८ वैशाख २०८१ शनिबार
समाज

यस्तो छ सुरक्षा निकायको १४ बुँदे प्रतिवेदन

काठमाडौं- सुरक्षा निकायले गृह मन्त्रालयलाई स्थानीय तह निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहले पूर्व लडाकु परिचालन गराएर घटना गराउनसक्ने निष्कर्षसहितको खुफिया रिपोर्ट बुझाएको छ। गृहले राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली बनाई अनुसन्धान गर्ने क्रममा  १४ बुँदे प्रतिवेदन तयार पारेको हो जसमा 'विप्लव समूहले ४ देखि ६ जना समूहमा पूर्व माओवादी लडाकुसहितको टोली खटाइसकेको र मौन समय सुरु भएपछि काठमाडौं र चितवनमा घटना गराउने तयारी गरेको' उल्लेख छ।

'सुरक्षा चुनौतीको पूर्व आकलन गरेर पर्याप्त सुरक्षा प्रबन्ध मिलाइसकेका छौं, उम्मेदवार र मतदाता ढुक्क भए हुन्छ'

चितवनमा विप्लव समूहले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहालको चुनावी प्रचारमा प्रयोग हुने गाडीमा आगजनी गरेको थियो। प्रहरीले सो क्षेत्रमा विप्लव समूहको योजना तोड्न २१ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ। प्रतिवेदनअनुसार सो समूहले वैशाख २१ देखि २८ सम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन मानसिक दबाब दिने रणनीति बनाएको छ। यसबीचमा सो समूहले म्यादीको बेनी नगरपालिका ३ का नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई अपहरण गरेर २४ घन्टापछि मुक्त गरेको थियो। गृह प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अनुसन्धानमा पुनको अपहरण विप्लव समूहले गरेको पुष्टि भइसकेको छ।

सुरक्षा निकायको प्रतिवेदनअनुसार सो समूहले एक नगरपालिका र एक गाउँपालिकामा मतदानको दिन घटना गराउने रणनीति बनाएर समूहसमेत परिचालन गरिसकेको छ। उसले मौन समय सुरु भएपछि उम्मेदवार लक्षित कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाएको प्रतिवेदनमा उल्लेख छ। बिहीबार बेलुका १२ बजेबाट मौन समय सुरु हुँदैछ। निर्वाचनको दिन उसले 'घडी मिलाऊ' कार्यक्रम बनाएको छ। गृहस्रोतबाट प्राप्त प्रतिवेदनअनुसार सो कार्यक्रमअन्तर्गत चयन गरिएका सबै स्थानमा एकै पटक अवरोध गर्ने विप्लव समूहको रणनीति छ।

१ सय ५९ पक्राउ, सबै सामान्य कार्यकर्ता

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै गृहले बनाएको विशेष सुरक्षा योजनामा 'पहाडी क्षेत्रमा विप्लव समूह र तराईमा भूमिगत सशस्त्र समूह, सिके राउत चुनावी सुरक्षाका मुख्य चुनौती' रहेको उल्लेख थियो।

पहिलो चरणको निर्वाचन पहाडी र हिमाली क्षेत्रमा हुँदैछ। यस क्षेत्रमा भने मुख्य बाधक विप्लव समूह नै देखिएको छ। निर्वाचन आयोगले समेत औपचारिक रुपमै निर्वाचन सुरक्षामा विप्लव समूहको गतिविधि चुनौती रहेको सार्वजनिक गरेको थियो।

गृह प्रवक्ता पन्थी चुनौतीको विश्लेषणको आधारमा मन्त्रालयले पर्याप्त सजकता अपनाउँदै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइसकेको र त्यसको प्रभावसमेत देखिएको बताए। चुनावविरोधी गतिविधि बढाएसँगै विप्लव समूहका १ सय ५९ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ। 'सुरक्षा चुनौतीको पूर्व आकलन गरेर पर्याप्त सुरक्षा प्रबन्ध मिलाइसकेका छौं, उम्मेदवार र मतदाता ढुक्क भए हुन्छ,' गृह प्रवक्ता पन्थीले भनेे, 'छापामार शैलीमा घटना गराउने भएकाले छिटपुट आगजनीका घटना भएका हुन्, त्यसमा जोजो संलग्न छन् उनीहरु पक्राउ परिसकेका छन्।'

प्रकाशित: २८ वैशाख २०७४ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App