coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मकवानपुर मनहरीमा चुनावी भोज

सुबोध गौतम/मदन ठाकुर

हाँडीखोला (मकवानपुर)- मनहरी गाउँपालिका वडा न. ३ कालिदमारस्थित कृष्णप्रसाद धितालको लिची बगैंचामा आइतबार दिउँसो २ बजे माओवादीको चुनावी भोज चलिरहेको थियो। करिब पाँच सय सर्वसाधारण भेला भएर खसी काटेर भोज गरिरहेका थिए। गोलभेंडाको अचार, भात, खसीको मासु र पापड खाइरहेका थिए।

वडा नं. १ र २ चकरी र मकरीका किसान भने पुर्पुरोमा हात राखेर बसिरहेका थिए। उनीहरूको गाउँमा चुनावको कुनै उत्साह थिएन। दुःखजिलो गरेर लगाएको मकैबाली शनिबार साँझ तीनदेखि पाँच बजेसम्म आएको असिनापानीले स्वाहा पारिदिएको थियो। अधिकांश किसान आफ्नो खेतबारीमा एकीकृत भएका थिए।

'आइतबार हामीले पनि चुनावको प्रचारमा जाने योजना बनाएका थियौं। तर शनिबार साँझ असिना परेर हाम्रो बाली  नष्ट भयो। बारीको मकै मात्र होइन, तरकारीको एउटा डाँठ पनि छैन', चकरीका किसान राजाराम बर्तौलाले नागरिकसँग भने, 'हामीलाई प्रकृतिले ठग्यो। १९ बर्षपछि स्थानीय नेता चुन्ने रहर थियो। असिनापानीले खल्लो बनाइदियो।'

उनको पाँच कठ्ठामा एक हात भएसकेका सबै मकैका बोट नष्ट भए। अब अर्को पटक मकै छर्ने कि नछर्ने उनी दोधारमा छन्। उनीमात्र होइन सबै किसान दोधारमा छन्। असिनाले दुईवटा वडा मकरी र चकरीमा गरेर तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएका सम्पूर्ण बालीनाली नष्ट भएका छन्।

'क्षतिपूर्ति आउने कहिले हो कहिले हामी बिचल्लीमा पर्‍यौं। यो बाली फेरि हुर्किने सम्भावना छैन। सबै माटोले पुरिएको छ', किसान पदमबहादुर कुँवरले भने, 'क्षतिपूर्ति अर्को वर्ष पाइएला जस्तो छैन।' पचास हजार रुपैयाँ ऋण काढेर उनले मकै लगाएका थिए।

उनका अनुसार असिनाले किसानले बनाएका बाँसका टनेल पनि  ध्वस्त भएको छ। गोलभंेडालगायतका तरकारी बाली नष्ट भएको छ। मनहरीका सबै वडा चुरे पहाडमै परेकाले अधिकांश वडा र तीनका बस्ती छेउबाट खहरे निस्किएका छन्। बस्तीहरू त्यसै पनि जोखिममा छन्।

चेतना मध्यवर्ती उपभोक्ता समूहका सचिव पोषण विष्टले गाउँपालिका र वडाका उम्मेदवारले फोन गरेर सभा, भेला र भोजमा आउन बारम्बार अनुरोध गरेको बताए। 'अहिले हामी विपत्मा छौं, आउन सक्दैनौं भनेर जबाफ दियौं। दिनभर हामी आआफ्नो खेतबारीमा गयौं। त्यहाँ हिलोबाहेक केही भेटेनौं,' उनले भने।

मकवानपुर कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले शनिबारको क्षति विवरणका लागि कर्मचारी पठाएको जानकारी दिए। 'कर्मचारी खटाइएको छ। किसानहरूले धेरै क्षति भएको छ भन्ने मौखिक जानकारी गराउनुभएको छ। विवरण आएपछि हामी क्षतिपूर्तिको पहल गर्छौं', उनले भने, 'स्थलगत विवरण आएपछि कृषि विभागमार्फत क्षतिपूर्तिका लागि कृषि मन्त्रालयमा पठाउँछौं।' गदालका अनुसार बिरुवाको पात मात्र भाँच्चिएको भए त्यो फेरि सप्रन सक्छ तर माटोले पुरेको वा  डाँठै भाँच्चिएको भए पुनः छर्नुपर्छ।

उनले सरकारले यस वर्षदेखि बीउ जगेडा कोष स्थापना गरेको जानकारी पनि दिए। उनले त्यही कोषबाट किसानलाई क्षतिपूर्ति दिन सकिने बताए। 'फेरि छर्नुपर्ने अवस्था आए हामी बीउ उपलब्ध गराउँछौं,' उनले भने।

माओवादी उम्मेदवारको भोजमा गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामहरि सुवेदी र सबै वडाका अध्यक्ष उम्मेदवार सहभागी थिए। दुईवटा टाटा मोबाइलमा माइक घन्काएर प्रचारप्रसारसहित सभा पनि गरिरहेका थिए। आइतबार बिहान र दिनभर मतदातालाई घरघरमा पुगेर बटुलेपछि दुई बजे भोज खुवाउन सुरु गरेका थिए।

मनहरी गाउँपालिकाका अन्य वडामा आइतबार दिनभर जसो सबै राजनीतिक दलको जुलुस, भेला, सभा र भोजभत्तेर चलिरहेको थियो। अधिकांश चौतारा स्थानीय मतदाताले भरिभराउ देखिन्थे।

प्रकाशित: २६ वैशाख २०७४ ०५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App