८ वैशाख २०८१ शनिबार
नागरिक खोज

नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमति

भारतले सेप्टेम्बर २०१५ देखि लगाएको नाकाबन्दीका समयमा पेट्रोल पम्पमा लागेकाे सर्वसाधारणको भिड। फाइल तस्विर

काठमाडौं – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग मिलेर नमुना पेट्रोल पम्प र ग्यास भण्डारण स्थल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि निगमले यस्तो सहमति जनाएको हो ।

आइओसी र निगम अधिकारीबीच काठमाडौंमा मंगलबार भएको बैठकमा पम्प र भण्डारण स्थल बनाउन थप अध्ययन गर्ने निर्णय भएको छ ।  

आइओसीले नेपालको पेट्रोलियम बजारलाई आफ्नो होल्डमा राख्नको लागि नयाँ रणनीति बनाएको भए पनि निगमका अधिकारीले कानुनी आधारबिनै छलफल चलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

दुई संस्थाबीच साझेदारी गर्ने विषयमा छलफल गर्न आइओसी बजार विभागका महाप्रबन्धक एसएस बोस नेतृत्वको टोली यहाँ आएको थियो । आइओसीसँग मंगलबारको वार्तामा निगमका प्रबन्ध निर्देशक गोपाल खड्का नेतृत्वको टोली सहभागी थियो ।  

निगमको ५१ प्रतिशत र आइओसीको ४९ प्रतिशत लगानीमा करिब एक सय नमुना पेट्रोल पम्प चलाउने विषयमा छलफल भएको स्रोतले बताएको छ । निगम र आइओसीबीच चैतको दोस्रो साता भारतमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा आपूर्तिमन्त्री दीपक बोहोराले भारतका पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानको प्रस्तावलाई मौखिक स्वीकृत दिएपछि टोली नेपाल आएको हो। आपूर्ति मन्त्रीले सरकार छाडिसकेका छन्।

आइओसीले नेपालको पेट्रोलियम बजारलाई आफ्नो होल्डमा राख्नको लागि नयाँ रणनीति बनाएको भए पनि निगमका अधिकारीले कानुनी आधारबिनै छलफल चलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

निगमका अधिकारी मन्त्रीको निर्देशन कार्यान्वयनमा गर्न लागिपरेको बताउँछन् । ‘दुई पक्षको साझेदारीमा पम्प र ग्यास भण्डारण बनाउने विषयमा सैद्धान्तिक सहमति भएको छ,’ ती अधिकारीले भने, ‘तर सरकारको सहमति नभएसम्म कार्यान्वयनमा आउँदैन ।’

नेपालको इन्धन व्यापारमा एकाधिकार राखेको आइओसीले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने भारतको भित्री तयारी रहेको जानकार बताउँछन् । आइओसीसँग मिलेर नमुना पम्प सञ्चालन गर्ने तयारी सुरु भएको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले यसअघिनै पुष्टि गरेका थिए । 

रणनीतिक महत्त्वकाे पेट्रोलियम पदार्थको व्यापारमा विदेशीलाई ल्याए गम्भिर त्रुटि हुने नेपाल आयल निगमका एकजना पूर्वप्रबन्ध निर्देशकले बताउँछन् । ‘कुनै पनि हातलमा पेट्रोलियम पदार्थको कारोबारमा विदेशीलाई ल्याउनु हुँदैन,’ उनले भने, ‘रणनीतिक महत्त्वकाे व्यापारमा विदेशीलाई ल्याए गम्भीर गल्ती हुनेछ ।’

आइओसीको पेट्रोलियम क्षेत्रको विज्ञता लिने विषयमा आइओसीसँग छलफल भएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए । ‘नमुना पम्प सञ्चालनमा ल्याउन निगमले योजना बनाएको छ,’ प्रवक्ता पोख्रेलले भने, ‘के, कसरी चलाउन सकिन्छ भन्ने विषयमा आइओसीको प्राविधिक ज्ञान लिने योजना हो ।’ 

मुलुकभर अहिले १४ सय पेट्रोल पम्प छन् । पेट्रोल पम्प सञ्चालनको लागि निजी क्षेत्रले करिब ५६ अर्ब रुपैयाँ लगानी गरेको बताइन्छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पनि विदेशी लगानीको विरोध गरेको छ । 

निगमले आइओसीसँग मिलेर ग्यास भण्डारण स्थल बनाउने विषयमा छलफल भएको छ । अहिले ग्यास उद्योगीले ल्याएर रिफिलिङ गर्दै आएका छन् । ‘अहिलेसम्म हामीसँग ग्यास स्टोरेज गर्ने ठाउँ छैन,’ प्रवक्ता पोख्रेलले भने, ‘आइओसीसँग मिलेर तीन महिनालाई पुग्ने गरी ग्यास भण्डार बनाउने योजना हो ।’ 

आइओसी टोलीले सोमबार उपत्यकामा ग्यास उद्योग र पेट्रोल पम्प अवलोकन गरेको थियो । टोलीले पम्प र साल्ट टे«डिङ कर्पोरेसनले सञ्चालन गरेको ग्यास प्लान्टको अवलोकन गरेको थियो । 

बैठकमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा पनि छलफल भएको छ । बैठकमा पेट्रोलियम र ग्यास पाइपलाइनको विषयमा पनि छलफल भएको छ । आइओसीका अधिकारीले तत्काल पाइप बिछ्याउने ठाउँ खाली गर्न आग्रह गरेको निगमका एक अधिकारीले बताए । पाइपलाइन परियोजना निर्माणको लागि आवश्यक पर्ने सडकछेउको जमिन दिन सडक विभागले सहमति जनाएको छ । करिब १३ हजार रुख काट्न वन मन्त्रालयले स्वीकृति नदिएको कारण काममा ढिलाइ भएको छ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणसँगै चितवनसम्म पाइपलाइन ल्याउन आइओसी र निगमले अध्ययन गरिसकेका छन् । अमलेखगन्जदेखि चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पाइपलाइन निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएकोे छ ।

निर्वाचनलाई इन्धन स्टक
सरकारले स्थानीय निकाय निर्वाचनमा इन्धन अभाव हुन नदिन निर्देशन दिएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको स्टक बढाएको छ । निगमले चुनावमा खटिने सुरक्षा निकाय, निर्वाचन कर्मचारीदेखि चुनावी अभियानमा खटिने कसैलाई पनि अभाव महसुस हुन नदिन सम्बन्धित क्षेत्रमा इन्धनको मौज्दात बढाएको जनाएको छ । पर्याप्त मौज्दात राख्न आपूर्ति मन्त्रालयले निर्देशन दिएको थियो ।

पेट्रोल, डिजेल १० दिनलाई पुग्ने गरी मौज्दात राखिएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए । ‘चुनावको लागि आवश्यक पर्ने इन्धन स्टक राखेका छौं,’ पोख्रेलले भने, ‘इन्धन भण्डारण ७० प्रतिशत पु¥याउन निर्देशन दिएका छौं ।’

निगमको थानकोट, अमलेखगन्ज, विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत, नेपालगन्ज, दिपायल र धनगढीमा डिपो छन् । चुनावको बेला राजधानीलगायत विभिन्न ठाउँका मतदाता गृह जिल्लामा जाने भएकाले पनि सवारी बढी चल्छन् । पेट्रोलियम पदार्थसहित खाना पकाउने ग्यास पनि चाहिने जति स्टक गर्न नेपाल एलपी ग्यास उद्योग संघलगायत ग्यास उद्योगीलाई निर्देशन दिइएको छ । 

प्रकाशित: २७ वैशाख २०७४ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App