coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युभेन्ट्स च्याम्पियन्स लिग फाइनलमा

टुरिन- ड्यानी आल्भेसले उत्कृष्ट भली गोलसँगै मंगलबार राति मोनाकोविरुद्ध २–१ को नतिजा निकालेको युभेन्ट्सले समग्रमा ४–१ को विजय हासिल गर्दै पछिल्लो तीनमा वर्षमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल सुरक्षित गरेको छ।

मारियो मान्जुकिकले ३३औं मिनेटमा दिएको अग्रतालाई ब्राजिलका रक्षक आल्भेसले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि युभेन्ट्स तीन उपाधिको नजिक पुगेको हो।

आल्भेसको पासमा आफैंे गरेको हेड प्रहार विपक्षी गोलकिपर ड्यानिजेल सुबासिकले रोक्दा रिबाउन्डमा प्राप्त बललाई  मान्जुकिकले जाली चुमाएका थिए।

मध्यान्तर हुनु एक मिनेट बाँकी रहँदा आल्भेसले उत्कृष्ट भली गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। क्लाउडियो मार्चिसियोको कर्नर प्रहार मोनाकोका गोलपिकर सुबासिकले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई आल्भेसले पोस्टको दिशा दिएका थिए।

युवा खेलाडी केलियन एमबाप्पेले ६९आंै मिनेटमा गरेको गोलमा भ्रमणकारी टोलीले खेलमा फर्कने संकेत गरेको थियो। तर, घरेलु मैदानमा भएको पहिलो लेगमा २–० को नतिजा भोगेकोे मोनाकोका लागि एमबाप्पेको त्यो गोल पर्याप्त भएन। उनले जोओ मोउटिन्होको पासमा गोल गरेका थिए। प्रतियोगितामा उनको यो छैटौं गोल हो।

युरोपकै प्रतिष्ठित प्रतियोगिताको फाइनलमा युभेन्ट्सले प्रतिस्पर्धा गर्न लागेको यो नवौं पटक हो। पछिल्लो पटक युभेन्ट्स सन् २०१५ मा स्पेनिस क्लब बार्सिलोनासँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो।

युभेन्ट्सले जुन ३ मा कार्डिफमा हुने फाइनलमा साबिक विजेता रियाल मड्रिड र एट्लेटिको मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

‘हामीसँग उपाधि जित्ने सुनौलो अवसर छ,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘२०१५ पछि मलगायत मेरो टोलीमा थप परिपक्वता आएको छ। च्याम्पियन्स लिग जस्तो ठूलो प्रतियोगिताको फाइनल प्रवेेश गर्नु सहज काम होइन।’

इटालियन कप र च्याम्पियन्स लिगको फाइनल पुगेको युभेन्ट्स इटालियन सिरी ‘ए’ को पनि उपाधि नजिक छ।  ‘हामी सिजनको एकदमै महत्वपूर्ण घडीमा छौं। किनकि हामीले अहिलेसम्म कुनै उपाधि जितिसकेका छैनौं,’ एलेग्रीले थपे, ‘तीन प्रतियोगिताको फाइनललाई हामीले हल्का रूपमा लिएका छैनौं। सबैका लागि राम्रो तयारी गर्नुपर्छ र कार्डिफमा हुने फाइनलको तयारीका लागि हामीसँग अझै एक महिनाको समय बाँकी छ।’

हारपछि प्रशिक्षकको जिम्मवारीबाट मुक्त हुन सक्ने सम्भावनालाई नकार्दै मोनाकोका प्रशिक्षक लियोनार्दो जर्दिमले भने, ‘म अझै टोलीमा रहनेछु र मेरा सबै खेलाडी पनि। तीन वर्षको अन्तरमा यो टोली अहिलेको भन्दा २०, ३० प्रतिशत बढी राम्रो हुनेछ।’

युभेन्ट्सलाई ‘अन्डर डग’ को संज्ञा दिँदै इटालियन क्लबको फाइनल प्रतिद्वन्द्वी रियाल मड्रिड हुन सक्ने संकेत गरेका मोनाकोका प्रशिक्षक जर्दिमले थपे, ‘२०१५ को भन्दा अहिलेको युभेन्ट्स धेरै बलियो छ। टोलीमा पहिलेकै धेरै खेलाडी छन् तर अनुभवका आधारमा धेरै माथि छन्। क्षमतावान् र अनुभवी खेलाडी भएकाले उपाधि जुनै पनि टोलीको पोल्टामा जान सक्छ।’

युभेन्ट्सका प्रशिक्षक एलेग्रीले गत साता सम्पन्न पहिलो लेगको टोलीमा एक जना मात्र परिवर्तन गरेका थिए। निलम्बनपछि टोलीमा पुनरागमन गरेका जर्मन मिडफिल्डर सामी खडिराले मांसपेशीमा समस्या आएपछि १० मिनेटमै मैदान छाड्नुपरेको थियो। उनलाई मार्चिसियोले प्रतिस्थापन गरेका थिए।

गोन्जालो हिग्विनको पासमा मोनाकोका गोलकिपर सुबासिकसँग वान भर्सेस वानको स्थितिमा पाउलो डिवाला गोल गर्न चुक्दा घरेलु टोलीले अग्रता लिने मौका खेर फालेको थियो। उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो।

सुबासिकले मान्जुकिकको प्रहार पनि बचाएका थिए। त्यस्तै डिवालाको अर्को प्रहार रक्षक एन्डेरा रागीले बचाउँदा घरेलु टोली पुनः निराश बनेको थियो।

‘तीन प्रतियोगिताको फाइनललाई हामीले हल्का रूपमा लिएका छैनौं। सबैका लागि राम्रो तयारी गर्नुपर्छ र कार्डिफमा हुने फाइनलको तयारीका लागि हामीसँग अझै एक महिनाको समय बाँकी छ।’

प्रकाशित: २८ वैशाख २०७४ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App