coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

उपाधि प्रतिस्पर्धामा एपिएफ र राइजिङ

अत्तरिया- कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कपमा विभागीय टोली एपिएफ र राइजिङ क्रिकेट वुमन उपाधिका लागि भिड्ने भएका छन्। सोमबार भएका सेमिफाइनलमा जित हात पार्दै दुवै टोली फाइनलमा पुगेका हुन्। एपिएफले पहिलो सेमिफाइनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गरेको छ भने दोस्रो सेमिफाइनलमा झापा क्रिकेट एकेडेमीमाथि राइजिङ क्रिकेट वुमनले ९ रनको जित हासिल गरेको छ।

अत्तरियास्थित एपिएफको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रन बनायो। टोलीका लागि २९ बलको सामना गर्दै करुणा भण्डारीले ४२ रन बनाइन्। उनले एक छक्का र ६ चौका प्रहार गरिन्। १५ बलमा ३ चौकाको मद्दतले विनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रन बनाए। कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कँुवरले ३ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २३ रन खर्चिन्। यसै गरी अञ्जली चन्द र लक्ष्मी साउदले १/१ विकेट लिए।

१ सय ५१ रनको विजयलक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेेडेमी १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो। टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नुबाहेक अन्यले दोहोरो संख्यामा रन बनाउन सकेनन्। एपिएफको कसिलो बलिङ सामु कैलालीका खेलाडी निरीह देखिए। एपिएफको जितमा विनु वुढामगरले ३ विकेट लिइन्। सरिता मगर र सीता रानामगरले २/२ विकेट लिए भने करुणा भण्डारी र रितु कनौजियाले १/१ एक विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान विनु बुढामगर वुमन अफ द म्याच भइन्। उनले नगद ३ हजार हात पारिन्। त्यस्तै खेलमा १/१ एक छक्का प्रहार गरेका एफिएफका करुणा भण्डारी र इन्दु बर्माले नगद ५/५ सय प्राप्त गरे।

सोमबार दिउँसो भएको दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङ क्रिकेट वुमनले २० ओभरमा ३  विकेट गुमाउँदै १ सय १९ रन बनायो। टोलीका लागि पूजा निमाभाटले सर्वाधिक ४७ रन बनाइन् भने साम्पा मुखर्जीले ४२ रनको अविजित पारी खेलिन्। सहनाज प्रवीणले १७ रन बनाइन्। झापाका लागि सरस्वती चौधरीले २ र अनुराधा चौधरीले १ विकेट लिए।

१ सय २० रनको लक्ष्य लिएर मैदान उत्रिएको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन मात्रै बनाउन सक्यो। कप्तान रुविना क्षेत्रीले ३९ रनको योगदान गरे पनि आफ्नो टोलीलाई जिताउन सकिनन्। टोलीका लागि रितु जैन र मुस्कान वेगमले २१/२१ रन बनाए। राइजिङ क्रिकेट वुमनलाई फाइनल पुर्‍याउन लागि पूजा निमाभाटले ४ विकेट लिइन्। नेरी थापाले पनि ३ विकेट हात पारिन्। राइजिङ क्रिकेट वुमनकी पूजा निमाभाट वुमन अफ द म्याच हुँदै नगद ३ हजार प्राप्त गर्न सफल भइन्।

वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।

प्रकाशित: २६ वैशाख २०७४ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App