७ वैशाख २०८१ शुक्रबार
खेल

अमलाको शतक व्यर्थ

पन्जाब- गुजरात लायन्सले उत्कृष्ट ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार अबेर राति भएको खेलमा किङ्स ११ पन्जाबलाई ६ विकेटले पराजित गरेको छ।

गुजरातले १ सय ९० रनको चुनौती २ बल बाँकी रहँदा पूरा गरेको थियो। जितसँगै गुजरातले १२ खेलबाट ८ अंक जोडेको छ। पन्जाबले ११ खेलबाट १० अंक बनाएको छ।

ड्यानी स्मिथले गुजरातको जितमा महत्वपूर्ण योगदान गरे। ओपनर स्मिथले ३९ बलमा ७४ रन बनाएपछि गुजरातलाई लक्ष्य पछ्याउन सहज बनेको थियो।

प्लेयर अफ द म्याच स्मिथले ८ चौका र ४ छक्का प्रहार प्रहार गरे। १२ ओभरमा स्मिथ दोस्रो विकेटको रूपमा पन्जाबका कप्तान ग्लेन म्याक्सवेलको बलमा मार्टिन गुप्टिलबाट क्याच भएका थिए। स्मिथ आउट हँुदा गुजरातले १ सय २० रन बनाएको थियो। 'अझै पनि मेरो विगतको खेलबाट म निराश छु। मलाई लाग्छ मेरो क्षमता आजको खेलजस्तै खेल्न सक्ने हो। क्रिजमा जति टिक्न सक्यो त्यसले राम्रो रन जोड्न सहयोग गर्छ,' स्मिथले भने, 'मलाई थाहा थियो आज केही गर्नुपर्छ भनेर। क्रिजमा टिक्दा रन आउने पक्का छ। खेलअघि हामी प्रतियोगिताबाट आउट भइसकेका थियौं। त्यसका बारेमा मैले चिन्ता गरिनँ। मात्र अगाडि कसरी जित हासिल गर्ने र अन्य टोलीलाई कसरी हराउने भन्ने बारेमा मात्र सोचेको थिएँ।'

स्मिथले इसान किसनसँग मिलेर पहिलो विकेटका लागि ९.२ ओभरमा ९१ रनको साझेदारी गर्दै गुजरातको जबाफी ब्याटिङलाई सानदार बनाएका थिए। त्यसपछि कप्तान सुरेश रैना र दिनेश कात्तिकले गुजरातको जितलाई सहज बनाए। रैनाले २५ बलमा ३९ रन जोडे। सन्दीप शर्माको बलमा आउट हुनुअघि रैनाले ४ चौका र १ छक्का प्रहार गरेका थिए। अविजित रहेका कात्तिकले ३५ रनको योगदान गरेपछि गुजरातले लक्ष्य पूरा गरेको थियो। योजनाअनुरूप ब्याटिङ गर्न सफल देखिएका कात्तिकले २३ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

रैनालाई आउट गरेकै ओभरमा सन्दीपले गुजरातका एरोन फिन्चलाई २ रनमा आउट गरे। तर कात्तिक र रवीन्द्र जडेजाले अन्तिम ओभरमा गुजरातको जितलाई सुनिश्चित गरेका थिए।

त्यसअघि सुरुआतमा ब्याटिङ गरेको पन्जाबका लागि हासिम अमलाले शतक र सन मार्सले अर्धशतक प्रहार गरेपछि घरेलु टोलीले ३ विकेटको नोक्सानीमा १ सय ८९ रन जोडेको थियो। तर टोलीले सफलता भने हासिल गर्न सकेन। अमलाले ६० बलमा १ सय ४ रन बनाएका थिए। ४ चौका र ५ छक्का प्रहार गरेका अमला अन्तिम ओभरमा बसिल थाम्पीको बलमा एलबिडब्लु आउट भएका थिए। अमलाले बनाएको शतक जारी आइपिएलमा दोस्रो शतक थियो। खेलमा अमलाले दुई जना मार्स र म्याक्सवेलसँग महत्वपूर्ण साझेदारी गरे। मार्सले ४३ बलमा ५८ रन जोडेका थिए।

६ चौका प्रहार गरेका मार्र्स दावाल कुलकर्नीको बलमा आउट भएका थिए। म्याक्सवेलले अविजित २० रन बनाए। गुजरातका प्रदीप साङवान र  कुलकर्नीले उत्कृष्ट बलिङ गरेपछि पन्जाबले सुस्त गतिमा रन जोडेको थियो। पहिलो ओभरमै प्रदीपले पन्जाबका मार्टिन गुप्टिललाई आउट गरे।

 तर अमला र मार्सले ८९ बलमा १ सय २५ रनको साझेदारी गर्दै घरेलु टोलीको स्कोरलाई बढाउन सहयोग गरे। अमलाले राम्रो ब्याटिङ गर्ने क्रममा प्राविधिक रूपमा खाली ठाउँमा चौका प्रहार गरे।

पन्जाबका कप्तान म्याक्सवेलले भने सोमबार अबेर रातिका खेलमा टोलीले विनाशकारी नतिजा भोगेको बताए। उनले भने, '१ सय ८९ रन जितका लागि पर्याप्त हो। बलर र फिल्डरले हामीलाई तल पारे। हामीले महत्वपूर्ण तीन क्याच छुटाएका छौं। हामीले अझै धेरै खेल जित्न बाँकी छ।'

प्रकाशित: २६ वैशाख २०७४ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App