८ वैशाख २०८१ शनिबार
अर्थ

मेयर प्रत्यासी भन्छन् -‘समृद्ध ललितपुर मुख्य अजेन्डा’

ललितपुर – ललितपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारले एउटै मञ्चबाट आर्थिक आत्मनिर्भर र समृद्ध ललितपुर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्पदा, कला र संस्कृति तथा कृषिमार्फत ललितपुरलाई समृद्ध बनाउने योजना सुनाएका हुन् ।

ललितपुर उद्योग वाणिज्य संघले महानगरपालिकाका मेयर पदका उम्मेदवारलाई स्थानीय आर्थिक विकासको अवधारणाका लागि मंगलबार मञ्च उपलब्ध गराएको हो । आयोजक संघले मेयर पदका उम्मेदवारलाई सात मिनेट समय र महानगरपालिकाको आर्थिक विकास, ललितपुरबासीको जीवन स्तरोन्नति, विकास निर्माणमा आर्थिक तथा स्रोत परिचालन र निजी क्षेत्रप्रतिको अवधारणा व्यक्त गर्न आग्रह गरेको थियो ।

संघका अध्यक्ष सविन श्रेष्ठले ललितपुर महानगरपालिकामा स्तरोन्नतिले जनतामा थपेको उत्साहलाई नयाँ आउने नेतृत्वले सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले संघले एक जिल्ला एक उत्पादन अन्तर्गत हस्तकलालाई अघि सारेको बताउँदै यसको विकास, विस्तार, बजारीकरण, प्रर्वद्धन र संरक्षणका लागि नयाँ नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘ललितपुरमा पर्यटनको प्रशस्त सम्भावना छ तर अपेक्षाकृत परिणाम आउन सकेको छैन, कहिलेसम्म ललितपुर पर्यटनका लागि काठमाडौंको एक हिस्सा बन्ने हो, नयाँ नेतृत्वले ध्यान दिनुपर्छ ।’ 

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट मेयर उम्मेदवार चिरीबाबु महर्जनले महानगरको आर्थिक विकासका लागि आवश्यक नीति–नियम तथा कानुन निर्माणमा संघसँग मिलेर जाने बताए । उनले ललितपुरबासीको जीवन सुधारका लागि कृषिमा आधुनिकीकरण गर्दै आयमूलक पेसाका रुपमा स्थापित गर्ने बताएका थिए । महर्जनले भने, ‘पर्यटन र कला तथा संस्कृतिमा अपेक्षित विकास र विस्तार हुन सकेको छैन, मेरो कार्यकालमा संघसँगको सहकार्यमा पर्यटनलाई समृद्धिको मुख्य आधार बनाउने छु ।’ 

नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार दिनेश महर्जनले ललितपुरमा एकद्वार कर प्रणाली लागू गर्ने प्रतिबद्धता जनाए । उनले कला संस्कृतिमा धनी ललितपुरलाई देशकै नमुना सहरका रुपमा स्थापित गर्ने बताए । उनले ललितपुरका पर्यटकीय आर्कषण केन्द्रलाई समेटेर पर्यटकीय क्षेत्रका रुपमा स्थापना गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले भने, ‘महानगरपालिकाका आर्थिक तथा नीति निर्माण तहमा संघको प्रत्यक्ष सहभागिता मेरो कार्यकालको प्रमुख अजेन्डा रहनेछ ।’ कृषिमा आत्मनिर्भरताका लागि ठूला कृषि फार्मको अवधारणा रहेको महर्जनले बताए ।

यस्तै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले युवा तथा महिलाको सहभागितामा स्वरोजगार र उद्योग स्थापनाका लागि महानगरपालिकाले योजना ल्याउने बताए । हस्तकलाको विकासमा महानगरपालिकाको प्रत्यक्ष संलग्नतामा जोड दिने ब्यञ्जनकारले प्रतिबद्धता जनाए । उनले पाटन औद्योगिक क्षेत्रको विकासमा जोड दिँदै भने, ‘मेरो कार्यकालमा ललितपुरमा दुईवटा पाँचतारे होटल स्थापनाको लक्ष्य रहेको सार्वजनिक गर्न चाहन्छु ।’ यस्तै अत्याधुनिक र व्यापारिक सभागृह समेत आफ्नो प्रमुख अजेन्डा रहेको ब्यञ्जनकारले बताए ।

ललितपुर महानरपालिकाको मेयरका लागि साझा पार्टीको सर्मथन रहेका स्वतन्त्र उम्मेदवार रमेश महर्जनले ललितपुरलाई सम्पदा सहरका रुपमा विकास तथा विस्तार गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । विकासमा जनसहभागिता र आर्थिक विकासमा जनताको हिस्सेदारीमा महर्जनले जोड दिने बताए । उनले भने, ‘हामीले थालेको पिलाँछे विकास योजनालाई सहरका अन्य भागमा समेत लागू गर्दै जानेछौं, महानगरभित्र लिंक रोड र आन्तरिक चक्रपथमा विशेष जोड रहनेछ ।’ 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका राजेन्द्रमान श्रेष्ठ, नयाँ शक्ति पार्टीका मदन महर्जन, राष्ट्रिय जनमुक्ति पार्टीका रोशन महर्जन, चुरेभावर पार्टीका अभय बस्नेत, नेकपा मालेका मोहनराज शाक्य र स्वतन्त्र उम्मेदवार प्रेमलाल महर्जन, विजय खड्गी र प्रदिपसिंह थापा समेतले समृृद्ध ललितपुरका लागि आफ्ना आर्थिक अजेन्डा प्रस्तुत गरेका थिए ।  

ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ललितपुर महानगरपालिकाका मेयर पदका उम्मेदवारको स्थानिय आर्थिक विकासको अवधारणा विषयक कार्यक्रममा सहभागी उम्मेदवार र संघका पदाधिकारी । 

प्रकाशित: २७ वैशाख २०७४ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App