७ वैशाख २०८१ शुक्रबार
अन्य

डाक्टर कुर्दै, आमा-छोरा रुँदै

विराटनगर- कोसी अञ्चल अस्पतालको इमेर्जेन्सी गेटछेउको काठको कुर्सी। सुरक्षा गार्ड बस्न राखिएको कुर्सीमा काखमा बच्चा बोकेर बसेकी एउटी आमा रोइरहेकी थिइन्। बच्चा पनि ‘पेट दुख्यो’ भन्दै रोइरहेका थिए। हातमा एक्स–रे बोकेकी महिला घरि छोराको अनुहार हेर्थिन् भने घरि आँचलले आखाँबाट बगिरहेको आँसु पुछ्थिन्।

 छोरा अझै सन्चो मानेको छैन। बेला–बेलामा रुँदै कराउँछन्, ‘पेट दुख्यो..पेट दुख्यो।’ आमा रुन्चेस्वरमै भन्छिन्, ‘नरोऊ बाबु, डाक्टरसाब आएपछि सबै ठीक हुन्छ।’ तर, डाक्टर आउँदैनन्।

 निरन्तर पेट दुख्न थालेपछि सुनसरी रामधुनीभासीका संगीता यादव ७ वर्षीय छोरा विकासलाई उपचारनिम्ति शुक्रबार राति ९ बजे विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइपुर्‍याए। अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मी (अहेब)ले राति नै विकासको पेट छामछुम पारेर औषधि लेखिदिए। ‘अहेबले लेखिदिएको औषधि खुवाउँदा पनि पेट दुख्न कम भएन,’ शनिबार बिहान ११ बजेसम्म डाक्टरलाई कुरिरहेकी संगीताले नागरिकसँग भनिन्, ‘दिन ढल्किसक्यो, डाक्टर अझै आएका छैनन्।’

 अहेबले दिएको औषधिबाट पनि विकासको पेटको दुखाइ कम नहुँदा आमा–छोरालाई रुँदै डाक्टर कुुर्नुबाहेक विकल्प थिएन। संगीता र विकासको समस्यालाई लिएर नै इमर्जेन्सीबाट डाक्टरलाई छिट्टै आउन खबरसमेत पठाइयो। अहँ, डाक्टर त अझै आएनन्। छोराको निरन्तर दुखिरहेको पेट देखाउन राति ९ बजेदेखि डाक्टर कुरिरहेकी संगीतालाई शनिबार बिहान ११ बजेतिर मात्र डाक्टरको ‘दर्शन’ मिल्यो।

 डाक्टर आएपछि विकासको चेकजाँच गरेर भर्ना गर्न अह्राए। भिडियो एक्स–रेलगायत अन्य स्वास्थ्य परीक्षण गर्न भनियो। विकासलाई इमर्जेन्सीबाट सर्जिकल वार्डमा भर्ना गरेर औषधोपचार भइरहेको छ। डाक्टरको उपचारले विकासको पेट दुखाइ कम भएपनि सरकारी अस्पतालमा ढिलोगरी पुग्ने डाक्टरको यो हदसम्मको लापरबाही भने उजागर गरिदिएको छ।

प्रकाशित: २ श्रावण २०७३ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App