coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेताका 'इगो'ले जुँगु घटना

(जुगुँ) दोलखा- झुरुप्प परेको सुनसान बस्ती। बस्तीको बीचबाट जाने सिताकाथान–जुँगु सडक छेउछाउ बुढापाका बाहेक अरु भेटिदैनन्। केही पर रेशमडाँडामा एक हुल मानिस छन्। केही घरलाई प्रहरीले पहरा दिइरहेको छ। पल्लो छेउमा सुरक्षाकर्मीसँगै स्थानीयको हुल छ। हुललाई संयम अपनाउन सुरक्षाकर्मी प्रयास गर्दैछन्। मंगलबार राती सत्ताको प्रमुख घटक र प्रतिपक्षी दलका कार्यकर्ताबीचको झडपमा एक युवाको मृत्यु भएपछि गाउँ शोकमग्न छ। मंगलबारको घटनापछि चार दिनपछि  निर्वाचन हुने नहुनेमा स्थानीय अन्यौलमा छन्।

सदरमुकाम चरिकोट देखि ५८ किलोमिटर पूर्वमा पर्ने जुँगु माओवादी केन्द्रकी नेता एवं पूर्व राज्यमन्त्री देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का र पोलिट ब्युरो सदस्य गंगा कार्कीको राजनीतिक पृष्ठभूमिसँग जोडिएको छ। जनयुद्ध कालमा सेनाले मारेका तत्कालिन नेता ऋतबहादुर खड्काको यो गाउँलाई माओवादीले 'शहीदको रगत सिञ्चेको' भनेर दाबी गर्छन्। कांग्रेस-एमालेले बुथ कब्जा गरेकोे आरोप लगाए पनि संविधान सभाका दुवै निर्वाचनमा माओवादीले यो गाउँबाट बहुमत पाएको थियो।

बुधबार जुगुँ पुग्दा सडकमा सन्नटा थियो अनि मतदातामा अन्यौल। धेरैलाई मंगलबारको घटना किन र कसरी भयो भन्ने चासो थियो। तर, जवाफ भने थिएन कसैसँग।

स्थानीय निकायको पुर्नसंरचना हुँदा जुँगु गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्‍यो। यो गाउँपालिका माओवादी मात्र नभई कांग्रेस र एमाले नेताको राजनीतिक आधार क्षेत्र पनि हो। एमाले सांसद एवं केन्द्रिय सदस्य पार्वत गुरुङ यही गाउँपालिकाको सुरीका हुन्। माओवादीसँग जिल्लामा तालमेल गरेको कांग्रेसका दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्का पनि यही गाउँपालिकावासी हुन्।

स्थानीय तह निर्वाचनका लागि गौरीशंकर गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले निमा लामालाई उम्मेदवार तोक्यो। उपप्रमुखमा कांग्रेसका कमल विक्रम खड्का उम्मेदवार भए। एमाले एक्लै चुनावमा होमियो। एमालेभित्र जिल्लाभरिका स्थानीय तह उम्मेदवारमा चर्को विवाद देखिए पनि यो गाउँपालिकाबाट सर्वसम्मत उम्मेदवारी चयन भएको थियो।

माओवादी र कांग्रेसबीच तालमेल भएपछि एमाले सांसद गुरुङले आफ्नो गृह गाउँपालिकालाई राजनितिक प्रतिष्ठासँग जोडेर जुँगुमा अभियान चलाए। चैत २५ गते उनले आफू निकट युवा संघ जिल्ला अध्यक्ष महाराज गुरुङलाई जुँगु पठाएर वाइसिएलका कार्यकर्ता कुलबहादुर तमाङसहित दर्जन बढीलाई एमाले प्रवेश गराए। स्थानीयका अनुसार माओवादी केन्द्रको पकड भत्काउन स्थानीय युवा समेटेर छुट्टै टाईगर टिम खडा गरियो। एमाले नेता गुरुङ र माओवादी केन्द्रका नेताबीच जुँगुको बिषयलाई लिएर प्रतिशोध बढ्दै गयो। एमालेले कुलबहादुरका पिता गोरे तामाङलाई वडा सदस्यको उम्मेदवार बनाएपछि उनी बुवाको चुनावी अभियानमा होमिएका थिए।

मंगलबार राति भएको घटनाको पृष्ठभूमि सोमबार गाँउमा एमाले गरेको सभा बनेको देखिन्छ। सोमबार एमालेले जुँगुमा चुनावी सभा गर्‍यो। सभामा एमाले सांसदहरु गुरुङ र आनन्द पोखरेलले सम्बोधन गरे। सभामा उत्तेजित अभिव्यक्ती दिएका गुरुङले माओवादी विरुद्ध आक्रमक र अराजक शैलीमा भाषण गरे। उनले उस्तै परे आफू चुनावको दिन हेलिकप्टरबाट जुँगुमा अवतरण गरेर भएपनि बुथ कब्जा हुन नदिने र माओवादीको प्रतिकार गर्ने चेतावनी दिए।

एमाले नेताको चेतावनीले माओवादी कार्यकर्तालाई आक्रोशित बनायो। उनीहरु 'यो ऋतबहादुर खड्काको रगत बगेको ठाउँ हो, यसमा गुरुङलाई जवाफ दिन्छौं', भन्दै एमाले कार्यकर्तालाई धम्क्याउदै हिँड्न थालेका थिए। दुवै दलले आफ्नो प्रतिष्ठासँग जोडेर चुनावी अभियान चलाइरहेका बेला मंगलबार साँझ जुँगु गाउँको हुप्पाबाट एक हुल एमाले कार्यकर्ता मोटरसाईकल सहित निलकण्ठेश्वर उच्च मावि नजिक रेशमडाँडा ओर्लिए। रेशमडाँडामा सडक छेउमा मोटरसाईकल राखेर नजिकै लक्ष्मण जिरेलको होटलमा पसे। जहाँ १२ जना कार्यकर्तालाई खाना अर्डर गरिएको थियो। जिरेल पत्नी चन्द्रमायाँ जिरेल खाना बनाउँदै थिइन्।

