७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुर्खेतका दुई केन्द्रमा अधिकृतदेखि प्रहरीसम्म महिला

सुर्खेत- बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतका दुई मतदान केन्द्रमा अधिकृतदेखि प्रहरीसम्म महिलालाई मात्रै खटाइएको छ। सुर्खेतका दुई सय ४० मध्ये दुई वटा मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी र प्रहरी सबै महिलालाई खटाइएको छ।

मूख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले सदरमुकामभित्रका दुई वटा केन्द्रमा निर्वाचन अधिकृतदेखि प्रहरीसम्म सबै महिलालाई मात्रै खटाइएको बताए। ‘सबै कर्मचारी महिला मात्रै खटाउँदा केही नयाँ अनुभू गर्न सकिन्छ’ उनले भने, ‘नमूनाका रुपमा सदरमुकामका दुई केन्द्रमा मतदान अधिकृतदेखि सबै महिला खटाएका छौं ।’

क्षेत्रीय हुलाक कार्यालयकी निर्मला रेग्मीको नेतृत्वमा बालमन्दिर प्रावि आवास क्षेत्र र महिला तथा बालबालिका कार्यालयकी प्रमुख जमुना पौडेलको नेतृत्वमा हरिडिलभूमि प्रावि केन्द्रमा महिलालाई खटाइएको छ । बाल मन्दिर प्राविमा भूमिका तारामी सहायक मतदान अधिकृत, नन्दाकुमारी चालिसे, मेनका ढकाल, बालकुमारी खरेल र सिता कार्की खटिएका छन् भने हरिडिलभूमि मतदान केन्द्रमा विना थापा सहायक मतदान अधिकृत, कृष्णाकुमारी शाही, इश्वरी कुँवर, कुन्ती रावतलगायतलाई खटाइएको छ।

दुई सय २० मतदान केन्द्र मध्ये १० मतदान केन्द्रमा महिला मतदान अधिकृत छन् । मूख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार गढी मतदान केन्द्रमा दीपा हमाल, शिद्धबहिरा स्कूलको मतदान केन्द्रमा लक्ष्मी खरेल, मंगलगढीमा लक्ष्मी पाण्डे, घुस्रा केन्द्रमा मानकुमारी गुरुङ,  हस्तवीर प्राविको मतदान केन्द्रमा सुनिता दर्लामी, चनौटे केन्द्रमा पविता खड्का, विद्यापुर केन्द्रमा नन्दा पौडेल र सरस्वती माविको केन्द्रमा हरिकला आचार्य मतदान अधिकृत छन् ।

सबै केन्द्रमा मतपत्र पुग्यो

३१ गतेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतका सबै मतदान केन्द्रहरुमा मतपत्र पुर्‍याइएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘कर्मचारी खटाउनेदेखि मतपत्र पुर्‍याउनेसम्मका सम्पूर्ण कामहरु पूरा भएका छन्’ मूख्य निर्वाचन अधिकृत सुवेदीले भने, ‘अहिले मतदाता परिचयपत्र वितरणका साथै अरु प्राविधिक कामहरु भइरहेका छन् ।’ उनले सुर्खेतमा निर्वाचनका लागि आवश्यक सबै प्रक्रिया पुरा भइसकेको बताए । ‘आवश्यकता अनुसार सुरक्षाकर्मी र कर्माचारी परिचालन गर्नुका साथै निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पनि पूरा भएको छ’ उनले भने, ‘बैशाख ३१ मा शान्तिपूर्ण तरिकाले निर्वाचन हुनेमा हामी ढुक्क छौं ।’

प्रकाशित: २७ वैशाख २०७४ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App