८ वैशाख २०८१ शनिबार
राजनीति

आचारसंहिता अक्षरश पालना गर्ने नेताहरुको सामूहिक प्रतिबद्धता

काठमाडौँ- निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरुले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्‍याउने सामूहिक प्रतिबद्धता जनाएका छन्।

स्थानीय तहको निर्वाचनको तयारी, शान्ति सुरक्षा, आचारसंहिता र मतदाता शिक्षाका बारेमा केन्द्रित रहेर आज आयोगमा भएको छलफलपछि प्रमुख दलका शीर्ष नेताले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन्।

उक्त प्रतिबद्धतामा भनिएको छ, “निर्वाचन लोकतन्त्रको आधारशीला हो, स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन मात्र लोकतन्त्रको सुदृढीकरण तथा शासनको सवलीकरण मार्फत सुशासनमा टेवा पुर्‍याउँछ भन्ने तथ्यलाई हृदयङ्गम गर्दै मुलुकमा सम्पन्न गरिने स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा हाम्रो अग्रणी भूमिका रहेको तथ्यलाई आत्मसात गर्दछौँ ।”

निर्वाचन आयोगले जारी गरी कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा उल्लेख भएका आचारसंहिताका बुँदाको अक्षरशः पालनाको लागि दलहरुले प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मुलुकका ३, ४ र ६ नं प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहमा हुँदैछ।

“उल्लेखित बुँदा सरोकारवालाबाट समेत पालना गर्न गराउन सदैव मन, वचन र कर्मले प्रयत्नशील रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छौँ,” प्रतिबद्धतामा उल्लेख छ।

उक्त प्रतिबद्धतामा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राप्रपाका नेता बुद्धिमान तामाङ, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, सङ्घीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।

निर्वाचन आयोगले प्रस्तुत गरेको प्रतिबद्धतामा शीर्ष नेताहरुबाट भएको हस्ताक्षरबाट निर्वाचनमैत्री वातावरणका लागि योगदान पुगेको विश्वास गरिएको छ। रासस

 

प्रकाशित: २७ वैशाख २०७४ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App