coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भोट माग्ने गीत गाउँदै

काठमाडौं – अघिल्लो स्थानीय निकायको निर्वाचनमा गाउँघरमा प्रचारप्रसारका लागि झन्डाको प्रयोग व्यापकै थियो । झन्डा ठड्याउन बाँसका भाटादेखि रुखका हाँगा पनि राम्रै प्रयोगमा आउँथे । सामाजिक सञ्जालको कमै प्रयोग हुने त्यो समयमा मौलिक किसिमले चुनावको प्रचार गरिन्थ्यो । तर, अहिलेको अवस्था त्योभन्दा बिल्कुल फरक छ । 

आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि यतिबेला दलहरुले सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । मतदातालाई आकर्षित गर्न बनाइएका गीत, भाषण, अजेन्डा सम्बन्धित पक्षकहाँ पुर्याउन फेसबुक, ट्विटर, युट्युबकै सहारा लिएका छन् ।

पन्ध्र दिनअघि युट्युबमा राखिएको नेकपा एमालेको चुनावी गीत ‘सुख–दुःखमा एमाले’ बोलको गीत मंगलबारसम्म झण्डै एक लाखले हेरिसके । जीवन दाहाल, आशा विसीलगायतले गाएको गीतमा चुनावी प्रचार मात्र छैन, एमालेका केही अजेन्डा पनि राखिएका छन् ।

लोकगायक बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बनेको ‘मै पनि एमाले’ बोलको गीतको भिडियोमा पनि ६ लाख दर्शकको आँखा पुगिसकेको छ । 

हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने
हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने
भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले
एमालेकै झन्डा बोकी हिँडेको छ भाइले
भोट के मा सूर्यमा,बोल्छन आमाबाले 
साइ पनि एमाले मै पनि एमाले...

चुनावमा एमालेलाई मत माग्दै प्रचारप्रसार गर्न सहयोग गरिरहेका गायक बद्री युट्युबमा दर्शकले गीत रुचाइरहेको बताउँछन् । ‘यो गीत हामीले पहिल्यै गाएका थियौं । अहिले चुनावको बेला भिडियो बनाएर युट्युबमा हालेपछि टन्न दर्शक भेटिरहेका छौं,’ पंगेनीले भने, ‘डिजिटलमा मात्र हैन, भोलिबाटै विभिन्न पार्टीको कार्यक्रममा प्रत्यक्ष चुनावी गीत गाउनुपर्ने अवस्था छ ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका बद्रीले आफूले सबै पार्टीको गीत गाउने गरेको सुनाए ।

‘मिलेर जाउँ भन्ने सन्देश र चुनावी माहोल ल्याउन पनि गीतले सघाउँछ,’ उनी थप्छन्, ‘सहरको स्वरूपै बिगार्ने गरी अस्वस्थ प्रचारभन्दा गीतको प्रचार निकै सभ्य हुन्छ ।’ 

एमालेकै अर्को चुनावी गीत पुरुषोत्तम न्यौपानेले गाएका छन् । 
सिमानामा छिमेकीले साह्रै आँखा गाडे 
अरू कोही बोल्ने हैनन् एमालेले छाडे
आँच पु¥याउन खोजे भने राष्ट्रियतामाथि 
एकजुट हुने बेला आयो देशभरका साथी
घामलाई दिनुहोस् 
भोट कसलाई ,उज्यालो घामलाई दिनुहोस् 
देश बनाउने जिम्मेवारी हाम्लाई दिनुहोस्
आयो एमाले आयो, रातो सूर्यलाई लिएर

एमालेको मात्र हैन, नेपाली काँग्रेसका चुनावी गीत पनि घर–घरसँगै युट्युबमा पनि बज्न थालेका छन् ।

काँग्रेसको चुनाव चिह्न कति राम्रो रूख
काँग्रेसको सरकार बने देशमा हुन्छ सुख
चोलेन्द्र पौडेल र उनका साथीहरूले गाएको गीतले कांग्रेसको नारामात्र हैन समाज विकासका कुरा पनि  जनतामा सम्प्रेषण गर्न खोजेको छ ।  
उठ उठ नेपाली जाग जाग नेपाली
कांग्रेसलाई जिताउन लाग नेपाली
चारतारा झन्डा बोकी जाग नेपाली
कांग्रेसलाई जिताउन जाग नेपाली...

