८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको दाबी : काठमाडौं महानगरको २४ वडामा जित्छौं

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका २४ भन्दा बढी वडामा आफ्ना उम्मेदवारले जित्ने दाबी गरेको छ। निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा आन्तरिक जोडघटाउमा जुटेको कांग्रेसले दुई तिहाइ वडासहित महानगरपालिकाको प्रमुख र उपप्रमुख जित्ने दाबी गरेको हो।

वडा नम्बर ३, ५, ६, १६, १८, २१, २२, ३२ मा प्रतिस्पर्धा रहे पनि अन्य पार्टीले नजित्ने दाबी कांग्रेसको छ। दुई लाख बढी मतदाता रहेको महानगरपालिकामा कतिपय वडामा उम्मेदवारी छनोट ठिक ढंगबाट नहुँदा त्यसलाई मिलाउन पार्टीले केही समय खर्च गर्नुपरे पनि आन्तरिक विवाद बाँकी नरहेको कांग्रेस दाबी छ।

कांग्रेसले महानगरपालिकाको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्की श्रेष्ठलाई अघि सारेको छ। पार्टी संगठन, उम्मेदवारका साथै विगतदेखि वर्तमानसम्म गरेको योगदान जितको आधार रहेको दाबी कांग्रेसको छ।  विगतमा पनि कांग्रेसप्रति काठमाडौंका जनताले विश्वाससहित मतदान गरेको पार्टीले स्मरण गरेको छ। निर्वाचन प्रचारका क्रममा भइरहेको घरदैलोमा मतदाताको सहभागिता र सहानुभूति अझ बढेको विश्लेषण कांग्रेसको छ। कांग्रेसले एमालेलाई निकटतम् प्रतिस्पर्धीका रूपमा लिएको छ।

काठमाडौंका सबै वडामा घरदैलो कार्यक्रममार्फत पार्टीका उम्मेदवारहरू मतदातासम्म पुग्ने काम भइरहेको काठमाडौं–१ का क्षेत्रीय सभापति रवीन्द्रविक्रम राणाले जानकारी दिए। उनले भने, 'मेयर र उपमेयरसहित २५ देखि २९ वडामा जित्छांै।'

कांग्रेसले काठमाडौं–१ मा पर्ने १०, ११, २९ र ३१ मध्ये वडा नम्बर १० र ३१ मा पार्टीको जित निश्चित रहेको विश्लेषण गरेको छ। ११ र २९ वडामा पार्टी संगठन मजबुत रहे पनि उम्मेदवारी वितरणमा सन्तुलन नहुँदा असन्तुष्टि देखिएको छ। तर क्षेत्रीय सभापति राणा पार्टीभित्रको असन्तुष्टि समाधान हुँदै गएकाले  क्षेत्र नम्बर १ का सबै वडा कांग्रेसले जित्ने दाबी गरे। एमाले मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेसभन्दा धेरै पछि रहेको उनको बुझाइ छ।

काठमाडौं–२ अन्तर्गत महानगरपालिकाका ९ र ३२ नम्बर वडा छन्। वडा नम्बर ९ कांग्रेसले जित्ने सुनिश्चित रहेको कांग्रेसको दाबी छ। यस वडामा विगतदेखि नै जनाधार बलियो रहेको कांग्रेसले जनाएको छ। ३२ नम्बर वडा भने आन्तरिक विवादमा रुमलिएको छ। उम्मेदवार छनोट ठिक ढंगबाट नभएको भन्दै पार्टीकै नेताहरू असन्तुष्ट छन्। एमाले नेता माधवकुमार नेपालको प्रभाव इलाकाका रूपमा हेर्ने गरिएको ३२ वडामा कांग्रेसले राम्रो उम्मेदवार छनोट गर्न नसकेको गुनासो पार्टीभित्रैबाट छ।

