coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्सनलको सम्भावना जीवित

लन्डन- आर्सन वेंगरले अन्ततः जोजे माउरिन्होलाई निराश पार्दा आर्सनलले आइतबार म्यानचेस्टर युनाइटेडलाई २-० हराउँदै शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवित बनाएको छ। आइतबारै चाँडो गरी भएको खेलमा तेस्रो स्थानको लिभरपुलले साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेपछि आर्सनलको सम्भावना बढेको हो।

वेंगरले २००४ यता माउरिन्होविरुद्ध सफलता हात पार्न सकेका थिएनन्। उनले पुराना प्रतिद्वन्द्वीविरुद्ध २०१५ मा माउरिन्हो चेल्सीमा हुँदा कम्युनिटी शिल्डमा जित निकालेका थिए।

ग्रान्ट जाका र ड्यानी वेलब्याकले गोल गरेपछि आर्सनल प्रशिक्षक वेंगरको निराशाजनक यात्रामा पूर्णविराम लागेको थियो। यससँगै आर्सनल शीर्ष चारमा फर्कने सम्भावना पनि जीवित बनेको छ।

छैटौं स्थानको आर्सनल अहिले चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले पछि छ भने लन्डन क्लबले लिगमा ४ खेल खेल्न बाँकी छ। जबकि पेप ग्वार्डिओलाको सिटीले तीन खेल खेल्न बाँकी छ। प्रतिद्वन्द्वी माउरिन्होबारे वेंगरले भने, ‘यो प्रशिक्षकविरुद्ध प्रशिक्षकको खेल होइन। हामी बिस्तारै जितउन्मुख भयौं। पहिलो हाफमा केही नर्भस देखिएका थियौं तर दोस्रो हाफमा हामीले लय समायौं र गोल गर्न सफल भयौं।’

लिगमा तीन खेल खेल्न बाँकी रहँदा माउरिन्होको युनाइटेड सिटीभन्दा ४ अंकले पछि रहँदै पाँचौं स्थानमा कायम छ।

‘पक्कै पनि हामी यहाँ बलियो टोली लिएर आएका थिएनौं। त्यो निर्णायक बन्यो,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘हामी युरोपा लिग जित्ने प्रयासमा छौं। शीर्ष चारमा रहनु भन्दा हाम्रा लागि युरोपा लिग जित्नु बढी महŒवपूर्ण छ।’

माउरिन्होको प्राथमिकतामा रहेको युरोपा लिगमा युनाइटेडले सेमिफाइनलको दोस्रो लेगमा सेल्टाभिगोविरुद्ध खेल्दै छ। युनाइटेडले पहिलो लेगमा १–० को अग्रता लिएको छ। २५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेर शीर्ष चारमा रहने सम्भावना कमजोर बने पनि  युनाइटेडलाई युरोपा लिग विजेताको हैसियतमा च्याम्पियन्स लिग खेल्ने ढोका भने खुला छ।

तर आर्सनलका लागि भने युरोपको सबैभन्दा ठूलो प्रतियोगतामा स्थान बनाउन शीर्ष चारमा रहनुको विकल्प छैन। त्यसैले पनि आइतबार युनाइटेडभन्दा आर्सनल बढी जितका लागि भोको देखिएको थियो। तथापि आर्सनलले गोलका लागि ५४औं मिनेटसम्म कुर्नुपरेको थियो।

जाकाले टाढैबाट हानेको प्रहार युनाइटेडका मिडफिल्डर एन्डर हरेरको ढाडमा लागेर अकासिएको बललाई गोलकिपर डेविड डी जियाले ठम्याउन नसक्दा आर्सनलले अग्रता लिएको थियो।

आर्सनलले भाग्यवश अग्रता लिए पनि त्यसको तीन मिनेटपछि गरेको दोस्रो गोल भने उत्कृष्ट रह्यो। एलेक्स अक्सलेड–च्याम्बरलेनले गरेको क्रसलाई युनाइटेडका रक्षक क्रिस स्माइलिङले क्लियर गर्न नसकेको बललाई वेलब्याकले हेडमार्फल पोस्टको दिशा दिएका थिए।

माउरिन्होले खेलदौरान आफू र वेंगरबीच सौहार्दपूण सम्बन्ध रहे पनि ‘फोर्थ अफिसियल’ को व्यवहार भेदभावपूर्ण रहेको आरोप लगाए।

‘आर्सनलका समर्थक खुसी छन्। उनीहरूका लागि म पनि खुसी छु,’ माउरिन्होले भने, ‘म पहिलो पटक इमिरेट्सबाट निराश भएर फर्किंदै छु र उनीहरू खुसी छन्। अन्ततः उनीहरू रमाइरहेका छन्। उनीहरूका लागि यो राम्रो हो। यो ठूलो क्लब हो। आर्सनलजस्तो क्लबले ठूलो उपाधि जित्न नसक्दा म रमाउन सकिरहेको थिइनँ। तर आज हामी जित्न चाहन्थ्यौं।’

प्रकाशित: २६ वैशाख २०७४ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App