केहीबेर पछि कसेरी टोलबाट माओवादी केन्द्रका एक हुल कार्यकर्ता मिनि ट्रकमा चढेर त्यही बाटो हुदै उकालो लाग्दै थिए। उनीहरु वडा नम्बर १ का माओवादी अध्यक्ष उम्मेदवार वसन्त कार्कीको घरतर्फ जाँदै थिए। त्यहाँ माओवादी केन्द्रकी पूर्व सांसद देवी खड्का बसेकी थिइन्।  जिरेलको होटल अगाडी पुगेपछि बाटोमा मोटरसाईकल राखेर आफ्नो ट्रक अगाडी बढ्न नसकेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले एमाले कार्यकर्तालाई मोटरसाईकल हटाउन आग्रह गरे। होटलमा रहेका एमाले कार्यकर्ता सडकमा ओर्लिए। उनिहरुबीच भनाभन शुरु भयो। सामान्य विषयले विवादको रुप लियो। झडप सुरु भयो।

घटना भएको थाहा पाउना साथ माओवादी केन्द्रका गाउँपालिकाको  जुँगु स्थित २ नम्बर वडाका अध्यक्ष उम्मेदवार भरत खड्काले एमाले निकट शिक्षक दिलबहादुर बुढाथोकीलाई फोन गरे। 'तपाइका कार्यकर्ताले हाम्रा कार्यकर्तामाथि आक्रमण गरिरहेका छन्, बियरको बोतलले हानिरहेका छन् सम्झाइदिनोस' भन्दै स्थिति असामान्य भए जिम्मा नलिने बताए।

घटनाको जानकारी पाएका बुढाथोकी आफ्ना ज्वाइँ छत्र कार्कीसँगै झडपस्थलतर्फ उकालो लागे। उनीहरु घटनास्थल पुग्दासम्म दुवै पक्ष भिडिरहेका थिए। त्यतीखेर माओवादी केन्द्रका कार्यकर्ताले फायरिङ गरेको आवाज आएको दाबी बुधबार दिउसो एमाले कार्यकर्ताले गरे। वडा सदस्य उम्मेदवार गोरेका छोरा कुलबहादुर भागदौड गर्दै गर्दा अल्झीएर लडे। प्रत्यक्षदर्शीका अनुसार लडे लगतै उनी माथी माओवादी केन्द्रका कार्यकर्ताले घरेलु हतियार सहित कुटपिट र आक्रमण थाले।

घटना बारे सूचना पाए लगतै निलकण्ठेश्वर उच्च मावि पुगेका एमाले निकट शिक्षक बुढाथोकीलाई पनि माओवादी कार्यकर्ताले लाठी र रड सहित आक्रमण गरे। एमाले कार्यकर्ताको दुइओटा मोटरसाइकल समेत जलाइयो। राति ११ बजे इलाका प्रहरी कार्यालय मैनापोखरीबाट प्रहरी निरीक्षक नवराज न्यौपाने नेतृत्वको प्रहरी टोली घटनास्थल पुग्यो। त्यहीबाट एमाले निकट  शिक्षक बुढाथोकीलाई प्रहरी टोलीले बेहोस अवस्थामा उद्धार गर्‍यो। उनको शरीर रक्ताम्य थियो। आक्रमण गरिएका कुलबहादुर तामाङको खोजी भयो।

बुढाथोकी नजिकै उनी भेटिए। उनको पनि शरीर रगतमा लतपतिएको अवस्थामा थियो। घाइतेलाई प्रहरी टोलीले सदरमुकाम पुर्‍यायो। चरिकोट अस्पताल भर्ना गरिएका कुलबहादुरको उपचारको क्रममा मृत्यु भयो। बुढाथोकीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनको राजधानीस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको परिवारजनले बताएका छन्। अप्रत्यासित घटनापछि जुँगु गाउँ शोकमा छ। गाउँलेहरु त्रसित छन्। चुनाव हुन्छ कि हुँदैन भन्ने संशय छ। घटनापछि सदरमुकामबाट गएको प्रहरी टोलीले बुधबार बिहानै देखी गाउँमा सुरक्षा दिइरहेको छ। माओवादी केन्द्रका नेता कार्यकर्ता गाउँमा छैनन्। उनिहरुको घरमा प्रहरीले पहरा दिइरहेको छ।

मृतकका परिवारले माओवादी केन्द्रका नेताहरु देवी खड्का, विशाल खड्का सहित ३९ जना विरुद्ध ज्यान मार्ने अभियोगमा किटानी जाहरी दिएका छन्। घटनामा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागी ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

को थिए कुलबहादुर?

स्थानीयका अनुसार कुलबहादुर तामाङ बस्तीका सोझा युवा थिए। राजनीतिप्रति खासै चासो नभई वाइसिएलमा लागेका उनी २५ गते युवा संघमा प्रवेश गरेका थिए। श्रीमती साङमाई तामाङ रोजगारीका सिलसिलामा विदेशमा छिन्। राजधानीमा बसेर मजदुरी गर्दै आएका उनी बाबुको चुनावी प्रचारमा खटिन गाउँ आएका थिए।  एक छोरा र एक छोरी रहेका उनको मृत्यु पछि परिवार बिचल्लीमा छ।

प्रकाशित: २८ वैशाख २०७४ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App