प्रायोगिक फिल्म बनाउने सीमित केही नेपाली निर्देशक भित्र पर्छन्,मनोज पण्डित। फरक विषय वस्तुमा फिल्म बनाउने पण्डितका हरेक फिल्म, उनले उठाएको विषय कै कारण चर्चामा रहने गर्छन्। तर, आइतबार मनोजले फिल्मकर्मीलाई बारम्बार आफूले जस्तो फिल्म नबनाउन आग्रह गरे।
'मैंले बनाएका कुनै पनि फिल्म गतिला छैनन्। मैंले जस्तो गल्ती बिल्कुलै नगर्नुस्,' पण्डितले भने।
'फलानो बारेमा हो ' भन्ने सजिलोका लागि फिल्म नबनाउँ। फिल्म बारेसारे भन्नेमा बनाउने हैन। इस्यु हैन इस्यु भित्र लुकेर रहेको कथामा फिल्म बनाउने हो।
फिल्म समीक्षक समाजले हरेक आइतबार आयोजना गर्दै आएको 'सन्डे सिनेमा' को नयाँ शृंखलामा आफैंले निर्देशन गरेको 'बधशाला' हेरेपछि मनोज आत्ममूल्यांकन सहित प्रस्तुत भए। कलाकार खगेन्द्र लामिछाने र सरिता गिरीसँगै घिमिरे युवराजसँगको छलफलमा उपस्थित पण्डितले फिल्म 'इस्यु'मा हैन कथामा बनाउन आग्रह गरे।
'मलाई इस्युमा फिल्म बनाउनु पर्छ भन्ने ठूलो भ्रम थियो। यही बुझाइका कारण मैंले बनाएका हरेक फिल्ममा इस्यु घुसाएँ। यो मेरो अज्ञानता रहेछ ,' पण्डितले भने।
उनले नेपाली फिल्मको वर्णानात्मक संरचनामा पनि उम्दा फिल्मका लागि बाधक भएको तर्क गरे। उनले 'बधशाला'कै कमजोरी औंल्याउँदै अरु फिल्ममा झैं यसमा पनि यही संरचना पछ्याउँदा आफू निर्देशकको रुपमा चुकेको बताए।
'बधशालाको मुख्य रुपले सुर्तीले जोड्ने सिपाही र विद्रोहीको सम्बन्धको कथा हो हो र कालान्तरमा त्यो सम्बन्धले कस्तो परिणाम ल्यायो भन्ने हो। तर, मैंले मुनामदनको दुःख देखाउने लिगेसी ग्रहण गर्दै फिल्ममा कथाको विकास हैन, दुःख देखाउनमा केन्द्रित भएँ,'मनोजले भने, 'यही कारण बधशाला राम्रो फिल्म होइन। राम्रो इन्टेन्सन भएको फिल्म मात्र हो।'
'पशुपतिप्रसाद'बाट चर्चा आएका खगेन्द्र लामिछानेले 'बधशाला'बाटै फिल्मी अभिनयमा प्रवेश गरेका थिए। खगेन्द्रले पनि मनोजको तर्कमा सहमति जनाउँदै एउटै फिल्ममा धेरैवटा कथा भन्न खोज्नु पनि नेपाली फिल्मको समस्या रहेको औंल्याए। उनले भने, 'हामी एउटै फिल्ममा धेरै पात्रका कथा भन्न खोज्छौं तर कुनैको पनि गहिराइमा पुग्न सक्दैनौं। यस्ता फिल्म यदाकदा आँखालाई बिझाउँदैनन् तर मनमा बस्दैनन्। मलाई चैं यो पनि हाम्रो समस्या हो जस्तो लाग्छ।'
खगेन्द्रले आफूलाई फिल्ममा रुची जगाउनमा भने बधशालाको ठूलो योगदान रहेको बताए। मञ्च तथा रेडियो नाटकमा काम गरिरहेका खगेन्द्र यही फिल्मपछि 'टलकजंग भर्सेज टुल्के'को निर्माणमा तातिएका थिए। त्यसपछि निर्माण गरेको 'पशुपतिप्रसाद'बाट सफलता चाखेका खगेन्द्र फेरि सोही टिमसँग 'धनपति' लिएर असारमा आउँदैछन्।
छलफलमा उपस्थित सरिता गिरीले भने सुटिङ सम्बद्ध अनुभव सुनाएकी थिइन्। सैनिकले यातना दिने पात्रको रुपमा अभिनय गरेकी सरिताले यातना दिने दृश्यको सुटिङका क्रममा ढाडको छाला खुइलिएको बताइन्। 'सैनिकले घिसार्दै लैजाने दृश्य थियो। बारम्बार रिटेक गर्दा मेरो ढाड साँच्चिकै खुइलिएको थियो,' सरिताले भनिन् 'तर, पनि विषयको गाम्भीयर्ता र मनोज दाइको विश्वासका कारण सहेर गरेकी थिएँ तर दुर्भाग्य त्यही दृश्य फिल्ममा अटाएन।' मनोजले कारण खोले, 'सेन्सरमा सेनाले झमेला गरेर फिल्म देखाउँदा उनीहरुले सबैभन्दा बढी यही दृश्यमा आपत्ति जनाए। फिल्म प्रदर्शनका लागि दृश्य काट्न सम्झौता गरें।'
पछिल्लो समय नेपाली फिल्ममा यथार्थवादको बहस जोडतोडले चलिरहेको छ। यथार्थवादको पुट भएका फिल्महरु हेर्ने दर्शकको जमात बढ्दो क्रममा छ। तर, मनोज बधशालाको सन्दर्भमा भने यथार्थवादप्रति पनि आलोचनात्मक सुनिए। 'मेरो फिल्मको अर्को समस्या रियालिटीको अति नजिक जान खोज्नु पनि रह्यो। फिल्ममा घरिघरि आउने यातनाका दृश्य, यही धङधङीका उपज हुन् ' मनोजले भने।
आजभन्दा १३ वर्षअघि 'लक्ष्य' शीर्षकको फिल्म मार्फत निर्देशकको रुपमा भित्रिएका मनोजले 'दासढुंगा' र 'छायाँ' निर्देशन गरेका छन्। ' दि ग्रेटर नेपाल' डकुमेन्ट्री बनाएर चर्चा बटुलेका मनोज चाँडै नै गैंडाको खाग बेचबिखनमा आधारित 'खाग' लिएर आउँदैछन्। छलफलको बिट मार्दा मार्दै पनि उनले भने, 'मेरो फिल्म फलानो बारेमा हो भन्ने सजिलोका लागि फिल्म नबनाउनुस्। फिल्म बारेसारे भन्नेमा बनाउने हैन। इस्यु भित्रको कथामा बनाउने हो।'उनले आफूले बनाउने आगामी फिल्म प्रेमकथा हुने पनि उद्घोष गरे।
प्रकाशित: २६ वैशाख २०७४ ०४:१४ मंगलबार