७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकै गाउँबाट उपमेयरका पाँच उम्मेदवार

सिन्धुपाल्चोक- दलहरुले महत्वका साथ हेरिरहेको सदरमुकाम रहेको चौतारा–साँगाचोकगढी नगरपालिका उपमेयरमा एकै गाउँका पाँच उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। साँगाचोक गाउँका उनीहरुमध्ये विभिन्न दलबाट चार महिला र स्वतन्त्रबाट एक पुरुष उम्मेदवार छन्।

                नगरमा मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका एमालेले सीता थापा र माओवादी केन्द्रले जानुका पराजुलीलाई उपमेयरमा अघि सारेको छ। साँगाचोकका दुबैको घर पाँच किमी दुरीमा छ । यही दुरी आसपास घर भएका राधाकुमारी गिरी राप्रपा र विष्णु कमिनी नयाँ शक्ति नेपालबाट उम्मेदवार बनेका छन्। स्वतन्त्रबाट उपमेयरका उम्मेदवार अधिकक्ता रोशनराज गिरी साँगाचोककै हुन् ।

                नगरमा सात उपमेयर चुनावी दौडमा छिन् । कांग्रेसबाट उपमेयर उम्मेदवार बनेकी शोभा उलक मात्र चौताराकी हुन् । एकै गाउँबाट तीन पार्टीका प्रतिस्पर्धीसहित धेरै उम्मेदवार भएपछि यहाँको उपमेयरको चुनाव रोमान्चक बनेको छ। नगरमै सबैभन्दाबढी ७ हजार मतदाता रहेको साँगाचोक गाउँबाटै पाँचको उम्मेदवारीले कसले चुनावी बाजी मार्छ भनेर अुनमान लगाउन कठिन भएको छ।

                धेरै मतदाता भएकाले दलहरुले साँगाचोकलाई  ‘भोट बैंक’ मान्दै आएका थिए । यहाँबाट जसले बढी भोट झार्‍यो उसकै जीत पक्का हुने नेताहरु नै स्वीकार्छन्। एउटै गाउँमा उपमेयरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएपछि मेयरको चुनाव थप रोमाञ्जक मोडमा पुगेको छ। यहाँकै केशवराज गिरी कांग्रेसबाट मेयरको प्रतिस्पर्धी हुँदा नगर प्रमुखको चुनाव कसिलो बनेको छ।

                समान उमेरका एमालेकी थापा र माओवादी केन्द्रकी पराजुली विद्यार्थी राजनीतिबाट पार्टीमा राजनीतिमा जम्दै छन् । दुबैले विद्यार्थी संगठनको केन्द्रीय जिम्मेवारी सम्हालिसकेका छन् । राप्रपाकी गिरी र नयाँ शक्तिकी कमिनी पार्टीमा पूरानै अनुहार हुन् । सामाजिक कार्यमार्फत साँगाचोक र आसपासमा राम्रो छवि बनाएका स्वतन्त्रका उम्मेदवार गिरी पेशाले कानुन व्यवसायी हुन् ।

                एकै गाउँका उपमेयर उम्मेदवारका राजनीतिक अजेन्डा पनि झन्डै–झण्डै एउटै अर्थात समान छन्। भूकम्पपछिको पुनर्निर्माणलाई उनीहरुले मुख्य मुद्धा बनाएका छन् । नगर समृद्धीको अजेन्डामा पनि उनीबीच समानता छ । पूर्वाधार विकास, स्रोत साधनको प्रयोग, रोजगार सिर्जना, आयआर्जनका कार्यक्रमबाट आर्थिक विकास गर्दै समृद्ध नगर बनाउने उनीहरुको प्रतिवद्धता छ।

                कानुनले उपमेयरलाई कानुनी मुद्धा हेर्ने जिम्मेवारी दिएको पनि उनीहरुले बुझेका छन् । त्यसैले उपमेयरमा आफैँले जित्नुपर्ने दाबी उनीहरुले मतदातासँग गर्दै आएका छन् । ‘कानुनको विद्यार्थीका नाताले उपमयेरको भूमिका निर्वाह गर्न सक्छु,’ माओवादी केन्द्रकी उम्मेदवार पराजुलीले भनिन् । नगरका महिलालाई राजनीतिक रुपमा सशक्तीकरण गर्ने बाचा आफूले मतदातासँग गरिरहेको उनले बताइन् ।

                महिला हिंसारहित नगर बनाउँदै महिला, पुरुष समान बनाउने अजेण्डा आफूले मतदातासम्म पु¥याइरहेका एमाले उम्मेदवार थापा बताउँछिन् । ‘महिलाको हितमा काम गर्छु,’ उनले भनिन् । स्वतन्त्र उम्मेदवार गिरी उपमेयर पदलाई स्वतन्त्र बनाउन उम्मेदवारी दिएको बताउँछन् । उनले भने, ‘कानुनले उपमेयरलाई मुद्धा हेर्ने अधिकार दिएको छ । त्यो स्वतन्त्र व्यक्तिबाट मात्र सम्भव छ,’ मतदातासँग गरेको बाचा सुनाउँदै उनले भने ।

                साँगाचोकमा एमाले, माओवादी केन्द्र, र कांग्रेस र राप्रपा कार्यकर्ताको राम्रो उपस्थिती छ । गाउँबाटै धेरै उम्मेदवार भएकाले भोट चोरिने चिन्ता पनि उनीहरुलाई उत्तिकै छ । त्यसैले उनीहरुले आफ्ना कार्यकर्तालाई कडा निगरानीमा समेत राखेका छन् । समाजसेवी छबि बनाएका स्वतन्त्र उम्मेदवार गिरीले भोट तानिदिने पिरालो पनि यहाँका उम्मेदवारलाई छ ।

प्रकाशित: २७ वैशाख २०७४ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App