७ वैशाख २०८१ शुक्रबार
राजनीति

परिणाम आफ्नै पक्षमा ल्याउने दलीय रणनीति

काठमाडौं- प्रमुख राजनीतिक दलहरू  मतदातालाई आफ्नो पक्षमा पार्न स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रचारप्रसारको अन्त्यतिर पुगेका छन्। बिहीबार राति १२ बजेपछि चुनावी सभा र प्रचार गर्न नपाइने भएपछि प्रमुख दलका शीर्ष नेताहरु बिहीबार पार्टीका विभिन्न चुनावी सभामा निस्कन लागेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेता चुनावीसभामा निस्कन लागेका हुन्। आइतबार हुने पहिलो चरणको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न तीनै दलका शीर्ष नेता बिहीबार चितवन पुग्नेछन्। पार्टीको उम्मेदवारका पक्षमा जनमत बनाउन चितवन जान लागेका तीनै दलका शीर्ष नेताहरूले चुनावी सभासहितका कार्यक्रममा सहभागी हुनेछन्।

तीनै दलले चितवनको चुनावी परिणामलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरेका छन्। माओवादी अध्यक्ष दाहालकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेपछि पहिलो चरणको निर्वाचनमा सबैको ध्यान त्यसैले केन्द्रित गरेको छ। सत्ता साझेदार कांग्रेस र माओवादीले भरतपुरमा चुनावी तालमेल गरेकाले दुवै दलका शीर्ष नेता त्यहाँ जान लागेका हुन्।

कांग्रेस सभापति देउवा भरतपुरपछि लम्जुङको चुनावी सभालाई सम्बोधन गरेर काठमाडौंका दुई सभामा सहभागी हुने कार्यक्रम छ। देउवाले बिहीबार अपराह्न बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ४ बजे र काठमाडौं महानगरपालिकाको असनमा साँझ ५ बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए। देउवा पोखराका केही सभामा पनि सहभागी हुने सम्भावना रहेको नेताहरूले बताएका छन्।

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ र आसपासका जिल्लाको कार्यक्रममा सक्रिय छन् भने महामन्त्री शशांक कोइराला नवलपरासीलाई केन्द्रमा राखेर चुनावी सभामा सक्रिय छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौंका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम छ।

कांग्रेस निर्वाचन प्रचार उपसमिति संयोजक रमेश लेखकले पहिलो चरणको चुनावी प्रचारको अन्तिम दिन पार्टी शीर्ष नेतासहित सबै तहका नेता चुनावी सभा र घरदैलो कार्यक्रममा सक्रिय हुने बताए। 'पहिलो चरणमा निर्वाचन परेका जिल्लाका केन्द्रीय नेताहरु स्थानीय तहमै सक्रिय हुनुहुन्छ,' लेखकले भने, 'बाँकी नेता पनि जिल्लामा खटिनुभएको छ। शीर्ष नेताहरु पनि केही ठाउँको सभालाई सम्बोधन गर्न पुग्नुहुन्छ।'

एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान भरतपुरको चुनावी सभामा सहभागी हुन त्यसतर्फ जानेछन्। उपाध्यक्ष वामदेव गौतम पोखरा पुगेको जानकारी दिँदै केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, 'भोलि (बिहीबार) प्रचारको अन्तिम दिन भएकाले तलदेखि माथिसम्मका सबै नेता चुनावी सभामै सक्रिय हुनुहुनेछ।'

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको कार्यक्रम कार्यालयमा जानकारी नआएको जनाउँदै श्रेष्ठले भने, 'स्थानीय तहबाटै नेताहरू तय भएकाले सबैसँग समन्वय गर्न कठिन भइरहेको छ।'

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल बिहीबार चितवन र गोरखाको चुनावी सभालाई सम्बोधन गर्न जाने तयारीमा छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले दाहाल ११ बजे चितवन जाने कार्यक्रम रहेको बताए। माओवादी नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत आआफ्ना गृहजिल्लाको चुनावी सभामा सक्रिय छन्।

आफैं जित्ने दाबी

प्रमुख तीन राजनीतिक दलले निर्वाचनमा आफ्नो पक्षमा जनलहर आएको दाबी गरेका छन्। कांग्रेस, एमाले र माओवादीले एकअर्कालाई आफ्नो प्रतिस्पर्धी रहेको जनाउँदै चुनावको परिणाम आफ्नो पक्षमा आउने जिकिर गरेका हुन्।

कांग्रेसले पार्टीका पक्षमा जनलहर आएको दाबी गर्दै महानगरपालिकासहित बहुमत स्थानमा आफ्ना उम्मेदवार निर्वाचित हुने जनाएका छन्। 'संविधान निर्माण गरेको दललाई त्यसको कार्यान्वयनका लागि मत दिनुहोस् भन्दा आममतदाताले विश्वास गरेका छन्,' कांग्रेस नेता गगनकुमार थापाले भने, 'संविधान कार्यान्वयनको दायित्व पूरा गर्न हामीलाई जनताले जिताउनेछन्।'

नेता रमेश लेखकले निर्वाचन प्रचारका क्रममा पार्टीका पक्षमा जनलहर देखिएको दाबी गरे। 'कांग्रेसका पक्षमा राम्रो वातावरण बनेको छ,' उनले भने, 'महानगरसहित धेरै स्थानमा हाम्रो उम्मेदवार चुनाव जित्दै हुनुहुन्छ, हामीलाई त्यही रिपोर्ट आएको छ।'

एमालेले आफ्नो पक्षमा जनलहर आएको भन्दै काठमाडौंसहित तीन महानगरपालिकामा जित सुनिश्चित भएको दाबी गरेको छ। 'जनताको मन र लहर एमाले पक्षमा छ,' सचिव श्रेष्ठले भने, 'हाम्रो जितलाई अब कसैले रोक्न सक्दैन।' काठमाडौं महानगरपालिकामा एमालेले चुनाव जितेको घोषणा गर्न मात्र बाँकी रहेको उनको दाबी छ।

माओवादी केन्द्रले पहिलो चरणको स्थानीय निर्वाचनमा पार्टीको पोजिसन राम्रो रहेको दाबी गरेको छ। 'समग्रमा हाम्रो अवस्था राम्रो छ,' प्रवक्ता पम्फा भसालले भनिन्, 'हामी मजबुत छौं।'

प्रकाशित: २८ वैशाख २०७४ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App