेको छु। जहाँ भए पनि म स्थानीय जनतासँगै रहेकाले जित्छु भन्ने लाग्छ।' संकटा मन्दिर बनाउनेदेखि खिचापोखरी, पाकोलाई अझ आधुनिक बनाउने सोचसहित चुनावी मैदानमा रहेका स्थापितले एमालेसँग नै प्रतिस्पर्धा हुने बताए।

प्रकाशित: २८ वैशाख २०७४ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App