coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यापार रणनीतिकै वस्तुको निर्यात घट्यो

काठमाडौं- राज्यले निर्यात प्रवर्द्धन गर्न तयार पारेको नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) को सूचीमै रहेका वस्तुको निर्यात घटेको छ। चालु आर्थिक वर्षको नौ महिनामा उक्त सूचीमा राखिएका वस्तुमध्ये धेरैको निर्यात घटेको हो। एनटिआइएसमा रहेका वस्तुमा तीनवटा बाहेक अरु सबैको निर्यात घटेको छ। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा गत आर्थिक वर्ष २०७२/७३ को सोही अवधिको तुलनामा नेपाल एनटिआइएसमा रहेका वस्तुमध्ये धेरैको निर्यात घटेको हो।

अघिल्लो वर्ष सरकारले एनटिआइएस वस्तुको सूची परिमार्जन गर्दै नौ वस्तु र तीनवटा सेवालाई प्राथमिकतामा राखेको थियो। सरकारले उच्च प्राथमिकतामा राखेर सूची तयार पारी निर्यातमा जोड दिए पनि व्यवहारमा भने सफल भएको देखिएन।

उक्त सूचीमा अलैंची, अदुवा, चिया, फुटवेयर, पस्मिना, कार्पेट, टेक्सटाइल, यार्न र छालाका सामग्री रहेका छन्। तीन प्रकारका सेवामा अर्धदक्ष तथा दक्ष कामदार, पर्यटन र सूचना तथा बिजनेस प्रोसेस आउटसोर्सिङ रहेका छन्।

निर्यातका मुख्य वस्तु भनेर तयार पारिएका यी उत्पादनमध्ये नौ महिनाको अवधिमा चिया, यार्न र टेक्सटाइलबाहेक अरु सबैको निर्यात घटेको छ।

सबैभन्दा धेरै निर्यात घटेको वस्तुमा अदुवा रहेको छ। अदुवाको निर्यात झन्डै ४८ प्रतिशतले घटेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ। अघिल्लो वर्षको नौ महिनाको अवधिमा भन्दा यस आर्थिक वर्षमा ४७.७ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा अदुवा १८ करोड ९२ लाख ८३ हजार रुपैयाँको निर्यात भएकोमा गत वर्षको सोही अवधिमा ३६ करोड १९ लाख ५५ हजार रुपैयाँको निर्यात भएको थियो।

मुख्य निर्यात हुने कार्पेट नौ महिनाको अवधिमा पाँच प्रतिशतले घटेको छ। चालु वर्षको नौ महिनामा कार्पेट जम्मा पाँच अर्ब ६५ करोड ५४ लाख रुपैयाँको निर्यात भएको छ। गत आर्थिक वर्षमा भने पाँच अर्ब ९७ करोड ७२ लाखभन्दा धेरैको निर्यात भएको थियो।

यस्तै, अलैंची अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १३ प्रतिशतले निर्यात घटेको छ। चालु आर्थिक वर्षको नौ महिनामा २६ लाख नौ हजार सात सय केजी निर्यात भएको अलैंची निर्यातबाट तीन अर्ब आठ करोड ४१ लाख रुपैयाँ आर्जन भएको छ। गत आर्थिक वर्षमा भने तीन अर्ब ५४ करोड १०  लाख ६६ हजार रुपैयाँको निर्यात भएको थियो।

पस्मिनाको निर्यात पनि १३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा दुई अर्ब १७ करोड ७१ लाख ८४ हजार निर्यात भएकोमा यस आर्थिक वर्षको पहिलो नौ महिनामा एक अर्ब ८९ करोड ३५ लाख १९ हजार रुपैयाँको मात्र निर्यात भएको छ।

जुत्ता–चप्पल (फुटवेयर)को निर्यात झन्डै दुई प्रतिशतले घटेको छ। यस वर्ष एक अर्ब १२ करोड ६८ हजार रुपैयाँको जुत्ता–चप्पल निर्यात भएको छ। अघिल्लो वर्ष भने एक अर्ब १४ करोड एक लाख रुपैयाँको निर्यात भएको थियो।

चियाको निर्यात भने २२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नौ अर्ब ५३ करोड ६ लाख रुपैयाँको ९८ लाख ८७ हजार नौ सय २४ किलो निर्यात भएको थियो। चालु आर्थिक वर्षमा भने एक अर्ब ८७ लाख ९४ हजारभन्दा धेरैको निर्यात भएको छ। यो ९३ लाख ९८ हजार तीन सय ४४ किलो हो।

यार्नको निर्यातमा पनि सुधार देखिएको छ। यस वर्षको नौ महिनामा ३२ प्रतिशतले निर्यात सुधार भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब ८१ लाख २० हजार रुपैयाँको निर्यात भएकोमा अघिल्लो नौ महिनामा भने तीन अर्ब ६४ करोड ४६ लाख ५० हजार रुपैयाँको निर्यात भएको थियो।

निर्यात बढेको अर्को वस्तु टेक्सटायल हो। यस वर्ष टेक्सटायलको निर्यातमा उल्लेख्य सुधार हुँदै ५९ प्रतिशतले बढेको छ। यस वर्ष तीन अर्ब ८५ करोड २४ लाख ९९ हजार रुपैयाँको निर्यात भएको टेक्सटायल अघिल्लो आर्थिक वर्ष दुई अर्ब ४१ करोड ८९ लाख ७० हजार रुपैयाँको निर्यात भएको थियो।

केन्द्रको तथ्यांक अनुसार आव २०७३/७४ को पहिलो नौ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले वृद्धि भई सात खर्ब ८१ अर्ब २८ करोड पुगेको छ। चालु आर्थिक वर्ष २०७३/७४ को नौ महिनामा व्यापार घाटा ४१ प्रतिशतले वृद्धि भएको छ। समग्र निकासीमा सामान्य सुधार भए तापनि आयातमा देखिएको अत्याधिक वृद्धिका कारण व्यापार घाटा बढेर ६ खर्ब ७० अर्ब ७६ करोड पुगेको केन्द्रले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७४ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App