coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चेल्सी उपाधि नजिक

लन्डन – मिडल्सब्रोमाथि ३–० को विजय हासिल गरेपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्नो टोली इङ्लिस प्रिमियर लिग उपाधिबाट एक कदम मात्र पछि रहेको बताएका छन् ।

दोस्रो स्थानको टोटेनह्याम शनिबार वेस्ट ह्याम भ्रमणमा निस्कँदा आश्चर्यजनक रूपमा १–० ले पराजित भएपछि चेल्सीको उपाधियात्रा थप सहज बनेको थियो । सोमबार राति घरेलु मैदानमा हात पारेको जितसँगै कोन्टेको चेल्सी पछिल्लो तीन वर्षमा दोस्रो पटक लिग उपाधि नजिक पुगेको हो । शुक्रबार वेस्ट ब्रोम भ्रमणमा निस्कने चेल्सीले नतिजा आफ्नो पक्षमा पारे दुई खेलअघि नै उपाधि पक्का गर्नेछ ।

‘हामी उपाधिको धेरै नजिक छौं । तर, हामीले अर्को एक कदम सही ठाउँमा टेक्नुपर्छ । अर्को एक खेल जित्नुपर्छ,’ प्रशिक्षक कोन्टेले भने, ‘अहिले म आरामदायी अवस्थामा छु । हाम्रा लागि यो ठूलो सफलता हो । हामीलाई एक जित आवश्यक छ र त्यो यही शुक्रबार हासिल गर्ने सम्भावना छ । हाम्रा लागि त्यो सुखद उपलब्धि हुनेछ ।’

वेस्ट ब्रोम भ्रमणमा जित निकाल्न सके प्रिमियर लिगको उपाधि उचाल्न सक्ने चेल्सीले वार्टफोर्ड र सन्डरल्यान्डविरुद्धको बाँकी दुई खेल घरेलु मैदानमा खेल्नेछ । लिगमा तीन खेल्न बाँकी छँदा चेल्सीले ३५ खेलबाट ८४ अंक जोडेको छ भने समान खेलबाट टोटेनह्यामको ७७ अंक छ । एक खेल बढी खेलेर तेस्रो स्थानमा रहेको लिभरपुलसँग ७० अंक छ ।

स्पेनसका मिडफिल्डर सेस फाब्रिगासले चेल्सीको जितमा महŒवपूर्ण भूमिका खेले । पहिलो गोलमा डिएगो कोस्टालाई गोलको अवसर मिलाइदिएका फाब्रिगासले नेमान्जा म्याटिकको गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए । चेल्सीका लागि अर्को गोल मार्कोस एलेन्सोले गरेका थिए । एन‘गोलो कान्टेलाई अनुबन्धित गरेपछि सिजनको सुरुआतमा बेन्चमा थन्किएका फाब्रिगासले पछिल्ला साताहरूमा चेल्सीको जितमा प्रभावकारी प्रदर्शन गरेका छन् ।

‘हाम्रो सिजनमा फाब्रिगास उत्कृष्ट उदाहरण हुन् । किनकि सिजनको सुरुआतमा उनले धेरै खेल्न पाएनन् । त्यसपछि कडा मिहिनेत गर्दै उनले आफूलाई प्रमाणित गर्दै गए र अहिले उनी प्रत्येक खेल खेल्छन्,’ प्रशिक्षक कोन्टेले भने, ‘फाब्रिगासको प्रगति नै हाम्रो प्रगति हो । किनकि सिजनको सुरुमा हामीमा पनि थुप्रै समस्या थिए । तर, एकताबद्ध रूपमा हामीले सही बाटो लियौं । फाब्रिगासले आफूलाई उत्कृष्ट खेलाडीका रूपमा प्रमाणित गर्दा मलाई गर्व लागेको छ । किनकि खेल्न पाए पनि नपाए पनि उनले टोलीका लागि सक्दो सहयोग गरिरहे ।’

सोमबार चेल्सीमाथि विजयी नतिजा निकाल्न सकेको भए मिडल्सब्रोको प्रिमियर लिग सम्भावना जीवित हुन्थ्यो । तर हारले मिडल्सब्रोलाई सन्डरल्यान्डसँगै रेलिगेसनमा पर्ने टोलीको रूपमा उभ्याएको छ । यसअघि नै रेलिगेसन पक्का भइसकेको सन्डरल्यान्डले ३५ खेलबाट २४ अंक जोडेको छ । समान ३६ खेल खेलेर रेलिगेसन क्षेत्रमा रहेका अन्य दुई टोलीमध्ये हल सिटीको ३४ अंक छ भने मिडल्सब्रोको २८ अंक छ ।

आफ्नो टोली दोस्रो श्रेणीको लिगमा घटुवा भए पनि घरेलु दर्शकले खेलाडीहरूलाई उठेर तालीका साथ सम्मान दर्साएका थिए र खेलाडीले पनि दर्शकदीर्घामा हात उठाउँदै सम्मान ग्रहण गरेका थिए । जसले कोन्टेको मन छोएको थियो ।

‘जितमा खुसी हुनु भिन्न विषय हो तर यस्तो अवस्थामा खेलाडीलाई ताली बजाएर सम्मान व्यक्त गर्नु महानता हो,’ इटालियन प्रशिक्षक कोन्टेले भने, ‘मलाई लाग्छ यस्तो इङ्ल्यान्डमा मात्र सम्भव छ । इटालीमा टोली रेलिगेसनमा पर्दा खेलाडी सम्मान व्यक्त गरेको दृश्य दुर्लभै  देखिन्छ ।’

मिडल्सब्रोका प्रशिक्षक स्टिभ एगन्युले आफ्नो ‘डे«सिङ रुम’ स्तब्ध रहेको प्रतिक्रिया दिए । ‘हामीले प्रिमियर लिगमा पुनरागमन गर्न लामो समयदेखि धेरै मिहिनेत गरेका थियौं र यहाँ टिक्न कति कठिन छ त्यो हामीलाई थाहा थियो,’ एगन्युले भने, ‘तर हाम्रो पुनरामगन छोटो समयका लागि भयो ।’
मार्चमा प्रशिक्षक एइटर करान्कालाई बर्खास्त गरेपछि एगन्युले कार्यवाहकको हैसियतमा टोलीको जिम्मेवारी सम्हालेका थिए

सोमबार राति घरेलु मैदानमा हात पारेको जितसँगै कोन्टेको चेल्सी पछिल्लो तीन वर्षमा दोस्रो पटक लिग उपाधिनजिक पुगेको हो । शुक्रबार वेस्ट ब्रोम भ्रमणमा निस्कने चेल्सीले नतिजा आफ्नो पक्षमा पारे दुई खेलअघि नै उपाधि पक्का गर्नेछ।

प्रकाशित: २७ वैशाख २०७४ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App