७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौं मेयरमा स्वतन्त्रबाट १८ उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा निर्वाचन आयोगमा दर्ता भएका दलबाट भन्दा स्वतन्त्रका तर्फबाट धेरै उम्मेदवारी परेको छ। काठमाडौं महानगरपालिकामा दलबाट १० र स्वतन्त्रबाट १८ जना उम्मेदवार मेयरमा चुनाव लड्दै छन्।

निर्वाचन आयोगले मतपत्र उम्मेदवारी दर्ता हुनुभन्दा अघि नै तयार पारेकाले  कतिपय दलले 'स्वतन्त्र' उम्मेदवार उठाउनुपरेको हो। व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने २७ दललाई मान्यताप्राप्त दलका रुपमा लिइएको छ। २०७० सालको संविधानसभा चुनावमा भाग लिएका दलका आधारमा मतपत्र तयार गरिएको आयोगले जनाएको छ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले यसअघिको चुनावलाई आधार मानेर मतपत्र तयार पारिएकाले धेरै उम्मेदवार स्वतन्त्र देखिएको बताए। उनले भने, 'व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दलबाहेक अन्य दल तथा व्यक्तिले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।' निर्वाचन आयोगमा काठमाडौंबाट ४७ दल दर्ता भएका छन्।

उता, ललितपुर महानगरके मेयरमा दलबाट ८ र स्वतन्त्र ६ जनाले उम्मेदवारी दिएका छन्। उपप्रमुखमा दलबाट ७ र ४ जना स्वतन्त्रबाट चुनाव लड्दैछन्। त्यसैगरी भरतपुर महानगरको मेयरमा १२ दलीय र दुईजना स्वतन्त्र उम्मेदवार छन्। उपप्रमुखमा ९ दलीय र स्वतन्त्रबाट दुईजनाले उम्मेदवारी दिएका छन्।

पोखरा लेखनाथ महानगरमा मेयरका लागि ९ जना दलीय र ७ जना स्वतन्त्र उम्मेदवार छन्। उपप्रमुखमा दलबाट ८ र स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार सुशीला बथा लिम्बु दलको विकल्प खोज्न आफूले उम्मेदवारी दिएको बताउँछिन्। उनले देशमा राजनीतिक अस्थिरता देखेर स्वतन्त्र उम्मेदवार बन्न इच्छुक भएको बताइन्। 'धेरै पार्टी देखियो, भोगियो, ती पार्टीबाट केही उपलब्धि भएन। दिगो शान्ति र विकासका लागि मैले उम्मेदवारी दिएकी हुँ।'

राजनीतिक विश्लेषक कृष्ण पोख्रेलका अनुसार कतिपयलाई चुनाव नशाजस्तो भएकाले उम्मेदवारी दिने गरेको बताउँछन्। 'कतिपयको चुनाव लड्ने आकांक्षा हुन्छ। हाम्रोजस्तो मुलुकमा यो पनि चलन छ', उनी भन्छन्, 'कतिपय दल निर्वाचन आयोगमा दर्ता भएर पनि कानुनका कारण चुनाव चिह्न नपाउँदा स्वतन्त्रबाट आएका छन्।' ठूला दलप्रति विश्वास नहुँदा पनि स्वतन्त्र उम्मेदवार बढेको हुन सक्ने उनले बताए।

प्रकाशित: २६ वैशाख २०७४ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App