काठमाडौं–३ अन्तर्गत काठमाडौं महानगरपालिका ६ नम्बर वडा (बौद्ध)  एमालेको  संगठन सुदृढ भएको ठाउँ मानिन्छ। एमालेमा आन्तरिक विवाद रहेको र आफ्नो पार्टीले पुराना नेतालाई मैदानमा उतारेकाले कांग्रेस त्यसको फाइदा उठाउने तयारीमा छ। 'कांग्रेसको संगठन सुदृढ हुँदै गएको र एमालेभित्रको असन्तुष्टिले बौद्धमा यसपटक कांग्रेसले जित्ने सम्भावना छ,' कांग्रेसका एक नेताले भने।

काठमाडौं–४ निर्वाचन क्षेत्रअन्तर्गत  १, ७, ८ र ३० वडा छन्। तीमध्ये १ र ३० मा कांग्रेसले जित्ने दाबी गरिएको छ। ७ र ८ मा उम्मेदवार छनोट नमिल्दा परिणाम हात पार्न पार्टीलाई समस्या पर्नसक्ने कांग्रेस आँकलन छ। 'उम्मेदवार मिलाउन सकेको भए निर्वाचन परिणाम पार्टीका पक्षमा आउने थियो,' स्थानीय एक नेताले भने, 'उम्मेदवारी नमिल्दा एमालेसँग प्रतिस्पर्धा छ, मेहनत गर्नुपर्छ।'

क्षेत्र नम्बर–५ अन्तर्गत काठमाडौं महानगरपालिका २, ३, ४ र ५ वटै वडामा कांग्रेसले एमालेलाई मुख्य प्रतिस्पर्धी ठानेको छ। वडा २ र ४ मा पार्टी उम्मेदवार जित्ने निश्चितजस्तै रहेको दाबी कांग्रेसले गरेको छ। अन्य दुई वडामा एमालेसँग प्रतिस्पर्धा रहेको विश्लेषण छ। ०५४ को निर्वाचनमा एमालेले जिते पनि लाजिम्पाट क्षेत्र रहेको वडा नम्बर २ मा प्रजातन्त्रवादीको बाहुल्य रहेकाले कांग्रेसले जित्ने दाबी छ।  वडा नम्बर ४ मा पर्ने बालुवाटार गणेशस्थानसहितका क्षेत्रमा कांग्रेसको पकड क्षेत्र भएको उनीहरूको दाबी छ। धुम्बाराहीबाहेकका पाँच बुथमा कांग्रेस सधंै अघि हुने गरेको उनीहरूको विश्लेषण छ।

महाराजगञ्जसहितका इलाका पर्ने वडा नम्बर ३ मा एमालेको जनधार बलियो भएको ठाउँ हो। पहिलो र दोस्रो संविधानसभामा कांग्रेसको अवस्था निकै सुधार आएको दाबी गर्दै एमालेभित्रको आन्तरिक कलहको लाभ लिने उनीहरूको तयारी छ। '२० वर्षपछि एमाले पुरानो व्यक्तिलाई उम्मेदवार बनाएपछि त्यहाँ विद्रोही उठेका छन्,' कांग्रेस एक नेताले भने, 'कांग्रेसको संगठन बलियो हुँदै गएको र एमालेमा निराशा बढेको फाइदा हामीलाई हुन्छ।' हाँडीगाउँ क्षेत्र रहेको ५ नम्बर वडामा कांग्रेसको संगठन बलियो रहे पनि एमालेले विगतमा जित्दै आएको छ। ५ नम्बरका क्षेत्रीयसभापति रमेशकुमार खड्काले घरदैलो कार्यक्रमले पार्टीका पक्षमा थप उत्साह थपेको दाबी गरे। 'सबै कार्यक्रममा हामीले सोचेभन्दा धेरै सहभागिता छ,' खड्काले भने, 'कांग्रेसप्रतिको जनविश्वास अझ बढेको यसले देखाएको छ।'