नाचौं नाचौं लाग्ने संगीत र स्वरसँगैको म्युजिक भिडियो झण्डै डेढलाख दर्शकले हेरिसके । सुनिल थापा र राधिका हमालले चुनावी प्रचारसँगै दोहोरी नै खेलेका छन् । 

सहरतिर है अब गाउँ गाउँ पस
तरुण युवा साथी हो अब चुप लागेर नबस...
कांग्रेसको नेतृत्वमा शान्ति र संविधान
काग्रेसकै नेतृत्वमा समृद्धि अभियान हो कि हैन हो हो 
जालीझेली अरुलाई फालौ 
राम्रो पार्टी कांग्रेसलाई भोट हालौं

यस्तै गीत युट्टुबमा हालेर गायिका राधिका हमालले चर्चा मात्र कमाएकी छैनन्, चुनाव प्रचारकै लागि प्रत्यक्ष गाउने अवसर पाएकी छिन् । ‘कुदाकुदमै छु, उपत्यकामा आठ दशवटा प्रचारगीत गाइसकेँ,’ उनले भनिन्, ‘भोलिदेखि उपत्यकाबाहिर गोरखा, लमजुङ, दोलखातिर गाउन जाँदैछु ।’ भित्ता रंगाउने, माइकिङ गर्ने, झन्डा र पर्चा पम्प्लेट छर्नेभन्दा चुनावी गीतले बढी प्रभाव पारेको उनको अनुभव छ ।

‘धेरै मेयर उपमेयर उम्मेदवारको त नामै तोकेर पनि गाइएको छ । यसले मत माग्न सजिलो भएको छ,’ हमाल सुनाउँछिन्, ‘गीत बजाइदियो, उद्देश्य, माग ,सिद्धान्त सबै गीतमै हुन्छ ।’ अरु प्रचारका सामग्रीले सहर फोहोर पारेर व्यवस्थापन गर्न असहज हुने अवस्था गीतबाट हुने प्रचारले कम गरेको उनले बताइन् । हमाल आफू खुलेरै कांग्रेसलाई समर्थन गरिरहेको बताउँछिन् । 

त्यस्तै, विमलराज क्षेत्री र शीलु भट्टराईले पनि काँग्रेसी चुनावी गीतमा स्वर भरेका छन् । 

बहत्तरको संविधानलाई देशमा लागू गर्नलाई
गाउँबस्ती सहरमा दिगो शान्ति छर्नलाई
रुख चिह्नमा छाप 
कांग्रेसलाई सम्झेर रुख चिह्नमा छाप ...

यस्तै खाले आधादर्जन बढी काँग्रेसी चुनावी गीत युट्युबमा चर्चित बन्दैछन् ।
माओवादीकै लागि पनि लोकगायक बद्री पंगेनीले चुनावी गीत गाएका छन् । 

जब देशमा माओवादी आयो
जाली शोषक फटाहा छेउ लाग्यो ...

‘अस्ति भर्खरै गाएको ,’ उनले भने, ‘दोस्रो चरणको चुनावका लागि भने कांग्रेसका लागि गीत गाउँदैछु ।’

टीका पुन र नवीन खड्काले गाएको ‘म पनि माओवादी’ गीत एक लाखभन्दा बढीले हेरिसके । नवीन खड्काले नै ‘भोट माओवादीलाई’ भनेर चुनावी गीत गाएका छन् । 

यो देशको मुहार फेर्न माओवादी आयो
देशको विकास ग¥यो
यसले काम गरी देखायो
यसकारण माओवादी केन्द्रलाई भोट दिनुस् है । 


साना दलका  भन्दा पनि तीन ठूला दलका चुनावी गीतहरू युट्युबमा बढी छन् । साना दलमध्ये राप्रपा नेपाल, संघीय समाजवादी पार्टी र केही मधेशी दलका चुनावी गीत पनि डिजिटल प्लेटफर्ममा सार्वजनिक भइसकेका छन् ।

प्रकाशित: २७ वैशाख २०७४ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App