८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावमा अवरोध नगर्ने राजपाको नीति

काठमाडौँ – चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आइतबार हुने पहिलो चरणको चुनावमा अवरोध नगर्ने नीति बनाएको छ । पहिलो चरणको चुनावमा अवरोध नहुने गरी गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

पहिलो चरणमा चुनाव नहुने चार प्रदेशमा गठबन्धनले मंगलबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजपाका नेताहरूले  कार्यकर्तालाई  चुनाव बहिष्कार गर्न  निर्देशन  दिएका छैनन् । पार्टी केन्द्रीय कार्यालयबाट जिल्ला समितिलाई चुनावबारे कुनै सर्कुलर पठाइएको छैन । 

पहिलो चरणमा चुनाव हुने ३, ४ र ६ नम्बर प्रदेशमा गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छैन । गठबन्धनका नेताहरूले मंगलबार राजधानीको बिजुलीबजारमा बैठक गरी पहिलो चरणमा निर्वाचन नहुने स्थानहरुमा भने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।  उनीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम पनि नरम प्रकृतिका छन् । वैशाख २९ गते १, २, ५ र ७ नम्बर प्रदेशका सबै जिल्लामा विरोधसभा गर्ने र जेठ १ गते मोटरसाइकल ¥याली निकाल्ने कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको छ ।

चुनावका दिन गठबन्धनले आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेको छैन । पहिलो चरणको  चुनावमा सहभागा भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नबोलाई गरिएको बैठकमा नेताहरूले यादवको आलोचना गरेका थिए ।  यादवले संघीय गठबन्धनको संयोजक आफू कायमै रहेको दाबी गर्दै आएका छन् । यादवको दल नयाँ शक्ति पार्टीसँग चुनावी तालमेल गरी प्रचारप्रसार अभियानमा सक्रिय छ । 

गठबन्धनका नेताहरूले संविधान संशोधनमा दुई तिहाइ जुटाउन सरकारलाई सहयोग गर्ने निर्णय गरका छन् । मंगलबार बिहान प्रधानमन्त्री र गठबन्धनका नेताहरूबीच भएको वार्तामा प्रधानमन्त्रीले आफ्नो पालामै संविधान संशोधन गर्ने जनाएका थिए । राजपाका नेता मनीष सुमनले संविधान संशोधनमा दुई तिहाइ जुटाउन राजपाले सरकारलाई सहयोग गर्ने बताए । ‘संशोधनमा दुई तिहाइ जुटाउन सरकारलाई सहयोग गर्ने भएका छौं’, सुमनले भने ।

दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले देखाएकाले पहिलो चरणको चुनावमा पार्टी नरम भएको राजपाका अर्का एक नेताले बताए । स्रोतका अनुसार गठबन्धनका अर्का एक घटक संघीय समाजवादी फोरम नेपाल पहिलो चरणको चुनाव सहभागी हुने भएपछि जिल्ला जिल्लामा राजपाका कार्यकर्ता अन्योलमा परेका हुन् । फोरम नेपालले भने चुनावमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन पठाइसकेको छ ।

प्रकाशित: २७ वैशाख २०७४ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App