क्षेत्र नम्बर –६ अन्तर्गत काठमाडौं महानगरपालिका २६, २७ र २८ तीन वडा छन्। तीनै वडामा पार्टी संगठन सुदृढ भएको कांग्रेसले दाबी गरे पनि एमालेसँग तीव्र प्रतिस्पर्धा हुने विश्लेषण छ। ठमेलसहितको क्षेत्र रहेको वडा नम्बर २६ मा एमालेसँग मुख्य प्रतिस्पर्धा रहे पनि वडा २७ मा कांग्रेसले जित्ने उनीहरूको बुझाइ छ। मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार दल हुँदै पुनः एमालेबाट उम्मेदवार भएको फाइदा पनि पार्टीलाई पुग्ने अनुमान छ। २८ मा पार्टीले दिएको उम्मेदवारीप्रति असन्तुष्टि छ।

क्षेत्रीय सभापति श्यामकृष्ण खड्कीले महानगरभित्र पार्टी संगठन मजबुत रहेको दाबी गरे। 'काठमाडौंबाट कांग्रेसका आठ सांसद जितेकाले पनि महानगरमा हामी मजबुत छौं,' उनले भने, 'संविधानसभामा पाएको मतलाई कायम राख्न सके पार्टीको जित सुनिश्चित छ।'

काठमाडौं–७ मा महानगरका १६, १७, १८ र २५ वडा छन्। १७ नम्बर वडामा कांग्रेसले जित्ने दाबी गरिएको छ। अन्य वडामा प्रतिस्पर्धा रहेको विश्लेषण छ। 

काठमाडौं–८ अन्तर्गत पर्ने १३, १५, १९, २०, २३ र २४ वडा जित्ने कांग्रेसको दाबी छ। क्षेत्रीय सभापति जुद्धबहादुर बज्राचार्यले संविधानसभाका दुवै निर्वाचनमा जस्तै स्थानीय निर्वाचनको परिणाम पनि कांग्रेसका पक्षमा आउने दाबी गरे। 'एमालेले भन्दा दुवै चुनावमा हामीले दोब्बरले मत ल्याएका छौं', उनले भने, 'त्यसलाई कायम राख्दै थप मत ल्याउँछौं।'

निकटतम् प्रतिस्पर्धी एमाले भए पनि  माओवादी केन्द्र, राप्रपा र समाजवादी पार्टीले पनि उसकै मत काट्ने विश्लेषण कांग्रेसको छ। 'उम्मेदवार बन्ने आकांक्षा र प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन,' उनले भने, 'टिकटको टुंगो लागेपछि पार्टी एक भएर निर्वाचनमा होमिएको छ।'

काठमाडौं –९ मा महानगरपालिका १२, १४, २१ र २२ वडामध्ये कांग्रेसले १२ र १४मा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ। एमालेबाट मेयरका उम्मेदवार बनेका विद्यासुन्दर शाक्यको पनि वडा रहेको २१ मा कडा प्रतिस्पर्धा हुने विश्लेषण छ। काठमाडौं कांग्रेसका पूर्वसभापति एवं क्षेत्र नम्बर ९ का सांसद् ध्यानगोविन्द रन्जितको पनि सोही वडा भएकाले उनले पार्टी उम्मेदवार जिताउने प्रतिबद्धता जनाएको एक नेताले जानकारी दिए। संकटा, महाबौद्ध र न्युरोड क्षेत्र रहेको वडा नम्बर २२ मा एमालेसँग प्रतिस्पर्धा हुने कांग्रेसको विश्लेषण छ।

काठमाडौं – ९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जनले विकास निर्माणमा निरन्तर सक्रियता नै पार्टीका उम्मेदवार जित्ने प्रमुख आधार भएको दाबी गरे। 'पार्टी संगठन हाम्रो मूल आधार हो,' उनले भने, 'जनताका दुःखसुख र विकासका काममा पार्टी निरन्तर सक्रिय छ। समग्रमा कांग्रेसको अवस्था राम्रो छ। हामी  जित्छौं।' 

प्रकाशित: २८ वैशाख २०७४ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App